गोरखा भूकम्पको तीन वर्ष

सुस्त पुनर्निर्माण, अझै पनि टहरामै प्रभावित

काठमाडौं – ठूलो संख्यामा भौतिक तथा मानवीय क्षति गरेको गोरखा भूकम्प गएको ठ्याक्कै तीन वर्ष भएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि साना ठूला भूकम्प गए र ९ हजार भन्दा बढीको ज्यान गयो भने सार्वजनिक तथा निजी गरी धेरै भौतिक संरचना भत्किए ।

अहिलेसम्म पनि गोरखा भूकम्पलाई पछ्याएर परकम्प आउने क्रम रोकिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अहिलेसम्म चार म्याग्निच्युड भन्दा माथिका ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् र यो क्रम अझै चलिरहेको छ ।

परकम्प आउने क्रम रोकिएको छैन । तर भूकम्पपछिको पुनर्निर्माणको कामले भने रोकिने क्रम तोड्न सकेको छैन ।

भएका कामहरुले पनि विभिन्न बहानामा गति लिन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछिको यो तीन वर्षमा लक्ष्यलिएको मध्ये पुनर्निर्माणको काम आधा मात्रै सकिएको छ ।

सरकारले भूकम्पका कारण बस्ने ठाउँ नै गुमाएका परिवारलाई निजी आवा निर्माणका लागि किस्तामा गरी तीन लाख रुपैयाँ दिने निर्णय गर्‍यो । यस्तै काठमाडौं उपत्यकामा २५ तथा उपत्यका बाहिर १५ लाख रुपैयाँ सहुलियतदरमा ऋण दिने व्यवस्था पनि छ ।

तर अहिलेसम्म न प्रभाविको हातमा सजिलोसँग राहत रकम पुगेको छ न सहुलियत ऋण लिन नै सजिलो छ । यो तीन वर्ष अब त हुन्छ कि वा अब पाइन्छ कि भन्ने आशमै बितेको प्रभावितहरु बताउँछन् ।

भूकम्पले टहराको बास गराएका धेरै प्रभावित अझै घर फर्किन पाएका छैनन् । बनाएको टहराको अवस्था पनि तीन हिउँद र तीन बर्खाले थोत्रा भइसके ।

भूकम्प : तथ्य र तथ्यांक


निजी आवास


गोरखा भूकम्प र त्यसलाई पछ्याउँदै लगतै आएका ठूला साना परकम्पका कारण भूकम्प प्रभावित जिल्लामा कुल ७ लाख ६७ हजार ७०५ निजी घरमा क्षति भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म १ लाख ४१ हजार ५२४ घरको पुनर्निर्माण सम्पन्न भएको छ भने ४ लाख ३६ हजार १५२ घर बन्दै छन् । बाँकीको भने काम नै सुरु भएको छैन । सरकारले तीन किस्तामा गरी लाभग्राहीको सूचिमा परेकालाई अनुदान दिने गरेको छ ।

अहिलेसम्म तेस्रो किस्ताका लागि १ लाख १९ हजार २३ लाभग्राही प्रमाणीकरण भएका छन् । यसका लागि निवेदन दिनेको संख्या १ लाख २६ हजार १४५ हो ।

यस्तै दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकाको संख्या ३ लाख ७१ हजार ७०५ छ भने निवेदन दिनेको संख्या ३ लाख ८२ हजार ३२७ हो ।

भूकम्पपछि प्राधिकरणले कुल ९ लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरेकोमा लाभग्राहीको सूचिमा ७ लाख ६७ हजार ७०५ घरवाला परेका हुन् । अहिलेसम्म प्राधिकरणले ७ लाख ९ हजार १८० लाभग्राहीसँग अनुदान सम्झौता गरेको छ ।

यस्तै आंशिक क्षति भएका २४ हजार ९९१ लभग्राही प्रवलीकरण सूचिमा परेका छन् । तर विभिन्न कारणले लाभग्राहीले भने जस्तो गतिमा रकम पाउन सकेका छैनन् ।

अहिलेसम्म ६ लाख ९६ हजार १९३ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिनेको संख्या ३ लाख २२ हजाार २०१ र तेस्रो किस्ता लिनेको संख्या ९० हजार २९५ रहेको छ ।

सम्पदा, सरकारी भवन र अरु…


निजी आवास जस्तै भूकम्पका कारण विभिन्न सम्पदा, सकारी भवन, शैक्षिक संस्था र अरु विभिन्न क्षेत्रका भौतिक संरचनामा पनि क्षति भएको थियो ।

७५३ सम्पदाको पुनर्निर्माण गर्नु पर्नेमा अहिलेसम्म १०० वटाको काम सम्पन्न भएको छ भने ३२९ मा काम भइरहेको छ । बाँकी ३२४ वटा सम्पदामा काम नै सुरु भएको छैन ।

यस्तै भूकम्पपछिको सर्वेक्षणमा देशभरका ३७९ सरकारी भवन पुनर्निर्माण गर्नु पर्ने देखिएको थियो तर अहिलेसम्म २२० को मात्रै सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै १४७ मा काम चल्दैछ।

भूकम्पले शैक्षिक संस्थामा पनि ठूलो क्षति गरेको थियो । ७ हजार ५५३ शैक्षिक भवन पुनर्निर्माण गर्नु पर्नेमा अहिलेसम्म ३ हजार १५७ को काम सकिएको छ भने २ हजार ३५ मा काम हुँदै गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

सुरक्षा निकाय तर्फ ३८३ भवन बनाउनु पर्नेमा ७९ वटाको काम सकिएको छ भने १२६ मा काम हुँदैछ । यसैगरी स्वास्थ्य संस्थाका ११ सय ९७ भवन पुनर्निर्माण गर्नु पर्नेमा अहिलेसम्म ५८६ को काम सकिएको छ र १८० मा काम चल्दैछ ।

यी सबै तथ्य र तथ्यांकले पुनर्निर्माणको गति निकै सुस्त रहेको देखाउँछ ।

बैशाख १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्