चिनीको बढेको भन्सार मू्ल्य फिर्ता लिन व्यवसायीहरुको माग

चिनीको भन्सार मूल्य घटाउन माग गर्दै विराटनगरमा गरिएको पत्रकार सम्मेलन। तस्बिर: देशसञ्चार

विराटनगर- चिनी आयातमा सरकारले बृद्धि गरेको भन्सार मूल्य अविलम्ब फिर्ता लिन विराटनगरका उद्योगी व्यवसायीहरुले माग गरेका छन्।

मोरङ ब्यापार संघमा मङ्गलबार आयोजित पत्रकार सम्मेलन व्यापारीहरुले चिनी आयातमा सरकारले पछिल्लो समय वृद्धि गरेको ३० प्रतिशत भन्सार महसुल र मूल्यांकन मूल्य ४ सय ६० डलर कायम गरेकोमा आक्रोश ब्यक्त गर्दै सरकारलाई भन्सारमा गरिएको फिर्ता लिन माग गरेका हुन्।

कार्यक्रममा ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकार तथा अर्थमन्त्रालयप्रति असन्तुष्टि ब्यक्त गर्दै भने, ‘भन्सार विन्दुमा चिनीको भन्सार मूल्याङ्कन ४ सय ६० डलर कायम गर्नुका साथै भन्सार महसुल ३० प्रतिशत पुर्‍याएको कारण चिनीको बजारमूल्य बृद्धि हुनेछ र जनताले बढी रुपैयाँ तिनुपर्ने हुन्छ।’

हाल भारतीय बजारमा चिनी प्रतिकिलो ४८ देखि ५२ रुपैयाँ पर्दछ। व्यापारीहरुका अनुसार सरकारले भन्सार मूल्यांङकनका कारण नेपालमा पैठारी गरिएको चिनी महंगो हुने र चोरी पैठारी हुने सम्भावना बढेको छ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले कृषकलाई उखुको मूल्य समयमा भुक्तानी गर्न नसक्दा धेरै समस्या उब्जिएको बताए। अध्यक्ष उपाध्यायले भने, “सरकारले आफ्नो जिम्मेवारीलाई पन्छिएर ब्यापारीलाई निरुत्साहित गर्नका लागि काम गरिरहेको छ।”

कार्यक्रममा सरकारले भन्सारमूल्य फिर्ता लिएर, चिनी आयातलाई सहज बनाउन अध्यक्ष उपाध्यायले आग्रह गरे।

ब्यापार संघका अध्यक्ष सारडाले सरकारको पछिल्लो कामकार्वाहीबाट उद्योग, किसान तथा सर्वसाधारणलाई कुनै फाइदा नहुने स्पष्ट पारे।

‘चिनी आयातकर्ताले अब सरकारको पछिल्लो रणनीति अनुसार परल मूल्यभन्दा धेरै कममा चिनी विक्री गर्नुपर्ने हुन्छ,’ अध्यक्ष सारडाले भने।

तर, यस बैंकको लगानी डुब्नुको साथै चिनी आयातकर्ता समेत टाट पल्टिने परिस्थिति सिर्जना भएको ब्यापारीहरुको भनाइ छ।

भन्सार राजस्वको विषयमा समेत आफूहरुको राय बुझेका अर्थमन्त्री डा. युवराज खतिवडालाई लक्षित गर्दै ब्यापारीहरुले पछिल्लो समय अर्थमन्त्रालय व्यापारीलाई डुबाउनेतर्फ अघि बढेको आरोप लगाए।

सरकारले चिनीमा भन्सार महसुल ३० प्रतिशत र मूल्य अभिबृद्धि कर १३ प्रतिशत लिँदै आएको छ।  व्यवसायीले प्रतिमेट्रिक टन चिनी ३ सय २० देखि ३ सय ४० डलर पर्ने बताए पनि सरकारले प्रति मेट्रिक टन ४ सय ६० डलरमा मूल्यांकन गर्दै कर लिने गर्छ।

चिनी आयातकर्ता श्रवण अग्रवालले भने, ‘सरकारले हाल ४ सय ६० डलरको सन्दर्भ मूल्यसुचीमा भन्सार कर तथा जरिवाना लिँदैछ। यसका कारण बजारमा चिनी ल्याउँदा महँगो पर्छ।

आयातकर्ताले चिनी प्रति मेट्रिक टन ३ सय ६० डलरमा आयात गरेको बताएका छन्। आजको मूल्यमा चिनीको नेपाली मूल्य प्रति मेट्रिकटन ३८ हजार ३ सय ४० रुपैयाँ पर्छ।  त्यसमा क्लियरिङ चार्ज प्रति मेट्रिक टन ४ हजार रुपैयाँ लाग्नेछ। यसक्रममा भन्सार मूल्यसहित चिनीलाई प्रति मेट्रिक टन ४२ हजार ३ सय ४० रुपैयाँ पर्न आउँछ। उक्त रकममा सरकारले बढाएको भन्सार महसुल ३० प्रतिशतका हिसाबले प्रतिमेट्रिक टन १९ हजार ८ सय ५७ रुपैयाँ पर्न आउछ।

त्यसैगरी, सरकारले चिनीको मूल्य ४ सय ६० डलर कायम गर्दा फरक आउने एक सय डलरमा समेत जरिवाना कायम गरेको छ।

त्यस हिसाबले १० हजार ६ सय ५० रुपैयाँमा ३० प्रतिशत जरिवाना जोड्दा ब्यापारीलाई ३ हजार १ सय ९५ रुपैयाँ पर्न आउँछ। उक्त रकममा पुनः ५० प्रतिशत पेनाल्टी चार्ज गरिएको छ। यसअनुसार, १ हजार ५ सय ९८ रुपैयाँ गरी कुल ४ हजार ७ सय ९३ रुपैयाँ हुन आउछ।

दुवै आकंडा अनुसार ब्यापारीले ३ सय ६० डलर र १ सय डलरमा भन्सार कर तिर्नुपर्नेछ। त्यसपछि ब्यापारीहरुले जम्मा लागत भन्सार मूल्य, ढुवानी खर्च, भन्सार शूल्क गरी कुल ६४ हजार १ सय ९७ रुपैयाँ प्रति मेट्रिक टन चिनीलाई पर्न आउँछ।

उक्त रकममा भन्सारले कायम गरेको थप मूल्य ६ हजार ८ सय रुपैयाँ जोड्दा प्रति मेट्रिक टन चिनीलाई ७० हजार ९ सय ९७ रुपैयाँ पर्नै आउने ब्यपारीहरुले जनाएका छन्।

सोही रकम अनुसार हाल चिनीको भन्सार मूल्याकंन प्रतिकिलो ७१ पर्ने र चिनीको भन्सार मूल्याङ्कन थप नगर्दा भने प्रतिकिलो ६४ रुपैयाँ पर्न आउने व्यापारी अग्रवालको भनाइ छ।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्