त्यो त्रासदीको तीन वर्ष: भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीसँग कुराकानी

‘पश्चिम नेपालमा भूकम्प जाने इनर्जी जम्मा भएको छ’

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारी। तस्बिर: बर्षा शाह

ठ्याक्कै तीन वर्षअघिको ७.८ म्याग्निच्युडको भूकम्पका धक्काहरु आउने क्रम अझै रोकिएको छैन। बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पलाई पछ्याउँदै अहिलेसम्म ४ म्याग्निच्युडभन्दा माथिका ४५ हजार भन्दा धेरै परकम्प गएका छन्।

तीन वर्षसम्म हल्लाउने र हल्लिने क्रम रोकिएको छैन। सुरु सुरुमा बेस्सरी हल्लायो। त्यसपछि कम हुँदै गएको हो। तर अहिले तीन वर्ष हुँदा पनि भूकम्पका कारण हल्लिने डर वा आफ्ना र आफ्ना चिजहरु गुमाउने त्रास भने उस्तै छ।

यही डर अनि त्रासको खेलमा बेलाबेला विभिन्न हल्ला पनि चल्छन्। फेरि डर फैलन्छ। यही सन्दर्भमा हामीले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीसँग कुराकानी गरेका छौँ।

फर्केर हेर्दा


२०७२ को गोरखा भूकम्पको सम्झना अहिले धमिलो भयो कि नाईँ?

कहाँ हुनु। ताजा नै छ। तर त्यो भूकम्प र त्यसले निम्त्याएको क्षति भने सपना जस्तो लाग्छ। अहिले २३ वर्ष भयो भूकम्पसँगै जोडिएर काम गरेको। तर तीन वर्षअघि वा हामीले भूकम्पसँग जोडिएर काम गर्न थालेको २० वर्षसम्म यस्तो अनुभव भएको थिएन। आउँछ भन्ने थियो तर भोगिएको थिएन।

के होला, कस्तो होला जस्तो लाग्थ्यो। भूकम्प आउँछ भन्ने थाहा थियो, कहिले र कहाँ आउँछ भन्ने चाहिँ थाहा थिएन। त्यसैले सपना जस्तो बन्यो।

त्यो भूकम्पले केही सिकायो कि?

पहिलो कुरा त वास्तवमा भूकम्प आउँदा के हुन्छ र के गर्नु पर्छ भन्ने थाहा दियो। हामीले काम गरिरहेका थियौँ। तर पूर्व तयारी जे गर्नु पर्ने हो त्यो भएको रैनछ भन्ने गोरखा भूकम्पपछि थाहा लाग्यो।

हाम्रो सूचना प्रणाली अनि भूकम्प अघिको पूर्व तयारी र त्यस पछिको उद्धार तथा सतर्कताको प्रयास निकै फितलो रहेछ भन्ने जानियो। त्यसपछि भविष्यका लागि यस्तै अवस्था आएमा कम भन्दा कम क्षति होस् अनि सूचना समयमा सही दिन सकियोस् भनेर काम गर्न थालेका छौँ।

काम


कामको गति चाहिँ कस्तो छ ? अनि अप्ठ्याराहरु के छन् ?

पहिलो कामकै कुरा गरौँ। सबैभन्दा महत्वपूर्ण कुरो हामी भूकम्पको सूचना सही दिनका चाहिने व्यवस्थापन मिलाउन लागेका छौँ। त्यसबेला हामीसँग २१ वटा भूकम्प मापन केन्द्र थिए। अहिले पनि त्यति नै हो। तर थप २० वटा थपिने क्रममा छन्। अध्ययन, अनुसन्धान र सर्वेका कामहरु पनि भइरहेका छन्।

अप्ठ्यारोको कुरो गर्दा, हामीसँग समन्वयको अभाव छ। यसले एकीकृत रुपमा काम गर्न सकिएको छैन। यसले कामलाई पनि चाहिने जति गति दिन सकिएको छैन।

अघि मापन केन्द्रहरु थपिँदै छन् भन्नुभयो, ती केन्द्रले चाहिँ के हामीलाई के सहयोग गर्छन् ?

विश्वमा भूकम्पको मापनका लागि प्रविधिको प्रयोग हुन थालेको एक सय वर्ष भयो। नेपालमा चाहिँ २५ वर्ष जति मात्रै भयो। सुरुमा एउटा केन्द्र थियो। अहिले २१ वटा छन् र बाँकी जडानको काम हुँदैछ। भूकम्प मापन केन्द्र जति धेरै भयो हामीले भूकम्पको सूचना त्यति छिटो र त्यो भन्दा पनि महत्वपूर्ण कुरा सही सूचना दिन सक्छौँ।

एउटा उदहारण छ, हामीले यो गोरखा भूकम्प पछि नै भोगका हौँ । परकम्प गएको थियो काठमाडौंको भृकृटीमण्डप आसपास केन्द्र भएर चार म्याग्निच्युड भन्दा माथिको थियो। हामीले सुुरुमा सिन्धुपाल्चोक भनेर जानकारी दियौँ। भएको चाहिँ के थियो भने, त्यहि बेला काठमाडौंमा रहेको मापन केन्द्रको सिस्टम बिग्रिएको थियो। त्यही बेला भूकम्प गयो। अर्को विकल्पको रुपमा रहेको सुर्खेतको केन्द्रबाट सूचना लियौँ। त्यसले सिन्धुपाल्चोकतिर देखायो। पछि केही बेरमै सच्याएका थियौँ। यसको अर्थ के भने मापन केन्द्र जति धेरै भयो त्यति नै सही सूचना दिन सक्छौँ।

हामीसँग काठमाडौंको सिस्टम नबिग्रिएको भए वा यस वरपर नै अर्को कुनै केन्द्र भएको भए काठमाडौंको भूकम्प सिन्धुपाल्चोक पुग्ने नै थिएन। अर्थात यस्ता केन्द्रहरुले भूकम्पको सही सूचना दिने हो। जुन सूचनाले उद्धार तथा त्यसपछिको कामका लागि सहयोग गर्छ।

उसो भए त यहिँ भूकम्प गयो भन्न त गाह्रो पो रैछ है ?

हो, त्यसैले त हामीले ठ्याक्कै यही ठाउँ भन्ने गरेका छैनौँ, यहाँनिर वा त्यस आसपास केन्द्र विन्दु भएर गएको भन्ने गरेका छौँ। जति धेरै मापन केन्द्र हुन्छन्, त्यति नै इरर कम हुन्छ र सही जानकारी दिन सकिन्छ।

अहिले हामीसँग उत्तरको माथिल्लो पहाडमा मापन केन्द्रहरु छैनन्। चीनको सहयोगमा आएका १० वटा सिस्टमहरु नभएका क्षेत्रमै राख्ने काम भइरहेको छ। यस्तै जाइकाले दिने भनेका ८ वटा सिस्टम पनि मध्य पहाडका खाली ठाउँमा अनि थाइल्याण्डको एक संस्थाले दिएका दुईवटालाई पनि बढी आवश्यक ठानिएको ठाउँमा राख्ने काम हुँदैछ। त्यसपछि भने काठमाडौंको भूकम्प सिन्धुपाल्चोक पुग्दैन कि भन्ने आश छ ।

भूकम्प र डर


अघि तपाईंले भन्नु भा’थ्यो, गोरखा भूकम्पपछि चार म्याग्निच्युड भन्दा माथिका ४५ हजार परकम्प गइसके, यत्ति धेरै चाहिँ किन ?

हो, यो धेरै नै हो ।

पहिलो कुरो त, परकम्प भनेको ठूलो भूकम्पलाई पछ्याएर आउने साना भूकम्प हुन् । यी आइरहन्छन् । तर हाम्रोमा चाहिँ धेरै नै आए । विश्वमा गोरखा भूकम्प जतिकै ठूलो भूकम्पलाई पछ्याएर यति धेरै परकम्प आएका छैनन् ।

 

किन भन्ने भन्दा, परकम्पलाई भूकम्प गएको क्षेत्रको भौगर्भिक अवस्था र भूकम्पको प्रकृतिले निर्धारण गर्छ । नेपाल भूकम्पीय जोखिम युक्त भौगर्भिक संरचना भएको देश हो । यसले गर्दा पनि धेरै परकम्प आएका हुन् । अनि गोरखा भूकम्पको प्रकृति पनि धेरै परकम्प ल्याउने खालको रहेछ ।

यी परकम्पले डर धेरै दिए नि ?

हो, डर भयो । सँगै हामीलाई सचेत पनि बनाएका छन् । डरलाई डरको रुपमा भन्दा पनि अब यस्तै खालको भूकम्प आउँदा हामी कसरी सुरक्षित हुने वा कम भन्दा कम क्षति हुने अवस्था ल्याउनका लागि पूर्व तयारी वा भूकम्प प्रतिरोधी संरचना बनाउन तर्फ मोड्न सक्नु पर्छ ।

यो त भयो, तर बेला बेलामा यहाँ, यो समयमा भूकम्प आउँछ भनेर डर देखाउने पनि गरिएको छ नि ?

होइन, भूकम्प यहाँ र यो समयमा आउँछ भन्ने जानकारी हुने भए त हामीले कुरा नै गर्नु पर्ने थिएन । कसैले भूकम्प यो बेला यहाँ जान्छ भने त्यो कुरा पत्याउनै हुँदैन । त्यो सरासर हावादारी कुरो हो । अहिलेसम्म विश्वका कुनै पनि देशमा भूकम्प यहाँ, यो समयमा जान्छ भनेर पहिले नै थाहा पाउने प्रविधिको विकास भएको छैन । तर त्यसका लागि प्रयास भने सबैको छ । तर यो क्षेत्र भूकम्पीय जोखिममा छ र यो आकारको जान सक्छ है भन्न चाहिँ सकिन्छ ।

त्यसको अर्थ पश्चिम नेपालमा ठूलो भूकम्प जाने सम्भावना छ भन्छन् नि, हो ?

हो । जान सक्छ । किनकी हामी भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छौँ । तर यही बेलामा जान्छ भन्ने चाहिँ होइन, जोखिम मात्रै हो ।
देशको पूर्वी क्षेत्रमा विसं १९९० मा भूकम्प गयो । त्यसअघि गोरखा भूकम्प गएको क्षेत्र कै आसपास केन्द्र भएर त्यसको १०० वर्षअघि विसं १८९० मा भूकम्प गएको थियो ।

तर मध्य पश्चिम वा त्यस उताका क्षेत्रमा ठूलो भूकम्प नगएको पाँच सय वर्ष भन्दा धेरै भयो । प्यालियोसिस्मोलोजी भनिने प्रविधिको प्रयोग गरेर जमिनमा परेका चिराको अध्ययन गरे अनुसार त्यस क्षेत्रमा सन् १५०५ मा ९ म्याग्निच्युड भन्दा माथिको भूकम्प गएको थियो । त्यो नै नेपालमा गएको सबै भन्दा ठूलो भूकम्प हो ।

त्यसपछि त्यो क्षेत्रमा ठूलो भूकम्प गएको छैन र त्यहाँको जमिनमुनि भूकम्प जान सक्ने इनर्जी जम्मा भएको छ । अनि भूकम्पीय जोखिम युक्त क्षेत्रमा हो । त्यसैले त्यहाँ ठूलो भूकम्प जाने सम्भावना छ । तर यो बेला जान्छ वा यहिँ नै केन्द्र भएर जान्छ भन्ने चाहिँ छैन ।

अहिले नै हेर्दा पनि पश्चिम नेपालमा ठूलो भूकम्प नगएको त पाँच सय वर्ष भन्दा धेरै भयो । यो अवधिमा झण्डै ६ पुस्ता फेरि । त्यसैले यो बेला जान्छ भन्ने होइन, भूकम्प जाने सम्भावना मात्रै हो ।

बैशाख ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू