सिन्धुपाल्चोकको बाँसखर्कस्थित भूकम्पपीडितको टहरामा खेल्‍दै एक बालक। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

सिन्धुपाल्चोक-  हिँडिरहेका साना बच्चा उडाउला झैं हावा चलिरहेको छ। वरिपरि रहेका छाप्रा–टहराहरुमाथि बाक्लोसँग मोटामोटा दाउराहरु तेर्स्याइएका छन्। हावाको वेगले सडकबाट धुलो उडाएर टहराभित्रसम्मै पुर्‍याईदिन्छ। छानामा ओडाएका त्रिपाल च्यातिने गरी चल्ने हावाले पातपतिंगरलाई झै जिन्दगीलाई कता पुर्‍याईदिने निश्चित छैन।

आठ नौ जनासम्म बस्‍ने एउटा टहराबाट जिन्दगी यसरी नै चलिरहेको छ, विगत तीन वर्षदेखि। पारी पहाडको भित्तामा टाँसिएका आफ्ना जमिन हेर्दै स्थानीय दिनहुँ सपना देख्छन्–एक दिन हाम्रो आफ्नै घर हुने छ अनि यो पीडाबाट मुक्त पाउनेछौं।

सेलाङ, सिन्धुपाल्चोकको बाँसखर्क तीन वर्षअघिको भूकम्पपछि विस्थापितका लागि आश्रयस्थल बन्यो। केहीसम्म र ठूला पहाडको फेद नपर्ने भएकोले आसपासका अधिकांश यही ठाउँमा आएर बसे।

त्यसबेलासम्म त्यहाँ घना जङ्गल थियो, मानिसहरु एक्लैदुक्लै हिँड्न समेत डराउँथे। तर भूकम्पले वेवारिसे भएका त्यतिबेलाका सेलाङ गाविसका विभिन्‍न वडाका बासिन्दाले त्यही जङ्गलको एक छेउ फाँडेर टहरा ठड्याए।

विगतको केही महिनाभित्र मात्र जङ्गली जनावरले २०/२५ वटा बाख्रा र चार वटा गाई खाईसकेका छन्। तर पनि यस ठाउँमा अहिले पनि करिव एक सय परिवार टहरामा बसिरहेको छ, ठुलो दुख र त्रासबीच।

सिन्धुपाल्चोकको बाँसखर्कस्थित भूकम्पपीडितको टहरामा खेल्‍दै एक बालक। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

‘सरकारले कहिलेसम्म घर बनाई दिन्छन् भनेर पर्खिरहेका छौं, कुर्न सकुन्जेल कुर्छौै । यत्रो वर्ष कुरियो, चार पाँच वर्ष त हेरियो, केही भएन भने आफन्त खोज्दै हिँडौंला ’, करिब दुई किलोमिटर टाढाको दूरीमा रहेको आफ्नो घर भत्किएपछि परिवारसहित टहरामा बसिरहेका अर्जुन थापाले भनेँ, ‘पुरानै ठाउँमा गएर घर बनाउने अवस्था छैन। अरु ठाउँमा बनाउन आफ्नो जग्गा छैन।’ अर्जुन र उनका छोराका परिवारहरु अहिले बासखर्कमै आश्रय लिईरहेका छन्।

पानी पर्दा छानामा टाँगेकाे पाल चुहिएर बस्‍नै नसकिने अवस्था छ,  बालबच्चासमेत विरामी हुने  दु:ख अर्कै। भूकम्प गएको केही महिनापछि राहत दिनले समेत त्यहाँ पाइला पार्न छाडि सकेका छन्।

‘बालबच्चा विरामी हुन्छन्, अस्पताल लग्यो डाक्टरले गाली गर्छन् , ‘किन बालबच्चाको स्याहार नगरेको भनेर । बालबच्चालाई खान नदिई पनि भएन, काम गर्न जाने ठाउँ पनि छैन’ बासखर्कका सानो चउरको एक छेउमा बनाईएको घरको किनारैमा बसेर अर्जुन बोलिरहेका थिए। सरकारको भर नदेखेपछि केहीले आफ्नै सुर कसिसकेका छन्। तर अर्जुनजस्तै धेरै परिवार अहिले पनि त्रिपाल र जस्ताको भरमा ओत लागिरहेको छ।

‘तर, हामी कहाँ जाने। भूकम्पले गर्दा भत्किएको घरको आसपासमा अहिले पहिरो गईरहेको छ। अब त्यहाँ गएर घर बनाउँदा भोली पहिरो गयो भने?’ सात जनाको परिवारसहित बासखर्कमा बसिरहेका २४ वर्षीय सन्तोष थापा भन्छन्। त्यहाँ रहेका हरेक परिवारले जङ्गल फाँडेर बारी बनाएका छन्। ती बारी अहिले मकै, आलुलगायतका बालीले ढाकेका छन्।

मूलबाटाेदेखि २० मिटर तल ओर्लिएपछि भीमबहादुर तामाङ पिँढीमा बसेर अगाडिको सेप गाउँ हेर्दै टोलाईरहेको देखिए। सेप गाउँ त्यही गाउँ, जहाँ उनको पुस्तौं हुर्किएको थियो। भूकम्पमा उनले आफ्नो एकमात्र छोरा त्यही गुमाएका थिए। पहाडको भित्तामा देखिने सेप गाउँ अहिले नाङ्गै देखिन्छ ।कतै कतै टहराहरु देखिन्छन् ।

दुई खोलाको बीचमा रहेको यो पहाडको भित्ता भूकम्पले कैयौ ठाउँ चिरिएको छ। माथिबाट ढुङ्गा कतिबेला झर्छ, निश्‍चित छैन। सेप गाउँमा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो। विस्थापित अधिकांश त्यस ठाउँमा जान सकेका छैनन्। त्यहाँबाट विस्थापित उनीहरु यही बासखर्क र नजिकै रहेको काप्ले गाउँमा बसिरहेका छन्। केही सेप गाउँमा रहेको खेतमा काम गर्छन र साँझ काप्ले गाउँ र बासखर्क फर्कन्छन्। काम गर्दा अबेर भए बस्‍न त्‍यहीँ टहरा बनाएका छन्।

‘त्यो ज्यानमारा ठाउँमा के जानू ? त्यति नराम्रो ठाउँ !’ सेप गाउँमा करिब ५० रोपनी जग्गा भएपनि हाल त्यो हेर्दै कस्टकर जिवनयापन गरिरहेका ३८ वर्षीय भीमले भने। भूकम्पअघि एक छाेरा र चार छाेरीका  पिता भीम एक वर्षअघि मात्र थप एक छाेरीका बाबु बनेका छन्। ‘सरकारले दियाे भने यतै बस्‍ने भनेको । अहिलेसम्म केही कुरा आएको छैन। दिने भन्‍ने पनि आएको छैन , दिन्‍न भन्‍ने पनि आएको छैन’ , भीम अन्योलमा छन्।

बासखर्कबाट काप्ले गाउँ पुग्दासम्म बीचमा प्रशस्तै टहरा भेटिन्छन्। घरभित्र मानिसहरुको गुनगुन निकै बाहिरसम्म सुनिन्छ। सडक उत्तिकै अप्ठेरा र धुलाम्मे छन्। काप्ले गाउँ पुगेपछि केही मानिस घर बनाउन व्‍यस्त देखिन्छन्। उनीहरु गाह्रो उठाईरहेका छन्।

चार पाँच जनाको स‌ंख्यामा रहेका उनीहरु हतारमा देखिन्छन्। बुझ्दा, उनीहरु सेप गाउँकै विस्थापित रहेछन्। भूकम्पपछि उनीहरु पनि बासखर्कमै विस्थापित थिए। एक वर्षपछि केही परिवार आफन्तको जग्गा मागेर यस ठाउँमा सरे।

उनीहरुले सुनेँ – सरकारले उनीहरुलाई जग्गा दिने छैन। ६ परिवार मिलेर आफूले आश्रय लिईरहेकै जग्गा गत वर्ष आठ लाखमा किने। अहिले टहराकै नजिक धमाधम घरकाे गाह्रो उठाईरहेका छन्। उनीहरुलाई थाहा छैन, यस घर बनाएबापत उनीहरुले सरकारी अनुदान पाउँछन्/पाउँदैनन्। अरु जस्तै उनीहरु पनि पारी डाडाँमा देखिने सेप गाउँ हेर्दै दिनचर्या बिताउँछन्। ‘त्यहाँ गएर बस्‍न सँकिदैन । सरकारले जग्गा दिएन। त्यसैले आफैले बनाउन सुरु गरेको’ भूकम्पमा एक छोरा गुमाएका जितबहादुर तामाङले भने। उनीहरुलाई काममा सघाईरहेका तिलकाजी तामाङ भने बासखर्कमै टहरामा बस्छन्। उनको घर कहिले र कसले बनाइदिन्छ,  टुंगो छैन। भूकम्पमा माइलो छोरा गुमाएका तिलकाजी सरकारकै मुख हेरिरहेका छन्।

घर बनाइरहेको नजिकै एउटा लामाे टहरामा ताल्चा लगाईएको छ। बुझ्दा, सेप गाउँबाटै विस्थापित बजियारसिंह तामाङको टहरा रहेछ। भूकम्पमा तीन जना सदस्य गुमाएकाे बजियारसिंहको परिवार केही समय सेप गाउँ र केही समय यस टहरामा बस्छ। ‘परिवार पाल्न खेतीपाति गर्नै पर्‍यो। उनीहरु सेप गाउँमा रहेको खेतमा काम गर्छन् र उतै बस्छन्। यता पनि आइरहन्छन्’, ताल्चा लगाईएको त्यस टहरातर्फ हेर्दै जित बोले।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, सिन्धुपाल्चोकका अनुसार जिल्लामा भूकम्प पीडित परिवारको संख्या ८३ हजार ६ सय ६३ छ। यसमध्ये ७८ हजार पाँच सय ३७ सँग पहिलो किस्ताको सम्झौता भएकामा ६६ हजार एक सय ४५ ले पहिलो किस्ता लिएका छन्।

यसैगरी ६२ हजार एक सय ५१ लाई दोस्रो किस्ताको सिफारिस र करिब १४ हजारलाई तेस्रो किस्ताको समेत सिफारिस भइसकेको छ। प्राधिकरणले पुननिर्माणका लागि पहिलो किस्तामा ५० हजार , दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ गरी कुल तीन लाख रुपैयाँ गराउने व्यवस्था छ।

जग्गा समेत नभएका वा पुरानो ठाउँमा जानै नसक्नेलाई सरकारले  जग्गा किन्‍न दुई लाख रुपैयाँ दिने गर्दछ। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, सिन्धुपाल्चोकका निमित्त प्रमुख टंक गौतमले जिल्लामा सरकारले जग्गा किन्‍न पैसा दिनुपर्ने लाभग्राहीको स‌ंख्या ६ सय ९४ रहेको र तीमध्ये एक सय ३० परिवारसँग सम्झौता समेत भईसकेको बताए। उनले सेलाङमा एकिकृत बस्ती निर्माणको तयारी भईरहेकाे बताउँदै जग्गा नभएका र एकिकृत बस्तीमा बस्न चाहनेलाई त्यहाँ समेटिने जानकारी दिए ।

वास्तविक पीडित यो अवसरबाट छुटदैनन् किनभने यसको निर्णय जनप्रतिनिधिले गर्छन्। हामीले स्थानिय निकायलाई एकिकृत बस्तीमा रहन चाहने वास्तविक पीडित र आवश्यक जग्गाबारे निर्णय गरेर पठाउन पत्राचार गरेका छौं’, गौतमले भने।

बैशाख १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्