दवाबपछि ओली-दाहाल फेरि गोप्य स्थलमा !

फाइल फोटो।

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले बिहीबार अलगअलग अविव्यक्ति दिए पनि पार्टी एकीकरण गर्नैै पर्ने दवाब थेग्‍न नसकेपछि त्यसको छिनोफानो गर्न उनीहरु भोलि (शुक्रबार) गोप्य स्थलमा पुगेर वार्ता गर्ने भएका छन्।

श्रोतकाअनुसार त्यही गोप्य वार्ताबाट अन्तिम तथा विस्तृत समझदारी निर्माण गरी त्यसलाई व्यवहारिकरुप दिन पार्टी एकता संयोजन समितिलाई जिम्मा दिने तयारी पनि ओली र दाहालले गरेका छन्।

त्यसका लागि शनिबार साँझसम्म उक्त समितिको बैठक डाक्ने तयारी ओली र दाहालले गरेको श्रोत बताउँछ।  उनीहरुबीच पार्टी एकीकरणका लागि गाँठो परेका विषय एकीकृत पार्टीको महाधिवेशनअघि दुवै कार्यकारी अध्यक्ष बन्‍ने, पार्टीको केन्द्रीय कमिटीहरुमा बराबरी नभएपनि हाराहारीमा दुवै पार्टीका नेताहरुको उपस्थिती गराउने लगायमा मौखिक समझदारी बनिसकेको श्रोतको दाबी छ।

एकीकृत पार्टीको महाधिवेशनपछि पनि कार्यकारी नेतृत्वको निरन्तरताको सुनिश्चितताको माग गर्दै आएका माओवादी अध्यक्ष दाहाललाई त्यो माग अहिलेलाई थाँती राख्‍न र एकीकरण प्रक्रिया अघि बढाउन पार्टी भित्रैबाट दवाव बढेको छ। पार्टी एकीकरण नभएमा जनमतको खिल्ली उड्ने र मुलुक फेरी राजनीतिक अस्थिरतातर्फ धकेलिने भन्दै दाहलालाई माओवादी केन्द्र शीर्ष नेताहरुले दवाव दिन थालेका छन्।

ओलीमाथि पनि एमालेबाट पार्टी एकीकरण जसरी पनि गर्नु पर्ने तर आफ्नो पार्टीको हैसियत पृष्ठभूमिलाई हेरेर माओवादीको केही भन्दा माथि नै हुनु पर्ने दवाब छ। प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले बिहीबार एकीकरणलाई लिएर भिन्‍नभिन्‍न कार्यक्रममा अलगअलग अभिव्यक्ति दिएर चर्चामा आएका थिए।

प्रधानमन्त्री ओलीले पार्टी एकता गर्दा विचार, अगाडिको अभिभारा र देशका जनताप्रतिको कर्तव्यको चर्चा भन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ र हामी कहाँ हुन्छौं भन्ने विषयले अनावश्यक चर्चा पाउँदा त्यसले समय लिएको बताएका थिए।

त्यसअघि रौतहटको चन्द्रपुरमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिंगो देशले एकता चाहेको भएपनि सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न चुनौती देखिएको बताएका थिए। ओली र दाहालका ती अभिव्यक्तिले फेरी पनि पार्टी एकीकरणमा धक्का लाग्ने आशंकामा दुवै पार्टीका नेताहरु परेका थिए।

बैशाख १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्