प्रदेश २- मुख्यमन्त्री राउतले लिए एक वालिकाको अभिभावकत्व

जनकपुरधाम- प्रदेश २ को मुख्यमन्त्री मो. लालबाबु राउत मंगलबार एक कार्यक्रमको बिच एक बालिकाको अभिभावकत्व ग्रहण गरेका हुन।

‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत मिथिला आधारभूत विद्यालय कचुरीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउत मिथिला विहारी नगरपालिका वडा नं. ८ की लक्ष्मीनियाँ कुमारी दासको अभिभावक बनेका हुन।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको विशेष योजना ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा सहयोग गर्न सबै पक्ष संग अपील समेत गरे ।

उनले छोरालाई शिक्षित बनाए एक जना मात्र शिक्षित हुने तर छोरीलाई शिक्षित बनाएमा पुरै परिवार शिक्षित हुने भन्दै छोरी शिक्षालाई प्रदेश सरकारले विषेश प्राथमिकतामा राखेको उल्लेख गरे ।

मूखयमन्त्री राउतले अशिक्षाकै कारण समाजमा हिंसा लगायतका कुरितिहरु व्याप्त रहेकाले त्यसलाई अन्त गर्न समेत शिक्षामा जोड दिनु पर्ने बताए ।

मुख्यमन्त्री राउत दलित बालिकाहरुको लागि सरकारले शिक्षा विमा योजना, दिवा खाजा योजना सहितमा गृह कार्य गरि रहेको समेत बताए ।

कानुन मन्त्रीले लिए एक वालकको अभिभावकत्व

यस्तै, वडा अध्यक्ष जिवछ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राउतका अतिरिक्त प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले श्रवण कुमार मल्लिकको अभिभावकत्व लिएका छन् । मन्त्री यादव डोम समुदायका वालक मल्लिको अभिभावक बनेका छन् ।

यता, मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले प्रिति कुमारी महरा र उपमेयर अनिता साहले अम्विका मल्लिकको अभिभावकत्व ग्रहण गरेका हुन ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले शिक्षा नै विकासको मुख्य आधार रहेकाले त्यसका लागि प्रदेश सरकार विशेष पहल गरि रहेको बताए ।

उनले बालाबालिकाहरुलाई शिक्षित बनाउने काममा अभिभावक, विद्यालय र समाजलाई समेत उतिकै जिम्मेवार हुनु पर्ने बताए ।

यता, कार्यक्रममा मिथिला विहारी नगरपालिकाको मेयर अनिल कुमार यादवले बालिकाहरुको लागि नगरपालिकाले समेत विशेष प्याकेज ल्याएको बताए ।

उनले छोरी जन्मेको ३५ दिन भित्र जन्म दर्ता बनाउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैया प्रदान गर्नुको साथै विद्यालय जाने प्रत्येक बालिकालाई साईकल उपलब्ध गराउने घोषणा गरे ।

उनले प्रदेश सरकारले घोषणा गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्