शेरबहादुर र रामचन्द्रको आलोचनामै अड्कियो कांग्रेस बैठक

काठमाडौँ- झण्डै तीन साताको स्थगनपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आरोपप्रत्यारोपकै सिलसिला नै दोहोरिएको छ तर यस चरणमा आलोचनाको केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल पनि परेका छन्।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नेता खुमबहादुर खड्काको निधनका कारण रोकिएको बैठक सोमबार सुरु भएलगत्तै निर्वाचनमा पार्टीले व्यहोरेको पराजयकै सिलसिलामा छलफल केन्द्रित रहे पनि देउवा पक्षधर बढी आक्रामक शैलीमा प्रस्तुत भए।

त्यसको मुख्य निशानामा निर्वाचनको पराजयका लागि देउवालाई दोषी ठहराउँदै राजीनामा माग्दै आएका पौडेल स्वंय बने ।

देउवा पक्षधर मानबहादुर विश्वकर्माले त पौडेलमाथि घुमाउरो पाराले निर्वाचनका समयमा आर्थिक अपरदर्शितासँगै भागबण्डा र गुटबन्दीको राजनीतिलाई अगाडि बढाइ पार्टीलाई क्षति पुर्‍याए।

सभापति शेरबहादुर देउवा र नेता पौडलका पक्ष/विपक्षमा केन्द्रित हुन पुगेको बैठकस्थल बाहिर पौडेल र देउवाद्वारा मनोनीत सदस्य कृष्णप्रसाद सिटौलाका पक्षधर विद्यार्थी समूहले देउवाको मनोमानी लगायतका विषयमाथि छलफल गर्न तत्काल महाधिवेशन बोलाउनु पर्ने मागका साथ नाराबाजी गरेका थिए।

विश्वकर्माले ३५ मिनेटको आफ्नो भाषणमा पार्टीको मुहान धमिल्याउनमा पौडेलको ठूलो भूमिका रहेको आरोप लगाए। ‘तपाईँका कारण नै पार्टीको मुहान धमिलिएको छ। अनि कसरी शुद्धपानीको अपेक्षा गर्ने? आफुलाई पहिले सुधार्नुहोस्। तपाईँले आफूलाई अंशबण्डाको विरोधी हो भन्नु भयो जबकि ४० प्रतिशत अंश तपाईँले नै खाइराख्नु भएको छ’, विश्वकर्माले भने, ‘भित्र नबोल्ने बाहिर आफ्नै पार्टी र नेतृत्व विरुद्ध बोल्न तपाईँ तल्लीन हुनुहुन्छ। त्यसले शेरबहादुरको होइन, तपाईँको उचाइ घटेको छ।’

पौडेलले यसअघि नेपाली कांग्रेसले संगठन वा विभाग गठन नगरेको आरोप सार्वजनिकरुपमा लगाउँदै आएका थिए।

त्यसको जवाफमा विश्वकर्माले भने, ‘पार्टी सभापतिले २०७२ सालमै विभाग तत्कालै गठन गर्छु, प्राथमिकताका आधारमा नाम दिनुहोसभन्दा तपाईले अहिलेसम्म दिनु भएन। हलो अड्काएर गोरु पिट्ने काम गर्न मिल्छ?’

सभापति देउवाद्धारा हुने पदाधिकारी मनोनयनमा विश्वकर्माले सहमहासचिव, विमलेन्द्र निधिले उपसभापति र पूर्णबहादुर खड्काले महासचिव पद पाउने अनुमान गरिएको छ।

पदाधिकारी मनोनयको सन्दर्भमा पनि विश्वकर्माले चर्को बोलेका छन्। उनले भने, ‘पार्टी सभापतिले आफूलाई अलपत्र पारेर पौडेललाई पदाधिकारी पद दिन मिल्दैन।’

विश्वकर्माले यसपालिको चुनावमा नेपाली कांग्रेस आफ्नो कारणले नभई वाम गठबन्धनका कारण हारेको समेत दावी गरे।

पौडेलप्रति थप आक्रोशित विश्वकर्माले भने, ‘केन्द्रीय सदस्य जस्तो महत्वपूर्ण पद लिएर जिम्मेवारी पनि लिने, १४ करोड वितरण गर्दा पनि होर्ने र शेरबहादुरलाई दोष दिने?’

यसअघि हिजो नेता कुलबाहादुर गुरुङले शेरबहादुरले पार्टी सदस्यको विश्वास र विपी कोइरालाको नीति विपरित अघि बढेको, गुटलार्ई प्रथमिकता दिएको अरोपका साथ प्रस्तावकका रुपमा देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणासमेत गरेका थिए।

गुरुङले तत्कालै गठन हुनु पर्ने विभागहरु अलपत्र पर्नु र विधानबमोजिम दुई महिनाभित्र पदाधिकारी मनोनयन नहुनुमा शेरबहादुरकै दोष रहेको आरोप लगाएका थिए।

सोमबार आनन्द विष्ट, अजय चौरसिया, रत्न शेरचन, किरण यादव, मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारीलगायतले बोलेका छन्।

उनीहरुमध्ये धेरैले नेतृत्वको कमजोरी, बाम गठबन्धन, कार्यसमितिले जिम्मेवारी पूरा नगर्दा चुनावमा आफ्नो पार्टी हारेको र अब त्यो दोहोरिन नहुने धारणा राखेका थिए।

दुई तिहाई बहुमतको अपेक्षा गरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनमा लज्जास्पद हार बेहोरेको थियो।

पार्टीभित्रकै आन्तरिक कलह, मौलाउँदै गरेको भ्रष्टाचार, पुरातनवादी सोच, असल कार्यकर्तालाई पन्छ्याउनु, जस्ता कारणले पनि कांग्रेसले चुनावमा हार व्यहोरेको आरोप छ।

बैशाख १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्