शिक्षा अधिकारीविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता

बर्दिया – जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध यौन दुर्व्यवहार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुर्व्यवहार गरेको आरोप एक बालिकाले लगाएकी छन् ।

फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिकाले आफूमाथि गएको बिहीबार दुर्व्यवहार भएको आरोप लगाएकी छन् ।

उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुर्व्यवहार गरेको आरोप छ ।

पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुर्व्यवहार गरेको आरोप छ । नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । उनका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्