ह्वात्तै घट्यो राजस्व

पर्याप्त राजस्व नउठेपछि सरकारले ल्यायो वैकल्पिक योजना

काठमाडौं- लक्ष्य अनुसार राजस्व सङ्कलन नहुँदा सरकारले राजस्व असुलीको वैकल्पिक कार्ययोजना बनाएको छ। चैत्र मसान्तसम्म गैर कर राजस्व लक्ष्य बमोजिम सङ्कलन भए पनि कर राजस्व भने लक्ष्य भन्दा निकै कम सङ्कलन भईरहेको छ।

आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बनाएको राजस्व असुलीको वैकल्पिक कार्ययोजनालाई अर्थ मन्त्रालयले पारित गर्दै कार्यान्वयनमा ल्याएको हो।

आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक परिवर्तन भएको अवस्थामा नयाँ स्पिरिटले काम गर्न वैकल्पिक कार्ययोजना बनाईएको राजस्व सचिव शिशिर ढुंगानाले जानकारी दिए।अर्थमन्त्री खतिवडाले भन्सार विभागमा तोयम राया, आन्तरिक राजस्व विभागमा विष्णुप्रसाद नेपाल र राजस्व व्यवस्थापन महाशाखामा रामशरण पुडासैनीलाई लागेका छन्।

गैर कर राजस्व लक्ष्य बमोजिम सङ्कलन भए पनि कर राजस्वमा गिरावट आउँदा वैकल्पिक कार्ययोजना निर्माण गर्नु परेको उनले बताए।

चैत मसान्तसम्म आन्तरिक राजस्व विभागको लक्ष्य २ खर्ब १२ अर्ब रुपैयाँ भएकोमा २ खर्ब ५ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ। यस्तै भन्सार विभागको लक्ष्य २ खर्ब ३४ अर्ब रुपैयाँ भएकोमा २ खर्ब १९ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ।

गैर कर राजस्व भने लक्ष्य भन्दा ७ अर्ब बढी सङ्कलन भएको छ। चैत्र मसान्तसम्म गैर कर राजस्व लक्ष्य  ४६ अर्ब रुपैयाँ  भएकोमा ५३ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

आन्तरिक राजस्व विभाग श्रोतले गैर नाफा मुलक काम गर्ने भन्दै कर छुट लिएका संस्थाले व्यवसायिक काम गरेको सुचना प्राप्त भएको जनाउँदै वैकल्पिक कार्ययोजना अनुसार अनुगमन र अनुसन्धानमा कडाई गर्ने बताएको छ।

कर बक्यौता नतिरेका सस्थाको कडाई देखि भन्सार मूल्यांकनमा कडाई गर्ने बिषय वैकल्पिक कार्य योजनामा समेटिएका छन्।

भन्सार राजस्वमा आएको ठुलो गिरावट सँगै सरकारले भन्सार मूल्यांकनमा कडाई गर्दै न्यून बिजकिकरण गर्ने व्यवसायीमाथि कडाई गर्ने बताएको छ।

भारतबाट पनि ठुलो परिणाममा हुने आयातमा बैंकिङ कारोबारलाई प्राथमिकता दिने बिषय वैकल्पिक कार्ययोजनामा समेटिएका छन्।

राजस्व सचिव ढुंगानाले चालु आर्थिक वर्षको राजस्व लक्ष्य ७ खर्ब ३० अर्ब रुपैयाँ अनुसार राजस्व सङ्कलन गर्न सरकार प्रतिवद्ध भएको बताउँदै आगामी तिन महिनामा लक्ष्य अनुसारको राजस्व सङ्कलन हुने बिश्वास व्यक्त गरे।

यस्तै भन्सार विभाग र आन्तरिक राजस्व विभागमा नियुक्त भएका महानिर्देशकहरुले लक्ष्य बमोजिम राजस्व उठाउने प्रतिवद्धता जनाएका छन्।

 

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्