नेपालीको आम्दानी बढ्यो; अब प्रत्येक नेपालीको कमाई १ लाख ६ हजार ३ सय ३३

काठमाडौं-सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने बताएको छ। केन्द्रीय तथ्यांक विभागले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा भएको वृद्धि सँगै जीडीपी प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने बताएको छ। गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८ सय ६६ डलर थियो।

नयाँ तथ्यांकअनुसार हरेक नेपालीको बार्षिक (डलर सँगको विनिमयदर १०५.९१) आम्दानी १ लाख ६ हजार ३ सय ३३ पुग्ने छ।

चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ५.८९ प्रतिशतमा हुने भन्दै तथ्यांक विभागका महानिर्देशक सुमन आचार्यले नेपालको जीडीपी ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने बताए।

गत वर्ष ८ सय ७७ डलर रहेको कुल राष्ट्रिय आय अनुसारको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ हजार १२ डलर पुग्ने बताइएको छ।  यस्तै बाह्य देशबाट भएको आम्दानी जोड्दा १ हजार १ सय ५६ डलर रहेको प्रतिव्यक्ति आय १ हजार २ सय ९४ डलर पुग्नेछ।

केही दिन अगाडि एसियाली विकास बैंकले ४.९ प्रतिशत र विश्व बैंकले ४.६ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने बताएका थिए।

तथ्यांक विभागका महानिर्देशक आचार्यले भने, ‘उनिहरुले गर्ने अध्ययन मोडल र हामीले अध्ययन गर्ने मोडल नै फरक हुन्छ, हाम्रो तथ्यांक यथार्थपरक हुने हुँदा हामीले गरेको अध्ययन सत्य नजिक छ।’

सरकारले बजेटमार्फत चालुआर्थिकको आर्थिक वृद्धिदर ७.२ प्रतिशतले हुने बताएको थियो। बजेटको अर्धवार्षिक समिक्षा गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशतहुने संशोधित लक्ष्य तय गरेको थियो।

कृषि क्षेत्रमा अपेक्षित वृद्धि नहुँदा लक्ष्य अनुसारको आर्थिक वृद्धि हुन नसकेको बताइएको छ। चालु आर्थिक वर्षमा गैरकृषि क्षेत्रको वृद्धि ७. १ प्रतिशतले हुँदा कृषी क्षेत्रको वृद्धि २. ८ प्रतिशतमा सिमित हुने अनुमान छ।

आचार्यले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.९४ प्रतिशत हुने भनिएको ७.३९ प्रतिशत भएको बताएका छन्।

निर्माण, सेवा र उद्योग क्षेत्रमा भएको उलेख्य विकासले चालु आर्थिक वर्षमा जीडीपी बढेको आचार्यले जानकारी दिए।

जिडीपीमा रेमिट्यान्सको हिस्सा घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको  छ। चालु आर्थिक वर्षको साउन देखि नै रेमिटेन्सको वृद्धिदरमा  गिरावट आउँदा जीडीपीमा रेमिट्यान्सको योगदानमा गिरावट आएको आचार्यले बताए।

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत  रहेकोमा यसपटक २४.५२ प्रतिशत रहेको छ।

विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सेवा क्षेत्रको योगदान ५७.६१ प्रतिशतले हुनेछ।

सेवा क्षेत्र अन्तर्गत सञ्चार,  बैकिङ, होटल तथा रेष्टुरेनट, यातायात, खुद्रा व्यापार, भण्डारण,  वित्तिय मध्यस्थता,  रियल स्टेट तथा परामर्श सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत पर्दछन्।

जीडीपीमा कृषि तथा वनको २७.१० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३.२६ प्रतिशत, निर्माण क्षेत्रको ७.६० प्रतिशत  र  विद्युतको १.१९ प्रतिशत योगदान रहने अनुमान छ।

निर्माण, उद्योग र विद्युत्, ग्याँस तथा पानी क्षेत्र पर्ने द्वितीय क्षेत्रको चालू आर्थिक वर्षमा १४.१८ प्रतिशत योगदान हुने अनुमान गरिएको छ

 

 

 

बैशाख १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्