काठमाडौं- साढे ३३ केजी अबैध सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयद्धारा गठित छानबिन समितीले बयानका लागि बाेलाएका महानगरिय प्रहरी अपराध महाशाखाका नायब निरिक्षक-सई गजेन्द्र रावल शुक्रबारदेखी काममा फर्किएका छन्।

उनी महाशाखाको नियमित काममा फर्किएका हुन्। यसअघि रावल पनि छानबिनमा तानिएको र पक्राउ परेको समाचार सार्वजनिक भएका थिए।

तर घटनामा रावलको कुनै सम्बन्ध नरहेको भन्दै उनलाई नियमित काममा फर्काएको छानबिन समिती स्रोतले जनाएको छ। उक्त प्रकरणमा महाशाखाकै सई बालकृष्ण सन्जेलविरुद्ध पनि मुद्धा चलिसकेको छ।

आफुविरुद्ध अनर्गल प्रचार भएको र बयानका लागि मात्र बोलाएकोमा पक्राउ गरिएको भनेर समाचार बाहिर आएकामा रावलले शुक्रबार महाशाखा आएर साथीहरुसँग दुख ब्यक्त गरेका थिए। रावल अपराध अनुसन्धानको प्रविधिगत क्षेत्रमा निपुर्ण मानिन्छन्।

साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा एक पुर्व डीआईजीसहित चार जना प्रहरी अधिकारीविरुद्ध मुद्धा दर्ता भईसकेको छ। गृहमन्त्रालयद्धारा गठित छानबिन समितीले तीन दर्जनभन्दा बढीलाई विपक्ष बनाएर अनुसन्धान गरिरहेको छ। स‌ंगठित अपराधमा अनुसन्धान भईरहेको यस प्रकरणमा केही दिनभित्रै सरकारी वकिललाई मिसिल बुझाउने तयारी भईरहेको छ।

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्