मेरो बाल्यकालमा मेरो फुपुको घर दाङ जिलाको पहाडी भेग तत्कालीन अमृतपुर गाविस हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ ‘अम्बास’ गाउँमा घुमेको याद आउँछ।

दाङ उपत्यका भएकाले चारैतिरबाट पहाडले घेरिएको छ। ती पहाडी इलाकामा गयो भने दाङबाट आएको हो भनेर सोध्छन्। हुन त उनीहरु पनि दंगाली नै हुन् तर उनीहरु दाङ भनेको समथल भूमिमात्र ठान्छन् र आफूलाई पहाडी।

पहाडी इलाका, भिरालो बारीहरु, वर्षायाममा बारीभरि लोभलाग्दा मकैका बोट, लटरम्म फलेका बोडी, फर्सी, भटमास, सिमी, ठूलाठूला काँक्राहरु।

बारीका डिलमा सुन्तला, अनार, र अग्ला अग्ला पहाडी केराका बोटहरु, धेरै सप्रेर हरियोबाट पनि कालो देखिने अदुवाका बोटहरु।

हिउँदमा तोरी, मसुरो, केराउ, मुला, सप्रेका गँहुका गाँजहरु। वरिपरि ठूलाठूला हरिया पहाडका डाँडाहरु, आहा कति सुन्दर थियो त्यो गाउँ। त्यँहा पुग्दामात्र पनि स्वर्गमै पुगिएको जस्तो आनन्द लाग्ने।

महेश आचार्य

प्रत्येक घर -घरमा ४-५ वटा भैँसी, १०-१५ वटा गाईगोरु र बाख्राहरु पालिएका, खेतबारीमा प्रशस्तै पुग्ने तीनै चौपायाको मल। खेतबारीमै प्रांगारिक मल गनाउने।

हरेक घर-घरमा १५-२० वटा मौरीका घार र पहेंलो तोरीबारीमा डुल्ने माहुरीहरु। मह खाने कि दुध, दही खाने कि घ्यु ? पहिले के खाने भनेर अलमलमा पर्थें म  ।

प्यास लाग्दा घरका परिवार मात्र होइन बाटो हिँड्ने बटुवाले समेत पानी माग्दा दहिजस्तो बाक्लो महि पिउन पाँउथे ।  त्यसैले त त्यँहा पुग्न कुनै बहाना मात्र चाहिन्थ्यो मलाई , बस २-३ दिन स्कुल छुट्टी हुनुपर्यो l

बाल्यकालमा घुमेको, खेलेको, उपल्लो पाटाबाट तल्लो पाटामा पल्टेको, अनारका रुख चढ्दा काँडाले कोतरेर हातैभरी घाउ लागेको आदि ईत्यादि यादहरु  मैले कसरि बिर्सन सकुँ ।

हाल मेरो फुपु फुपाजु हुनुहुन्न् । उहाँका छोराहरु तुलसीपुरतिर बसाईं सरिसक्नु भयो । तै पनि मलाई त्यो प्रिय ठाँउको यादले छोडेन । म त्यो गाउँमा फेरि एकपटक पुग्ने अबसरको पर्खाईमा थियँ गत मंगसिरमा सो अवसर पनि जुर्यो ।

पहिले तुलसीपुरबाट सल्यान जाने बसमा चढेर १०-१२ किमि पार गरेपछि सातताले नजिकै हर्नेटी भन्ने ठाँउमा उत्रेर झोलंगे पुलबाट पातुखोला पारि पुगेपछि करिब एकघण्टा ठाडो उकालो हिड्नुपर्थ्यो ।

बिहानको समयमा माथिबाट लस्करै गाउँलेहरु भारी बोकेर वोरालो झर्दै गरेका  हुन्थे । उनीहरु कसैले खुवा(कुरउनी), कसैले घिउ, कसैले दूध दहि त कसैले मह बेच्न तुलसीपुर हिँडेका हुन् ।

कोही कोही भने मकै,गँहु पिसाउन तल पातुखोलामा अबस्थित पानी घट्टमा हिडेका हुन् ।  तरकारी त बोकेर सम्भब हुदैनथ्यो, सकेको खायो बाँकि बारी मै कुहिन्थ्यो, यी तुलनात्मक रुपमा मुल्यावान उत्पादन भने उनीहरु जनतन बजार सम्म पुर्याउने चेस्टा गर्दथे जसले उनीहरुको नुन तेल चल्थ्यो ।

अहिले कच्ची ट्रयाक खुलिसकेको रहेछ । साना- साना जिपहरू र ट्याक्टरहरु कुइरिमन्योल धुलो उडाउदै अम्बास सम्मै पुग्दा रहेछन । म एकजना भाईसंग मोटरसाइकलमा उक्त गाउँ पुग्दा हामी दुवै जना धुलोले सेतै र रातै एक अर्कालाई चिन्न नसक्ने अबस्थामा पुगिसकेका थियौं ।

गाउँ पुग्दा म निराश भएँ । मेरो फुपुको गाउँमा पहिलेको जस्तो पर्यावरण थियन । हिउँदमा ठुला -ठुला मुला र लोभलाग्दो गँहु हुनु पर्ने धेरैजसो बारीका पाटाहरु बाँझै थिए । कतै कतै गँहु र मुला त थिय ति पनी पहिले जस्तो सप्रियका थिएनन्, मल र पानि नपाएर कित्रिक्क परेका देखिन्थे ।

पहिले कालो देखिने माटो अब रातो देखिन्थ्यो । माहुरीका घारहरु लगभग लोप भैसकेछन । धेरै घरका ढोकामा ताल्चा लगाईएका छन् ताल्चामा पनी खिया लागिसकेको छ, आँगन र घरका भित्ताहरुमा झार उम्रिएको देखिन्छ ।

एउटा घरबाट अर्को घर जाने गोरेटोमा घाँस पलाएर पहिल्याउन गाह्रो भैसकेको रहेछ । गाउँपारी बन तिर सुनिने चौपायाको घाँटीमा झुण्डाईएका घन्टी(कोले) को त्यो सुमुधुर आवाज पनी सुनिदैन न त गोठालाहरु” हाहा र हो हो” गरेर करायको, सुसेलेको आवाज नै सुनिन्छ । गाउँ त उजाड भैसकेछ ।

नँया मान्छे आयपछि ढुंगा र माटोले बनेको खरको छानो भयको फुपुको घर ईटाको गारो र जस्ताको छानोमा परिणत भएछ । आँगनमा उभियर मैले त्यो घरलाई नियालें घर पछाडिको गोठ थिएन ।

गाई, भैसी र बाख्रा केहि पनी थिएनन् । भैँसी बाधेको ठाउमा एउटा सुँगुर र एउटा लुरे कुकुर मात्र थियो  । कुकुर हामीलाई देखेर भाग्यो । आफ्नो ज्यान बचाउनु नै त्यसको पहिलो प्रथामिकता रहेछ क्यारे, त्यो फ्याउ फ्याउ भुक्दै बेजोडले कुदेर ३ काल्नामाथि पुग्यो र कान ठाडा -ठाडा बनायर बडो सतर्कतापुर्बक हामीलाई हेरिरह्यो ।

एउटी करिब ७० बर्षकी मंगोलियन अनुहारकी बुढीआमा कराउदै बाहिर आईन ” थुक्क नाथे बाँदर आउदा पनी भाग्छ, मान्छे आउदा पनी भाग्छ, भतुवा कुकुर यसको केहि काम छैन”  बुढी आमाले त्यो कुकुरको थप हैस्यत प्रस्ट पारिन । उनी मेरो फुपुको घर किनेकी नँया मालिक्नी रहिछन् ।

मैले बाल्यकालको फुपुको कुकुर सम्झें । त्यो भोटे कुकुर बाँदर धपाउनको लागि पालिएको थियो । कालो न कालो रंगको बाघ जत्रो ठुलो त्यो कुकुरले मकै खान बारीमा आउने सयौं बाँदरहरुलाई पल्लो डाँडो नपुगुन्जेल लखट्थ्यो ।

एकपटक त्यो भोटेले काठका भाँडाकुँडा आफ्नै हातले बनाएर गाउँमा अन्नसंग साट्न आएको राउटेलाई टोकेको थियो । फुपाजुले राउटेहरुलाई क्षतिपूर्ति बाफत केही पाथी  गँहु दियर फकाई फूल्याई पठाउनु भयको थियो ।

भोटेले टोकेको राउटे आँफै हिडेर जान सकेन, अर्को राउटेले डोकोमा बोकेर लानु परेको थियो । पहिलो पटक कोहि त्यो घरमा आउँदा माथिल्लो डाँडा बाटै चिच्याएर कुकुर बाध्न भन्नु पर्थ्यो ।

दोश्रोपटक आउँदा भने उसले चिनीसकेको हुन्थ्यो, पुच्छर हल्लाएर स्वागत गर्दथ्यो । मलाई पहिलेको पहाडलाई त्यो भोटे कुकुरले र अहिलेको पहाडलाई यो लुते कुकुरले प्रतिनिधित्वो गरेजस्तो लाग्यो ।

नयाँ मालिक्नी जुम्लाबाट बसाई सरेर त्यहाँ आयकि रैछन् । एकमात्र छोरा कतारमा, बुहारी छोरा पढाउने भन्दै तुलसीपुरमा डेरा गरि बस्दि रैछन । पहाडको त्यो घरमा बुडाबुढी मात्र । सधै दैलो नटेक्दै दहि जस्तो बाक्लो महि पिउने यस घरबाट मैले योपाली एक गिलास पानी पियर निस्किएँ ।

फुपुको घरदेखि तल घर्तीको घर थियो हामी उनलाई घर्ति बाजे भन्थ्यौ । उनका छोरा छोरी सबैले मलाई चिन्थे म त्यो घरमा छिरेँ त्यसको हालपनि फुपुको घरजस्तै भैसके छ ।

घर्ति बाजे त अब रहेनछन तर म बालक हुँदा लक्का जवान घर्तिबाजेका छोरा आगनमा बाँसको चोयाँबाट डोको बुन्दै थिय अब उनि पहिला जस्तो लक्का जवान होइन ५५ -६० बर्षे बुढो भैसकेका रहेछन् ।

लामो नालीबेली सुनाय पछिमात्र उनले मलाई चिने, डोको बुन्न छोडेर जुरुक्क उठे अनि मेरो पाखुरो समातेर खुशी हुँदै भने “जुग पछि आइछस त कान्छा हाम्रो गाउँमा, तेरा दाई भाउजु त दाङ्ग झरिसके केरे कसलाई भेट्न आइस त ? “

” तपाईलाई र यो गाउँलाई भेट्न आको नि अङ्कल । के छ हालखबर ?”

” यस्तो दुखारी गाउँमा बस्नेको के हालखबर हुन्छ र कान्छा ? सक्ने ले गाउँ छोडेर तराई झरे हामि नसक्ने दुई चार घर काल कुरेर बस्या छौ ”  उनको अभिव्यक्तिमा पहाडको निराशा प्रस्ट देखिन्थ्यो ।

हामीलाई अङ्कल ले खाना खाने अफर गरे । कुरा गर्दै खाना खान थालियो । खानामा उहिले जस्तो दुध, दहि, महि, घ्यु वा मह केहि पनि थिएन । सुख्खा दाल, भात र तरकारी ।

अङ्कल भन्दै छन् ” तिमि बालख हुदा फुपुकाँ खाको जस्तो खान्की छैन केरे कान्छा, यहि चामल तरकारी पनि बजार बाट ल्याउने हो । भाको जग्गा पनि बाँझै छ । खेतीपाती गर्न छोडिसके सबैले । सबै विदेश नै जान्छन् ।

मेरा पनि दुइवोटै छोरा विदेश छन् जेठो मलेसिया छ कान्छो कुवेत छ । बुहारीहरू बच्चा पढाउन बजार बस्छन । हिजो जेठो छोरो ले मलेसियाबाट पैसा आईएमई गर्देओ रैछ लिन बजार गयओ थें आउँदा लेराको हुँ यो तरकारी पनि” ।

खिन्न मुद्रामा मैले उनको घर नियालें । चुलोमा पहिले जस्तो हर्हर्ती दाउराको आगो होइन ग्यास बलिरहेको थियो । घरभित्र धानको भकारी हुनुपर्ने ठाउमा एउटा चामलको बोरामात्र थियो त्यसमा लेखिएको थियो ” उर्मिला ब्रान्ड चामल, मेड इन इंडिया ।”

पहाडका ति उर्बर भूमि बाँझै छन्, जंगलमा दाउरा कुहियर माटो बनेको छ । भान्छामा पाक्ने चामल देखि पकाउने ग्याँस सम्म ईन्डियाबाट आउँछ । यस्तो लाग्दछ हामी हिउँको थुप्रोमा बसेर पनि बरफ किनेर खाइरहेका छौं ।

गाउँमा काम गर्न नसक्ने बुढाखाँडा मात्र छन्, अघि पछि खेतबारी र बनपात तिर देखिने गाउले अब घरभित्र सीमित छन् । धेरैजसो घरमा बरु टि.भी.छन्,डिसहोमको एन्टिना पनि लगाइएका छन् । हातहातमा मोबाईल पनि छन् । यी सबै खर्च खाडिले धानेको छ । यसलाई म विकास भनौ कि विनास ? छुट्याउन कठिन भयो ।

पहाडका उर्बर बारी जंगलमा परिणत हुने, तराईका उर्बर खेत घडेरीमा परिणत हुने क्रम तिब्र रुपमा बढ्दो छ ।

यो समस्या दाङ्ग जिल्लाको मात्र पक्कै होइन । तुलनात्मक रुपमा धेरै जिल्ला भन्दा बिकशित मानिने दाङ्ग जिल्लामै उपमहानगरपालिका भित्र पर्ने गाउँको अबस्था यस्तो छ भने देशका दूरदराजको अवस्था झन् कस्तो होला ? कल्पना गर्न सकिन्छ ।

पहाड खाली भैसक्यो । यसलाई रोक्न राज्यले कुनै नीति ल्याउन जरुरि ठानेको छैन । त्यति मात्र होइन राज्यले विभिन्न  राजनैतिक निर्णय लिँदा पहाड र हिमाललाई जानाजान ठगेको छ । तराईका २-४ प्रतिशत जनताको माग अनुसार पहाड र हिमालका निर्बाचन क्षेत्र घटाउदै तराइमा थप्दै गरेको छ ।

नेपालको हिमाल र पहाडमा गरी ५५ वोटा जिल्लामा प्रतिनिधि सभा तर्फ ८३ निर्बाचन क्षेत्र र प्रदेश सभा तर्फ १६६ निर्बाचन क्षेत्र छन् । जबकी तराईका २० जिल्लामा ८२ र १६४ क्रमस प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

तराई नेपालको जम्मा भूमिको १७ प्रतिशत भुमि हो भने हिमाल पहाड ८३ प्रतिशत । अब माथि निर्धारित निर्बाचन क्षेत्रले कसलाई न्याय र कसलाई अन्याय गरेको छ डाटा आफै बोलिरहेको छ ।

प्रदेशहरुको मुकाम तोक्ने काममा समेत राज्यले पहाडलाई अन्याय गरेको छ । सात प्रदेशमध्ये पाँच प्रदेशको राजधानी तराईमा तोकियो । दुईवटा सुर्खेत र पोखरा मात्र पहाडमा तोकिएका मुकामहरु हुन जँहा तराइमा तोकिने विकल्प नै थिएन । यदि विकल्प हुन्थे भने यी दुइ प्रदेशका मुकाम पनि तराई मै तोकिन्थे होला । संका गर्ने आधार छ ।

यस्ता व्यवहारहरु हेर्दा राज्यले पहाडलाई माँया मारेकै हो कि जस्तो देखिन्छ । निर्वाचन क्षेत्र घटाउदै जानु र प्रदेशका मुकामहरु पनि तराईमै राख्नुले सरकारले हिमाल र पहाडमा बस्ने जनतालाई ” तिमीहरु पनि अब तराईतिरै झर्दै गर ” भन्न खोजेको भान हुन्छ । के सिंगो राष्ट्रका जनतालाई १७ प्रतिशत भूमिमा कोचेर बाँकि ८३ प्रतिशत भुमि उजाड बनाउनु न्यायोचित र दुरगामी होला ?

बैशाख १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्