२०६२/०६३ मा झापामा आन्दोलन कस्तो थियो ?

झापाको विर्तामोडमा भएको प्रदर्शन । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

विर्तामोड – २०६२ सालको जन आन्दोलन सुरु भएको दिन चैत २६ गतेदेखि नै मेचीनगर ५ का गोपाल श्रेष्ठ लगातार आन्दोलनमा होमिएका थिए । चैतभर शाही शासनका विरुद्ध नाराबाजी र प्रदर्शनमा उनी सहभागी भए ।

आन्दोलन बढदै जाँदा वैशाख ६ गते आन्दोलनले उग्र रुप लिएका बेला उनी पनि सदरमुकाम चन्द्रगढीको आन्दोलनमा सहभागी भएका थिए । उनी भन्छन्, ‘त्यो दिनको अवस्था सम्झँदा कहाली लागेर आउँछ ।’

सेनाको गोली लागेर घाइते त्यतिबेलाका झापाका एसपी केशरीराज घिमिरे । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

श्रेष्ठलाई २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको प्रदर्शनमा सेनाको गोली लागेको थियो । उनको बायाँ खुट्टा क्षतविक्षत भएको थियो । उनलाई गोली लागेपछि नजिकको एउटा घरमा लगेर केही बेर राखेपछि एम्बुलेन्समा राखेर मेची अञ्चल अस्पताल लगिएको थियो ।

तर त्यहाँ उपचार संभव नभएपछि उनलाई भोलिपल्टै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनले धरानमा करिब ४ महिना बस्नु पर्यो । त्यसपछि उनको थप उपचार भारतको सिलिगुडीमा भयो ।

वैशाख ६ गते टियर ग्यास हान्न तयार प्रहरी । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

२०६२/०६३ को जन आन्दोलनलाई झापाबासीले अहिले पनि भुल्न सकेका छैनन् । जुन बेला राजनीतिक पार्टीका नेताहरुलाई तत्कालीन शाही नेपाली सेनाले खोजी खोजी पक्रेर बंकरमा हाली यातना दिने गरेको थियो, त्यो बेला झापामा आन्दोलनलाई सञ्चारकर्मीले थामेका थिए ।

आन्दोलनका बेला केही सञ्चारकर्मी भारत निर्वासनमा जानु पर्ने अवस्था थियो । त्यहाँ पनि असुरक्षित थिए त्यतिबेलाको लोकतान्त्रिक आन्दोलनमा होमिएका पत्रकार कृष्ण हुमागाईं । पत्रकार हुमागाईं भन्छन्, ‘त्यो बेला मरिन्छ कि बाँचिन्छ भन्ने थाह थिएन । आजको यो दिन देख्न पाइन्छ भन्ने आश नै थिएन ।’

भारतमा निर्वासनमा रहेका बेला पनि उनलाई केही दिन भारतीय प्रहरीले नियन्त्रण लिएको उनी सुनाउँछन् । पछि उनलाई भारत सिलिगुडीका नेपाली भाषी पत्रकार प्रमोद गिरीले उद्धार गरेको हुमागाईं बताउँछन् । सोही बेला झापाका राजनीतिक पार्टीका नेताहरुलाई चारआली ब्यारेकबाट खटिएको सेनाले खोजी पक्रेर यातना दिएको सम्झना आलै छ उनीहरुसँग ।

जब २०६२ चैत २६ गतेदेखि अनिश्चितकालीन आम हड्तालका साथमा आम झापाबासी सडकमा निस्के त्यसदिनदेखि आन्दोलनले उत्कर्षता प्राप्त गरेको थियो । बिहानैदेखि मानिसहरु चन्द्रगढीको खुला मैदानमा मानिसहरु भेला भएर शाही शासनको विरुद्धमा चर्का नाराबाजी गर्दै निषेधित क्षेत्र प्रवेश गर्ने जमर्काेमा हुन्थे ।

शहीद सुरज विश्वासको शव यात्रामा सहभागी सर्वसाधारण । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

चन्द्रगढीमा रहेको जिल्ला विकास समितिको कार्यालय छेउमा रहेको चोकदेखि सरकारी कार्यालय कार्यालयहरु रहेको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । दैनिक हजारौं सर्वसाधारण स्वतःस्र्फूत रुपमा आन्दोलनमा होमिएको सम्झना गर्छन् नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल ।

सेना तथा प्रहरीको कुटाइबाट घाइते भएका आन्दोलनकारीहरुको प्राथमिक उपचारमा संलग्न व्यक्ति हुन् उनी । त्यो बेला उनी रेडक्रस झापाका मन्त्री थिए । त्यो बेलाको समय कहाली लाग्दो भएको चित्रण गर्छन् उनी । भन्छन्, ‘मैले त्यो बेलाका प्रमुख जिल्ला अधिकारी भोला शिवाकोटीलाई रेडक्रसको टोली परिचालन गर्छु भन्दा उहाँ मान्नुभएन ।

तर जबरजस्ती मानवीय सेवामा हामी खटियौं । सेनाले गोली चलाउने बेलामा हामीलाई सुत्न आदेश दियो । सुरक्षा पहिलो प्राथमिक्ता भएका कारण हामी सुत्यौं । जब गोली चल्न छोड्यो हामी घाइतेहरुको प्राथमिक उपचारमा लाग्यौं । राजन गिरी मेरै काखमा सहिद हुनुभयो ।’

त्यसदिन सहादत प्राप्त गर्ने अर्का शहीद हुन् भद्रपुरका सुरज विश्वास । सोही गोलीकाण्डमा तत्कालीन झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशरीराज घिमिरेलाई समेत खुट्टामा गोली लागेको थियो । उनलाई समेत दकाल नेतृत्वको टोलीले मेची अञ्चल अस्पताल लगी उपचार गराएको थियो ।

पत्रकारहरुको प्रदर्शन । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

ढकाल भन्छन्, ‘हामीले त्यसदिन करीब ५ सय मानिसको प्राथमिक उपचार गर्यौं । उनीहरुले भनेको बेलामा प्राथमिक उपचार नपाएका भए त्यहाँ धेरै मान्छेको ज्यान जान सक्थ्यो ।’

गोलीकाण्ड सकिएपछि मेची अञ्चल अस्पताल खचाखच थियो । घाइतेहरुको उपचारमा अस्पतालका चिकित्सक लगायत सबै कर्मचारी लागेका थिए । तर उनीहरुको अनुहारमा एक प्रकारको त्रास थियो । कतै अस्पतालमा पनि सेना आइपुग्ने हो कि भन्ने ।

उपचारका संलग्न डा. पिताम्बर ठाकुरका अनुसार उनीहरुलाई पनि प्रशासनबाट उत्तिकै दबाब थियो । डा. ठाकुर सम्झन्छन्, ‘त्यस्तो अवस्था कहिले पनि नआवोस अबका दिनमा ।’

उनी समेत असन्तुष्ट छन् परिवर्तनका लागि भएको आन्दोलनको उपलब्धीको संस्थागत हुन नसकेकोमा ।

डा. ठाकुर भन्छन्, ‘मानिसहरुको संघर्ष राम्रा दिन ल्याउनका लागि थियो । तर केही प्रशासनिक संरचनाको परिवर्तन भए पनि राजनीतिक दलको मानसिकतामा परिवर्तन आएन । जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।’

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्