बुध्दले थप्दै छ फेरि नयाँ विमान

काठमाडौँ- निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी बुध्द एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ। एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ हुने बुद्ध एयरले जानकारी दिएको छ।

वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर किफायती मानिने पनि बुद्ध एयरले जानकारी दिएको छ।

काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरट्राफिकका कारण विशेषत: घरेलु उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ। यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ। उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो।

नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ।

प्रदेश नं. २ को राजविराज विमानस्थलको स्तरोन्नति लगभग पूरा हुन लागेको छ। त्यहाँ विमानलाई तेल भर्ने व्यवस्था गराउन पनि बुध्द एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। आवश्यक तयारीपछि बुध्द एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ।

यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी छन्।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्