देशमा पुनर्निर्माण मन्त्रालयको खाँचो छ- धुर्मुस

देशमा पुनर्निर्माण मन्त्रालयको खाँचो छ- धुर्मुस

दुई नेपाली कलाकारले वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपीडितहरुका लागि आवास पुनर्निर्माण र सामाजिक कार्य गर्ने अठोट गरे, धुर्मुस सुन्तली फाउण्डेशन खोलेर। देश निर्माण र पुननिर्माणका लागि एकीकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढ्ने अवधारणा अनुसार धुर्मुस न्तलीले छिटो पुन:निर्माणको प्रकृया स्वरुप एकीकृत बस्ती विकासको सुरुवात गरे।

भूकम्प पीडितहरुका आवास पुनर्निर्माणका लागि देश/विदेशमा पुगेर सहयोगको अपिल गरे आफ्नो कला र गलामार्फत। उनीहरुलाई  स्वदेश तथा विदेशबाट सहयोगी हातहरुले साथ र समर्थन दिए। फाउण्डेशनले अहिलेसम्म सिन्धुपाल्चोकको गिराञ्‍चौर एकीकृत नमुना बस्ती, महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती,  सन्तपुर बस्ती, पहरी नमुना बस्ती निर्माण गरेर नमुना नेपाल निर्माण अघि बढाइरहेको छ।

विज्ञापन

त्‍यतिमात्रै होइन, देशको इज्जतसँग जोडिएर आएका क्रिकेट खेलाडीलाई प्रोत्साहित गर्न धुर्मुस-सुन्तली अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने अभियानमा छन्। त्यही अभियानका अभियन्ता एवं धुर्मुस सन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’सँग देश सञ्‍चारका वरिष्ठ उप-सम्पादक  सहदेव चौधरीले गरेको कुराकानी:

वैशाख १२को भूकम्पपछि धुर्मुस सुन्तली फाउन्डेशनले भूकम्पपीडितलाई सहयोग गर्ने प्रेरणा कहाँबाट प्राप्त गर्‍यो?

विशेष गरी हामीलाई भूइचालोले नै धेरै पाठ सिकायो। त्‍यो भन्दा अगाडि नेपाल सरकारले सरसफाइ दूत बनाएपछि हामीमा अझ बढी जिम्‍मेवारी र दायित्व थपिएको र विभिन्‍न अनुभूतिहरु हुँदै गए। सामाजिक रुपमा धेरै काम गर्नुपर्छ भन्‍ने भावना त धेरै पहिल्‍यैदेखि नै थियो। तर भूइचालोले विनास सँगसँगै विकासको मूल फुठाउने धेरै ठूलो अवसर पनि दियो। हामीले चाहिँ यही बेला हो राष्ट्र निर्माण गर्ने र काम गर्ने भन्‍ने अठोट गर्‍यौ। विशेष चाहि भुइँचालोले नै बढी प्रेरणा दियो।

फाउन्डेशनले काभ्रेको गिरानचौर नमुना बस्ती, महोत्तरीको मुसहर नमुना बस्ती, सन्तपुर नमुना बस्तीलगायतका एकीकृत बस्तीहरु बनाउँदा के कस्ता चुनौती/अप्ठ्‍याराहरु सामना गर्नुपर्‍यो?

जब कुनै पनि विकासको काम गर्ने, बनाउने अठोटका साथ अगाडि बढिरहँदा त जोखिम र चुनौतीहरु पाइला पाइलामा हुन्छन्। किनकी यो नेपाल हो। एकीकृत बस्ती आफैँमा पनि चुनौतीपूर्ण विषय थियो। सरकारले नीति तथा कार्यक्रममा ल्‍याए पनि, कार्यक्रममा सहभागिता गराए पनि कार्यान्वयन हुन पनि धेरै जोखिम थियो। विशेष गरी समाज एकीकरण गर्न, व्‍यक्तिको जग्‍गा एकीकरण गरी बस्ती विकास गर्न आफैँमा चूनौतीपूर्ण थियो।

सरकारको नियमभित्र काम गर्दा त बाधा अड्चनहरु धेरै आए। तर, मनदेखि संस्कारी भएर त्‍यसलाई सहर्ष स्वीकार्दै हामीमा पाइला रोकिनु हुँदैन, रोकियो भने धेरै चीज रोकिन्छ। युवाहरु विकासका सम्बाहक हुन भन्‍दै गर्दा धेरै युवा साथीहरुको प्रतिनिधित्व गर्दै गर्दा शारीरिक हिसाबमा धेरै कष्ट हुन्थ्यो। भारी बोक्‍नुपर्थ्यो।

सीताराम कट्टेल ‘धुर्मुस’।तस्बिर-बर्षा शाह/देश सञ्‍चार

तर नेपाल आमालाई खुशी बनाउनुपर्छ। शारीरिक हिसाबमा हामी धेरै थाके आफ्‍नो त्‍यो बाध्‍यता पनि थियो र बाध्‍यतासँगै अरु युवालाई उत्प्रेरित गर्नु आवश्‍यक थियो। यो माटोमा असल काम गर्नुपर्छ। सबैलाई खुशी बनाउदै रम्‍दै रमाउँदै काम गराउनु थियो। तर त्‍यसको साइडमा त्‍यतिबेला शारिरीक कष्ट थियो, मानसिक प्रेसर भइरहन्थो। हरेक सामनाको चुनौतीलाई स्विकार्दै आफूलाई गाह्रो भो, कठिन छ भनिरहेनौँ हामीले। किनभने हामीले धेरै अभियन्ता जन्माउनु छ। धेरै सकारात्मक सोच राख्‍ने मान्छे जन्माउनुछ।

तर आफैँमा असम्भव भन्‍ने चीज भने थिएन। हाम्रो इच्छा शक्ति भएर पनि यो सम्भव थिएन। विदेशबाट स्वदेशबाट नेपालीहरुले खुलेर साथ र सहयोग गर्नुभयो। धुर्मुस सुन्तली कलाकार मात्रै होइन गर्न सक्‍ने व्‍यक्ति हो भनेर विश्‍वास गर्नुभयो र यही विश्‍वासले नै हो यतिसम्‍म कि नमुना नेपालको परिकल्पना गर्न सकेको।

नमूना नेपाल बनाउने परिकल्पना कहाँबाट आयो। यो त राज्‍यले गर्नु पर्ने होइन र? कसरी काम गरिरहनु भएको छ?

हो, हामीले काम गर्दै जाँदा चारवटा नमुना बस्ती बनाइसकेकपछि नमुना नेपाल निर्माण बस्ती बनाउने अठोटका साथ अगाडि बढिसकेका थियौँ। हुन त यो नमुना नेपाल निर्माणको परिकल्पना सिन्धुपाल्चोकको पीपल डाडाँमा चर्पी निर्माण गर्न त्‍यहाँ पुगिरहँदा कुञ्‍जनाको मनमा आएको परिकल्पना, भावना हो।

समग्रमा सम्पूर्ण नेपाली दाजुभाइहरुको मनमा लागेको सपना परिकल्पना थियो। यही चारवटा बस्ती बनाइसकेपछि नमुना नेपालको प्रकिया निक्‍कै धेरै अगाडि बढिसकेको छ। सर्भेको काम सकिसकेको छ। अब डीपीआर( डिटेल प्रोजेक्ट रिपोट) र एआइएको काम सकिने बित्तिक्कै यसको प्रक्रिया पनि अगाडि बढ्छ।

तपाईहरु त अहिले क्रिकेट स्टेडियम निर्माण गर्नेतर्फ लाग्‍नु भएको छ। नमूना नेपाललाई कुनै असर गर्दैन?

हो, हामी अहिले क्रिकेट स्टेडियम निर्माण गर्ने तर्फ डाइभर्ट भएका छौ। त्‍यहाँ डाइभर्ट भए पनि यो नमुना नेपाल निर्माण गरेरै छाड्ने संकल्प गरेका छौ र गर्छौ पनि।

क्रिकेट स्टेडियम त सरकारले बनाउनुपर्ने होइन र?

क्रिकेट स्टेडियम विकासको प्रकिया हो। धुर्मुस सुन्तली फाउन्डेशनले निर्माणको अनुभव लिइसकेपछि हामीले विकासमा यो क्षेत्रमा पनि आँट गर्न खोजेका छौँ। यो राज्‍यको अत्‍यावश्‍यक आधारभूत आवश्‍यताभित्रको विषय हो। किनकी क्रिकेटले देशको शान, गरिमा र इज्जतलाई अन्तर्राष्ट्रिय जगतमा थप मजबुत अनि पहिचान दिलाएको छ।

हामी जहिले पनि गौरवान्वित हुन्छौँ। गौतमबुद्धको देश नेपाल, सगरमाथाको देश, क्रिकेटको देश नेपाल बन्‍दै गर्दाको अवस्थामा समग्र खेल र खेलाडीको प्रतिनिधित्व गर्दै हामीले क्रिकेट स्टेडियमको परिकल्पना गरेका हौँ। यसलाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम भने पनि यसलाई हामाीले पर्यटकीय गन्तव्‍यको रुपमा/हबको रुपमा विकास गर्छौँ र यो मल्टीपर्पोजको अवधारणा अन्तर्गत बन्‍दैछ। त्‍यसमा अन्तर्राष्ट्रिय क्रिकेटसँगै अन्‍य विधाका खेल खेल्‍न मिल्‍ने गरी संरचना बनाउनेछौँ। ७७ वटै जिल्लाका खेलाडीहरुलाई ल्‍याएर एकेडेमीको रुपमा सञ्‍चालन गर्ने भन्‍ने हाम्रो टीमको अवधारणा छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पुर्नआवास निर्माण गर्न अप्ठेरो भनिरहेको बेला तपाईहरुले चारवटा एकीकृत बस्ती बनाएर नमुना नेपालमा लागिरहनु भएको छ। सरकार र तपाईँको काम गर्ने शैलीमा के फरक छ ?

वास्तवमा हाम्रो अभियान भनेकै सरकारलाई सघाउने अभियान हो। हामीले सरकारलाई नै पूर्ण रुपमा सघाउनकै लागि गरेका हौँ। सरकार र हामीमा अलिकति भिन्‍नता के हो भने सरकारको आफ्‍नै नीति नियम छन्। हरेक प्रकियाहरु अलिक ढिला सुस्तीका र केही झन्झटिला पनि छन्। तथापि सरकार पनि लागिपरिरहेकै अवस्था छ। हामी निजी क्षेत्रबाट अगाडि बढिरहँदा हामीलाई अलिकति हामीलाई कलाकारको हिसाबले मानिसहरुले रुचाउनु भएकाले हामीले कन्भिन्‍स गर्न सक्‍यौँ र फास्ट ट्र्‍याक अन्तर्गत निर्माण भयो।

राष्ट्रिय पुनर्निर्माण प्राधिरकण जुन गठन भएको छ यो आफैँमा बन्देज छ। उसले विभिन्‍न मन्त्रालयसँग समन्‍वय गरेर मात्रै अगाडि बढ्‍नु पर्नेछ। उसले आफैँले नीति निर्माण बनाएर अगाडि बढ्‍न सक्‍ने भए त तीन वर्ष पुगिसक्दा पुनर्निर्माण पूरा हुन्थ्यो जस्तो लाग्छ मलाई।

त्‍यो वैशाख १२को त्रासदीलाई तपाईँ कसरी सम्झिनुहुन्छ?

तीन वर्ष अगाडिको त्‍यो वैशाख १२ आजकै दिन कालो दिन थियो। त्‍यो दिन, त्‍यो त्रासदी र कहालीलाग्दो दिन, अकल्पनीय। विपत कसरी आउँछ भन्‍ने बाजा बजाएर आउँछ भन्‍ने होइन रहेछ। ५५ सेकेण्डले त्‍यत्रो विनाश गर्‍यो। हामी घण्टौँ घण्टा, बहस छलफल र नीतिका कुरा गरेर अल्झिरहेका छौँ। तर त्‍यो वैशाख १२ले धेरै चीज/पाठ सिकाएको छ आम नेपालीलाई। के धनी, के गरीब सबै समान हो।

किन इर्ष्‍या, डाहा, लोभ गर्ने भन्‍ने मूल मन्त्र सिकायो। किनकी आखिर मरेर लाने चोला हो। मान्छे जस्तो जन्मियो, त्यस्तै जाने हो, त्‍यसैले सबै सकारात्मक हौँ भन्‍ने पाठ सिकाएको थियो जस्तो लाग्छ। भोलि यस्तो दिन नआउन् कामना गरौँ। आयो भने पनि कल्‍पना गरौँ कति दु:खद छ।

भूकम्पले ढलेका देशका सम्पदाहरुलाई पुनर्निमार्ण गर्न सरकारले ढिलाई गरेजस्तो लाग्छ कि लाग्‍दैन?
त्‍यो त मलाई मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई पनि त्‍यही लागेको छ। भूकम्पपछिको पुनसंरचनामा जुन रुपमा काम हुनु पर्ने थियो त्‍यो भएन/भइरहेको छैन। तर अबको यो ०७५ सालमा भूकम्पबाट ढलेका सबै सम्पदाहरुको पुनर्निमाण भएको देख्न पाऊँ। जति पनि धरोहरहरु छन्, जस्तै धरहरा निर्माणदेखि लिएर सांस्कृतिक सम्पदा, धार्मिक सम्पदाहरु लगायत सबैको पुनर्संरचना भएको देख्न पाऊँ।

तपाईँको विचारमा पुनर्निर्माणलाई छिटो र भरपर्दो बनाउन के गर्नुपर्ला ?

पुनर्निर्माणलाई छिटो गर्न सरकारले पुननिर्माण मन्त्रालय गठन गरेर मन्त्री नियुक्त गरेर यसको प्रक्रियालाई अगाडि बढायो भने सम्बन्धित मन्त्रालय भन्‍ने हुन्छ। त्‍यो पुननिर्माण मन्त्रालयको मातहतमा रहेर पुनर्निर्माणलाई अगाडि बढाउन सहज वातावरण सृजना हुन्छ। अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्‍न मन्त्रालयसँग समन्वय गर्दै अगाडि बढ‍्नु पर्ने भएकाले ढिलासुस्ती भएको हो।

धुर्मुस सन्तली फाउण्डेशनका संस्थापक सित्ताराम कट्टेल ‘धुर्मुस’।तस्बिर- बर्षा शाह/ देश सञ्‍चार

विशेषगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय गर्दै अगाडि बढ्दा कतिपय प्रकियाहरु छिटो हुनु पर्नेमा झनै ढिला भएका छन्। तर पुनर्निर्माण मन्त्रालय गठन गर्‍यो भने त्‍यसको मातहतबाट यी सबै चीजहरु अगाडि बढाउन छिटो हुन सक्छ। साथै प्रतिक्रिया पनि चाँडै पाइन्छ। पुनर्निमाण मन्त्रीले नै यसको जिम्‍मेवारी लिनेगरी काम गर्दा पीडितहरुलाई समयमै मल्हमपट्टी लगाउन सहज हुन्छ।

यसले आवास निर्माणका लागि मात्र नभएर जति पनि ढलेका धरोहर, धार्मिक र सांस्कृतिक सम्पदाहरु छन्, हरेक वर्ष तराई डुब्छ। पहाडमा पहिरोले घर पुरिन्छ, धनजनको क्षति हुन्छ। बाढीपीडितको मुद्दा, पहिरो पीडितको मुद्दा लगायत समग्र राज्‍य पुनर्संरचना गर्नको लागि पुनर्निमार्ण मन्त्रालय अपरिहार्य छ। यसले चाडै रिजल्ट पनि ल्‍याउँछ र देखिने काम गर्छ र सबै पीडितहरुको घाउँमा मल्हमपट्टी लगाउन यसको खाँचो छ।

बैशाख १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्