मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

दाङ – मोटरसाइकल दुर्घटना हुँदा दाङमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लक्ष्मीपुरको भैसाही चोक नजिक दुर्घटनामा प्रहरी जवान गोपीलाल गिरीको मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परी प्रहरी जवान बसन्तराज अधिकारी घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत गिरी र अधिकारीको मंगलबार राति १२ बजेदेखि बिहान ६ बजेसम्म डिउटीमा रहेका र त्यहि बेला दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिए ।

घाइते अधिकारीको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । अधिकारी र गिरी बा २ ब ११११ नम्बर मोटरसाइकलमा सवार थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैशाख १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्