कपिल शर्मा : सफलताले छोएको आकाश र बजारिएको जमिनसम्मको यात्रा

पछिल्ला केही वर्षदेखि आफ्नो हाँस्यव्यंग्यले भारत र त्यस आसपासका क्षेत्र अनि हिन्दी भाषी वा हिन्दी भाषा बुझ्ने दर्शकको मनमा बसेको नाम हो कपिल शर्मा । दर्शकको मनमा बसेका वा भनौँ राज नै गरेका कपिल अहिले कठिन लडाईँमा छन् ।

जीवनको यो छिमल उनका लागि असजिलो बनेर आएको छ । विगतमा पनि भोगेका हुन् उनले अप्ठ्याराहरु तर त्यो भोगेको अप्ठ्यारो केही पाउनका लागि थियो र त्यो अप्ठ्यारै भए पनि असजिलो जस्तो थिएन वा मानिएन । तर अहिले कपिलले लडिरहेको लडाईँ पाएको सफलता वा खुशीको रक्षाका लागि हो, जुन निकै कठिन बनेको छ उनका लागि ।

सफलताको शिखरमा रहेका कपिल एकाएक विवादै विवादले घेरिए । उनको नयाँ टेलिभिजन शो पनि बन्द भयो । जो साथीहरुसँग मिलेर कपिलले हाँस्यलाई नयाँ उचाई दिएका थिए, उनीहरु अधिकांशले कपिलको साथ छोडेका छन् । कपिलको स्वास्थ्य पनि राम्रो नभएको खबर आएका छन् ।

एक समय थियो, चाहे बलिवुड चलचित्र उद्योगका स्टार हुन् वा स्टार क्रिकेटर नै किन नहुन्, कपिलको शोमा आउनका लागि सबै लालायित हुन्थे । दर्शक पनि हेर्न उत्सुक । उनको शोको टिआरपी जहिले उकालो मात्रै लाग्थ्यो । चलचित्रमा पनि उनी देखिन थालेका थिए । तर उनको स्टारडम अचानक खस्किन थाल्यो, यस्तो के भयो ?

उनका साथी कलाकारको कपिलबारे भिन्न भिन्न धारणा छन् । केहीले कपिलले जे रोपेका थिए, अहिले त्यसैको फल पाएको बताएका छन् । केहीले यो कपिलको खराब समय रहेको र सबैको जीवनमा यस्तो दिन आउने बताएका छन् ।

कपिलको शोमा बुआ बनेका उपासना सिंहले भने, ‘चलचित्र उद्योगमा रहेक कलाकारको समय हुन्छ । एक समय मानिससँग समय निकै कम थियो र सफलताको सबै भन्दा अग्लो ठाउँमा हुन्छ । र, दोस्रो पलमै कोही साथमा हुँदैन ।’

सफलता आफूसँगै धेरै विवाद लिएर आउँछ । तर जानकारका अनुसार कपिलको खास असजिलो त्यो बेला सुरु भयो, जब गएको वर्ष सुनील ग्रोवरसँग उनको विवाद भयो । सुनीलसँगै अरु कलाकार उनको शोबाट बाहिरिए । कपिललाई सायद यस्तो होला भन्ने लागेको थिएन कि सुनीलसहित अरु कलाकार बाहिरिनु यति महंगो हुन्छ ।

त्यसपछि कपिलले सोनी टेलिभिजनको आफ्नो कार्यक्रम द कपिल शर्मा शो मा धेरै कार्यक्रम गरे । तर चलेनन् । त्यही बेला उनको चलचित्र फिरंगी आउँदै थियो । कपिललाई लागेको थियो, यो चलचित्रले उनको सफलतालाई नयाँ उचाइमा लैजाने छ र विरोधीलाई गतिलो जवाफ दिनेछ । तर भयो उल्टो । चलचित्र फ्लप भयो र शोबाट ब्रेक लिने उनको निर्णयले पनि काम गरेन ।

उनी केही महिनापछि अर्को कार्यक्रम लिएर आए । तर त्यसमा दर्शकले पुरानो कपिललाई देख्न पाएनन् । फेरि पत्रकारसँग झगडा अनि गालीगलौजले विवादलाई थप गहिरो बनायो । अन्नतः उनको नयाँ शो पनि बन्द भयो ।

अहिले उनको स्वास्थ्य खराब रहेको बताइएको छ । कपिलको शोमा महत्वपूर्ण भूमिकामा रहेकी उपासशना सिंहका अनुसार कपिल अहिले डिप्रेशनमा छन् ।

उपासनाले भनेकी छन्, ‘कपिलको चलचित्रमा समस्या आयो । शो सोचे जस्तो भएन । झगडा भयो । उ दबाबमा आयो । धेरै कुरा एकचोटी परेकाले सम्हाल्न सकेन । शारीरिक तथा मानसिक रुपले समस्यामा छ उ अहिले । डिप्रेशनमा छ । धेरै तनावका कारण उसले अहिले जीवनको यो क्षण बाँचिरहेको छ ।’

कपिललाई आफ्नो भाइ मान्ने उपासनाका अनुसार कपिलको सबैभन्दा राम्रो पक्ष भनेकै उनले सबैको ख्याल गर्छन् । मध्यमवर्गीय परिवारबाट आएकाले उसमा यो खुबी रहेको उनले बताइन् । मुखले जस्तो भने पनि कपिल मनमा सफा रहेको उपासनाको भनाई छ ।

‘जे मनमा छ त्यही भन्छ । उसलाई रिस र पीडा दुवै लुकाउन आउँदैन । यसैले होला उसलाई धेरै समस्या देख्नु परेको’ उपासनाले भनिन्, ‘उ मानिस हो भगवान होइन । पटक पटक चाहिने नचाहिने भनेपछि रिस त उठ्छ नै । रिसमा आफूमाथिकै नियन्त्रण गुम्छ ।’

लाफ्टर च्यालेन्जमा कपिलका साथी रहेका सुनील पल उनलाई मनकारी मान्छन् । अहिलेको पूरै विवाद कपिललाई बदनाम गराउने जाल रहेको उनको भनाई छ । ‘कपिल जब करिअरको उचाईमा थिए उनले बेरोजगार पुराना मित्रलाई आफ्नो शोमा काम दिए । रोजी रोटी चलाइदिए’ सुनीलले भने, ‘तर अहिले सबैले उनको साथ छोडेका छन् ।’

कपिलको शोमा महत्वपूर्ण भूमिकामा रहेकी थिइन् सुगन्धा मिश्रा । कलेजमा कपिल सुगन्धा भन्दा सिनियर थिए ।

लाफ्टर च्यालेन्जको चौथो सिजनमा महिला प्रतिस्पर्धीको खोजी भएका बेला कपिलले उनको नाम सुझाए । परिवारका सदस्यले सुगन्धालाई मुम्बई पठाउन मानेनन् । कपिल आफै गएर सम्झाएर उनलाई मुम्बई ल्याएका हुन् । अहिले कपिलको टिमसँग झगडा परेपछि उनी सम्पर्कमा छैनन् ।

तर व्यक्तिगत रुपमा आफ्नो कपिलसँग झगडा नभएको सुगन्धाले स्पष्ट पारेकी छन् । कपिललाई दाइ भन्ने सुगन्धा अहिले सुनील ग्रोवरको नयाँ शो दे दना दनमा व्यस्त छिन् । उनले कपिलले आफ्नो शोमा बोलाएमा आउने पनि बताएकी छन् ।

लामो समयसम्म कपिलसँग जोडिएकी पूर्व म्यानेजर प्रिती सिमोनका अनुसार कपिल राम्रा कलाकार हुन् । आफ्नो साथमा रहुन्जेल उनी ठीक रहेको र त्यसपछि गलत निर्णयका कारण समस्यामा परेको प्रितीको भनाई छ । उनले कपिललाई स्वास्थ्यको ख्याल गर्न सुझाव दिएकी छन् ।

कपिल अहिले मुम्बईमा छैनन् । उपासनाका अनुसार कपिललाई अहिले कामबाट ब्रेक लिएर परिवार र आफ्नाहरुसँग समय बिताउनु आवश्यक छ । उपासनालाई आश छ कि, कपिलका सबै झगडा मिल्ने छन् र उनी डिप्रेशनबाट पनि बाहिर आउने छन् ।

सन् २००७ मा आफ्नो कलाले लाफ्टर च्यालेन्ज सिजन ३ जितेर हाँस्यको दुनियामा आएका कपिलले सन् २०१३ मा कमेडी नाइट्स विद कपिल सुरु गरे । त्यसअघि उनी कमेडी सर्कसमा थिए ।

उनको शो तीन वर्षसम्म एक नम्बरमा रह्यो । सफलताकै शिखरमा रहेका बेला कपिलले करण जौहरसँगै ६० औँ फिल्म फेयर अवार्ड होस्ट गरे । यस्तै सन् २०१५मा अब्बास मस्तानको निर्देशनमा बनेको चलचित्र किस किस को प्यार करुँ मार्फत बलिवुडमा डेब्यु गरे ।

तर आश गरे अनुसार चलचित्र चलेन । सन् २०१६ मा कलर्स च्यानलसँग कुरा मिलेन र उनको शो बन्द भयो । त्यसपछि उनले सोनी च्यानलमा द कपिल शर्मा शो सुरु गरे । त्यहि वर्ष उनी राजनीतिक रुपमा पनि विवादमा आए ।

सन् २०१७ मा कपिलको एउटा भिडियो भाइरल भयो, जसमा उनले साथी कलाकार सुनील ग्रोवरसँग अभद्र भाषामा बोलेका थिए । यसपछि उनको अधोगति सुरु भयो ।

उनले दोस्रो चलचित्र फिरंगी बनाए । असफल भयो । त्यसपछि उनी टेलिभिजनमा फर्किए । तर स्वास्थ्यका कारण नयाँ शोको सुटिङ्ग हुन सकेको छैन ।

पछिल्लो समय उनी पत्रकारसँगको व्यवहारका कारण पनि विवादमा घेरिए । उनले एक पत्रकारलाई आफूलाई नराम्रो देखाउन खोजेको र पैसा हडप्न खोजेको आरोप लगाएका छन् ।

स्रोत : बिबिसी हिन्दी

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्