लोकतन्त्र दिवस

राजनीतिक परिवर्तन भयो, अब विकास र आर्थिक समृद्धिको पालो

फाइल फोटो

काठमाडौं – विकास, आर्थिक समृद्धि र नागरिकका जनजीविकासँग जोडिएका कुरामा महसुस गर्ने गरी परिवर्तन नभए पनि राजीतिक रुपमा देशमा ठूलो परिवर्तन भएको छ ।

यो परिवर्तनको आधार तय भएको मंगलबार १२ वर्ष पुगेको छ । १३ वर्षमा प्रवेश गरेको छ, २०६२÷०६३ को जनआन्दोलनबाट स्थापना भएको लोकतन्त्र । मंगलबार विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईंदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले विसं २०५९ जेठ ८ गते विघटन गरेको संसद विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । पूर्व राजाले संसद विघटन भएपछि शासनको जिम्मेवारी प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो नियन्त्रणमा लिएका थिए ।

त्यस विरुद्ध भएको लामो आन्दोलनले दोस्रो जनआन्दोलनको रुपमा लिइने २०६२÷०६३ को आन्दोलनको आधार बनायो । १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा एकीकृत रुप लियो । आन्दोलनकै दबाबमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसदले राजदरबारको अधिकार कटौती गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । त्यस अनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्