
विराटनगर – गएको शुक्रबार भन्दा फरक देखिए यसपटक बम विष्फोटमा घाइते भएका १४ वर्षिय बालक सन्दीप राई पारस ।
सायद उनलाई अब पूर्ण विश्वास भयो, कि बुधबार आफ्नै घरको आगनमा ढुक्क भएर उभिन सक्छु भनेर । अस्पतालको शैयामा रहँदा उनको अनुहारमा देखिएको दुविधा, त्रासको छायामाथि सोमबार सन्दीपले जित हात पारेको भान हुन्थ्यो ।
विराटनगरस्थित लाइफ गार्ड अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्दीप राईलाई उपचारपछि विदा दिने जनाउने क्रममा सन्दीपको अनुहारमा मुस्कान छरिएको थियो ।
अस्पताल परिषरमा आयोजित पत्रकार सम्मेलनका क्रमपछि, व्हीलचेयरमा हरियो गाउनसहित आइसियुबाट बाहिर निकालिएका सन्दीप सुरुमा निकै अन्यौल र गम्भीर देखिए । तर, जब विस्तारै अस्पतालबाट घर जाने भनेर उनलाई जानकारी गराइयो, त्यसपछि लजालु सन्दीपको अनुहारमा मुस्कान देखियो ।
अस्पतालमा बसुन्जेल आफ्नो साथीभाइको धेरै अभाव महसुस गरेको बताएका सन्दीपले एकै सासमा विस्तारै भने, “अब घरमा पुगेर साथीहरुसँग कुरा गर्नेछु ।”

गएको चैत २९ गते बेलुका ५ बजेको समयमा सन्दीप राई बेवारिसे अवस्थामा फालिएको बम विष्फोटको शिकार भएका थिए । त्यसपछि गम्भीर अवस्थामा उपचारको लागि विराटनगरस्थित लाइफगार्ड अस्पतालमा भर्ना गरिएका सन्दीपको त्यहि राति १ बजे करिब ४ घण्टाको जटिल शल्यक्रिया गरिएकोे थियो । यसपछि, सन्दीपको अवस्थामा सुधार देखिएको थियो ।
आइतबार बेलुकासम्म सन्दीपको ४३ वर्षिया आमा पुष्पकुमारी राईलाई भनिन्, “विगत १२ दिनदेखि उपचार खर्च कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको थियो। तर सरकारले अस्पतालले खर्च ब्यहोर्ने जनाएपछि केही राहत भएको छ ।”
सोमबार जब अस्पतालले उनीहरुलाई सहज रुपमा विदाई गर्ने जनायो, उनको बुवा मणिकुमारसहित परिवारमा हर्ष छाएको थियो। उपचारसँगै सन्दीपका लागि औषधि तथा अस्पतालको खर्च ३ लाख रुपैयाँ बढी भइसकेको छ । सो रकम प्रदेश सरकारले व्यहोर्ने उदयपुरकै सांसद विमल कार्कीले जानकारी गराएपछि, राईपरिवारमा केही खुशी छाएको हो ।
“छोरो भन्दा ठूलो कुरा केही होइन । उसको उपचार र जीउज्यान जोगिएको छ, त्यसमा हामी खुशी छौ”, बुवा मणिकुमारले भने । गाइघाटको थारुहट रंगशाला नजिक मासु पसलबाट परिवार पाल्दै आएको राईपरिवारलाई सरकारले रकमको जिम्मेवारी बहन गरिदिने भनेपछि राहत महसुस भएको हो ।
स्थानीय लालीगुराँस स्कुलमा कक्षा ६ को अन्तिम परीक्षा सकेर बसेका सन्दीपलाई पूर्णरुपमा ठीक हुन केही समय लाग्ने उपचारमा संलग्न डा. अभिषेक चौधरीले बताएका छन् । सन्दीपको शरीरमा बमका छर्रा रहेकोमा आत्तिनु पर्ने अवस्था नभएको बताएका डा. चौधरीले भने, “अबको तीनमहिनाभित्रमा सन्दीपको ठूलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ ।”
हाल सन्दीप सामान्य जीवनशैलीमा फर्किएको बताएका डा. कैलाश श्रेष्ठले भने, “हालसम्म सन्दीपको उपचारमा लागेको खर्च अस्पतालले ब्यहोरेको छ । विपन्न परिवार त्यसमाथि बम विष्फोटको शिकार भएका राईको जीवन जोगाउन पहिलो प्राथमिकता अस्पतालको रहेको थियो ।”

पाडो भैँसी चराउने क्रममा बेवारिसे झोलामा राखिएको बम विष्फोट भएर घाइते भएका सन्दीपलाई उदयपुरबाट चैत्र २९ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, त्यहा भर्ना हुननसकेपछि, विराटनगरकै नोबेल अस्पतालमा पुराइएको उनको परिवारले जनाएको छ ।
तर, नोबेलमा पनि विविध कारण भर्ना नलिएपछि, पेटमा छर्रा लागेका सन्दीपलाई राती १ बजे लाइफ गार्ड अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा भर्ना गरिएका सन्दीपको सुरुवातमा विष्फोटका कारण आन्द्रासमेत बाहिर निस्किएको उपचारमा संलग्न चिकित्सकले जनाएकाछन् ।
सो घटनामा बम विष्फोट कसले गराएको थियो भन्ने विषयमा अझै पनि उदयपुर प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।