ब्लग

जाउँला जुम्ला ल्याउँला ओखर, आरु, स्याउ, सिमीका कुम्ला

जुम्ला प्राकृतिक रुपमा सुन्दर त यसै छ नै त्यसमा पनि जैविक विविधताको धनि पनि छ । भाषा, संस्कृति र सभ्यताको केन्द्रका साथै गौरवपूर्ण विगतको इतिहास बोकेको पनि छ । हुन त हरेक क्षेत्रका आ–आफ्नै विशेषता, इतिहास र गौरवका गाथा सँगैै पीडा र दुःख पनि हुन्छन् नै ।

यो क्षेत्र मध्यकालिन सिंजा साम्राज्यको गौरवको विरासतको इतिहास, वौद्ध र हिन्दु धर्मको अनुपम् संगम, नेपाली भाषाको जननिका साथै वर्तमान र भविश्यको आशा लाग्दो उज्यालो बोकेको भूगोल पनि हो ।

देशकै सबैभन्दा ठूलो ताल रारा यहि जिल्लाको शिरानमा पर्दछ । जहाँ पुग्न नेपाली भाषा, सँस्कृति र सभ्यताको केन्द्र सिंजा उपत्यका छिचोलेर मुगु पुग्नु पर्ने हुन्छ । रारा तालको सौन्दर्यमा डुवुल्कि मारेर बारौं शताब्दि तिर विश्कै उच्च स्थानमा फल्ने कालिमार्सि धानको खेति गर्न सिकाउने सिद्ध पुरुष चन्दनाथ बाबाको मन्दिर जुम्लाको खलंगा बजारमा सजिलै दर्शन गरेर फर्किन सकिन्छ ।

ऋतुहरूका राजा वसन्त त्यसमा पनि चैतको अन्तिम साता देखि वैशाखको २० सम्म यस धर्तिमा स्याउ, आरू र ओखर फुल्ने समय हो यहाँका पाखोवारिमा यी विरुवाहरूका फुलहरूले सुगन्ध फैलाई रहेका हुन्छन् ।

तिब्वतमा स्याउ र आरू फुल्ने समयमा तिब्वतीहरू ‘Peach and Apple Blossoming festival: Smell the spring in TibetÚ’ सोलोगन दिएर उत्सव नै मनाउँने गर्दछन् । हामि जुम्लीले पनि यस्तै नारा दिएर उत्सव मनाउन सक्छौं । आन्तरिक र वाह्यि पर्यटक भित्राउन सक्छौं ।

२०२४ साल आसपास तिर जुम्लामा स्याउका विरुवाहरू भित्रियका हुन् भन्छन् यहाँका बुढापाकाहरू खासगरी खलंगा बजार आसपास र केहि गाउँतिर केहि बाठा मान्छेहरूले घर आगनमा दुई चार बोट लगाएका थिए । यसले विस्तारीतरुप लिएको थिएन । विशेषगरि जुम्ला सम्म २०६१ सालमा ट्रायाक रोड खुलेपछि मात्र यहाँका किसानहरूले ओखर र स्याउ लगाउन तिव्रता दिएको देखिन्छ ।

२०७३/०७४ को जिल्ला कृषि विकास कार्यालयको रेकर्ड हेर्ने हो भने ३४५० हेक्टर जमिनमा स्याउ खेति लगाएको देखाउँछ । वास्तवमा यो गणना प्राविधिक रुपमा मात्र गणाना गरेको देखिन्छ । यस जिल्लाको विभिन्न गाउँ र वस्तिहरूका पाखोबारीमा स्याउ लगाएको तिव्रता देख्दा यो रकर्डमा भएको भन्दा दोब्वर जमिनमा लगाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । सोहि आर्थिक वर्षमा जुम्लाले ५५०० मेट्रिक टन स्याउ उत्पादन गरेको र १६ करोडको ताजा र पाङ्गारिक २३५० मेट्रिक टन स्याउ निर्यात गरेको छ ।

त्यस्तै १९५५ मेट्रिक टन सिमि उत्पादन गरेर १७ करोड ५५ लाखको सिमि, १३५७ मेट्रिक टन ३ करोड ३९ लाखको आलु, ७ टन काली मार्सिधानको चामल, १० लाख ५० हजार र २ लाख ४० हजारको ५टन जौ पशुपतिनाथ मन्दिरमा निर्यात गरेको देखिन्छ ।

२६४३५ हेक्टर जमिनमा खेति गरिएको भए पनि सिंचित क्षेत्रफल केबल ३२६९ हेक्टर मात्र छ । यसबाट के देखिन्छ भने यहाँको भूगोमा जता ततै नजिकबाट नदिहरू बगेर गएको भए पनि सिचाई पुर्‍याउन सकिएको छैन ।

२०६४ सालमा जिल्ला विकास समितिको १४ औं जिल्ला परिषद्ले रासायनिक मल र रासायनिक विषादि मुक्त जिल्लाको रुपमा नीतिगत निर्णय गरेको छ । यसै त जाडोमा फल्ने यहाँको स्याउलगायत अन्य तरकारीलगायत खाद्यान्न उच्च र स्वस्थ कोटीहुनुका साथै पोषणतत्व वढि नै हुने गर्दछ ।

जिल्ला कृषि विकास कार्यालयको एक घर एक वगैंचा स्थापना गर्ने उदेश्य र गत साल मात्र लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागु भएको छ । यसकोे प्रभावपकारी कार्यन्वयन र प्रयाप्त बजेट नभएको देखिए पनि यसले किसानहरूलाई स्याउ, ओखर र सिमि खेति गर्न पे्ररित गरेको देखिन्छ ।

उत्पादन गरेर मात्र हुँदैन । सरकार र सम्वन्धित निकायहरूले यस क्षेत्रमा सिंचाई, समयमा नै पाँङ्गारिक मलको उपलब्धता र बनाउने वैज्ञानिक तरिका सिकाउने, संकलन केन्द्रहरूको स्थापना, कृषि विमा, किसानले उत्पादन गरेको उत्पादनको उचित मूल्यमा विक्रि गर्न बजारिकरण व्यवस्थापन आदिको सुनिश्चता गरिदिनु पर्दछ । ‘Nothing goes right if Agriculture goes wrong’ भन्ने भनाईले सार्थकता पाउन ।

यहाँका वस्तिहरुको विन्यास पनि गजबले मिलायर वसाइएको छ । घरहरू माटोको दाडा (छत) समथर खालका छन् । तर आज–भोली राज्य र स्थानियको कमजोरीका कारण यो आफ्नो मौलिकपना हराउँदै जान थालेका छन् । आधुनिकताको नाममा केहि विकृतिहरू पनि निम्तिरहेका छन् । तल नदी, नदीको आसपास जिउलो (खेत) त्यसभन्दा माथि घर घरवरिपरी पाखो वारी, त्यसभन्दा वरपर जंगल र जंगलभन्दा माथि साना ठूला चिटिक्क मिलेका पाटन (घाँस मैदानी चरण क्षेत्र) यो क्षेत्र जडीबुटी क्षेत्रको भण्डार पनि हो ।

‘पुर्सो डाँफे इजर खन्दो माउँ डाँफे जिल्याउँदो’
‘चैतकी चाखुरी जन किन ढुल्छै मन’

भन्ने लोकयोक्ति परापूर्वकाल देखि आजपर्यन्त चलनचल्तिमा छन् । यहाँका पारखोवारी र पाटन तिर च्याखुरा र डाँफेहरू वसन्तको क्रितुसँगै नाचि खेलि रहेका देखिन्छन् । तर दुःखको कुरा आजका लोभिपापी मानिसका कारण तिव्ररुपमा मासिदै गैरहेका छन् । कर्णालीमा हजारौं किसिमका जडीबुटी र झारपातहरू पाइन्छन् । हिजोका हाम्रा पूर्खाहरूले प्रयोग गदै आएका थिए आज हामिले कति त विर्सि पनि सक्यौं । पुन पहिचान गरौं । चासो राखौं । खोजौं र प्रयोग गरौं र अरुलाई पनि गर्न लगाउँ । योगी नरहरिनाथले भन्नु भएको छ त्यस्तो कुनै बोट र बुट्टयान छैन जसम कुनै औषधिको गुण नभएको नहोस् ।
अमिलो वा चुक साँदेर खाएको त हामी सबै नेपालीले देखे सुनेकै होउँला तर हिउँ साँदेर खाएको सायदै कमैलाई थाहा होला । चैत वैशाखमा यहाँका मानिसहरू घर गाउँ भन्दा टाडा लेखका खोल्सा खोल्सिमा पुस–माघमा परेको त्यो वासी हिउँ ल्याएर नुन, खुर्सानी र गुलियो हालेर साँदेर खान्छन् । जुन हिउँ खाँदा औषधिको रुपमा काम गर्छ भन्ने मान्यता र विश्वास छ । पंतिकारले पनि यस पटक मजैले साँदेर खायो ।

खाद्यान्नमा– चौं, गहुँ, उवा, चिनु, कागुनु, फापर, कालिमार्सि धान पर्दछन् । तेलहनमा सायद यहाँको जस्तो परिकार अन्त छैन होला । तेलहनमा– तोरी, ओखर, आरु, ढँटेलो, भाँगोबाट तेल बनाइन्छ । खानमिल्ने र औषधिजन्य च्याउ – घुच्चि, फयात्का, पिर्य, नगे्र, रातो च्याउ, ख्रसु च्याउ, देखि लिएर यार्चा गुम्बु लगायतका च्याउहरू पाइन्छ जसको मुल्य हजार देखि लाखौं रुपियांसम्म पर्दछ । यस्तै अनेत्र नपाइने औषद्यिजन्य सयौं किसिमका तरकारी र जंगलि सागपातहरू पाईन्छ । यी विभिन्नप्रकारका चिजहरूको उचित संरक्षणका साथै अनधिकृतरुपमा संकलनको कारण र वातावरणिय प्रभाले दिनप्रतिदिन कमहुँदैगैरहेका छन् ।

यस्तो भूस्वर्गमा वसेका जुम्ली भाग्यमानी नै हुन् मध्यकालिन सिंजा साम्राज्यको वैभव र विरासतलाई छोड्ने हो भने विगत र वर्तमानमा जुम्लीवासीले धेरै दुःख र पीडा भोग्नु प¥यो र परेको छ । जुम्लीका भावी दिन सुनौला नै देखिन्छन् तर हामीहरूले केहि आफैलाई सुधार्नु छ । सकारात्मक सोचको विकास गर्नुछ । आफ्नो त्यो गौरवमय विरासत र वैभवको इतिहासलाई सम्झना र अनुसरण गर्नु पर्र्छ । राज्यले त्यो अनुरुपको उचित नीति निर्माण, योजना र बजेटकासाथ अभिभावकत्व निर्भाह गर्नु पर्ने छ ।

नेपालका प्राय वस्तिहरूका जमिनहरू वाँजा रुखा र सुखा हुँदै गैरहेको छन् । यूवाहरूमा वाध्यता र विवशताकाले विदेश वा खाडिमुलुक तिर जाने डरलाग्दो सँस्कृतिको विकासभएको छ । कर्णालीमा खासै १० वर्षपहिला सम्म खाडीमुलुक जाने भन्ने कुरा थाहानै थिएन भन्दा पनि हुन्छ । आज यो विवशता र सँस्कृति यतातिर पनि सरेको छ ।

हाम्रा केही राजनीतिक दलहरू प्रजातान्त्रित समाजवाद र खुला अर्थतन्त्रको नाममा विगतमा स्थापित र राम्रो नतिजा प्रधान गरिरहेका ठूला उद्योग(चीनि, चामल, कपडा, जुट, जुत्ता, कृषि औजार, वायू सेवा, ट्रलि बस) आदि उद्योगलाई निजिकरणका नाममा टाट पल्टाउने काम गरे । साना घरेलु उद्योगहरू प्नि क्रमश विस्तापीत हुँदै र विदेशी बस्तु र सेवाहरू स्थापित हुँदै गैरहेका छन् । विदेशि उत्पादन समक्ष टिक्न सकेनन् राज्य अभिभावक विहिन वन्दा । बढ्दो बेरोजगारी समस्याको समाधान कसरी निस्कने भयो । राष्ट्र र राज्य सक्षम र बलियो कसरी बन्छ ।

यस्तै केही राजनीतिक दलहरू माक्र्सवाद र माओवाद जिन्दावाद ! सम्राज्यवाद र विस्तारवाद मुर्दावाद ! भन्ने कोरा नारा लगाउँन मै मस्त छन् । माक्र्सले त आफ्नै माक्र्सवाद बनाउँने भनेका छन् । आफ्नै माक्र्सवाद भनेको आफ्नो देश, काल, परिस्थिति अनुरुपको आफ्नो पन र मन भएको, धरातल र जगमा खुट्टा अडायको समाजिक, आर्थिक राजनीति, अर्थ राजनीति, नीति, बजेट र योजना निर्माण गरेर लागु गर्नु हो ।

हामीले विश्व नियालौं, हेरौ, पढौं र प्रविधि सिकौं । अभिभावकहरूले आफना छोरा छोरीहरूलाई आफुलाई चिन्न, आफ्नो पनलाई माज्दै नराम्रालाई हटाएर राम्रा कुराहरूलाई अंगाल्दै जान प्रेरित गरौं । आफ्नो देश बुझ्न र घुम्न प्रेरित गरौं । शिक्षालय र शिक्षकले जुम्ला जस्ता गाउँ ठाउँ भ्रमण गराउन हौसला प्रदान गरम् । प्राध्यापक र अनुसन्धान कर्ताले यस्ता ठाउँको सामाजिक, साँस्कृतिक, आर्थिक क्षेत्रको अनुसन्धान गर्न र गराउन पे्ररित गराउँ वा बाटो देखाई दिउँ । स्थानिय अनुभवको सिकाइलाई औपचारीक शिक्षामा ढाल्दै प्रविधिको विकास गरौं । राज्य पनि यता तिर दृण्ढ भएर लागोस् ।

जुम्ला जस्तै अन्य क्षेत्रहरूको भ्रमण गरौं दुइ–चार रात यतै विताउँ । केही सिकेर जाउँ । केही सिकाएर जाउँ । अलिकति छोडेर जाउँ । अलिकति जोडेर जाउँ । थोरै लिएर जाऔ । थोरै दिएर जाऔं । नापा सोधेर जानौ । नापा खोजेर जानौं । केही चिनेर जाउला । केही चिनाएर जाउला ।

नेपाली भाषाको उद्गम स्थलका साथै प्राकृतीक सौन्दर्यले भरिपूर्ण र जैविक विविधताको धनि क्षत्रेको घुमफिर गर्दै यस खुल्ला विश्वविद्यालयमा विचरण गरी ज्ञान आर्जन गर्दा जीवन उपयोगी नै होला ।

स्याउ फुलि सेतै छन् जुम्ला, आरू फुलि मस्किगया
स्याउका दाना असौजका मैना, पाकेर लालभया

बैशाख १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्