नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने, ‘टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घण्टा सेवा कर्मचारी खट्नुपर्ने र त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिए।

टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाए। “यस कामका बारेमा गुनासा आएका छन्। यसको काम जहाँ पुगेको छ त्यहीँ रोक्नुहोस्”, प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला।”

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए। “टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन्”, उहाँले भन्नुभयो, “त्यस्तो हुनु भएन। सेवामा सुधार गर्नुहोस्।”

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरे। “सेवा सुधारको प्रस्ताव ल्याउनुहोस्, चुहावटको प्रस्ताव ल्याउनुहोस्”, प्रधानमन्त्री ओलीले भने, ‘अनियमितता नगर्नुहोस् । गर्नेलाई नछोड्नुहोस् ।”

छलफलमा प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति थियो ।

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्