अमेरिकामा हसाउँने नेपाली शैली

‘सात हिमाल मेरो लागि ७ वटा पीएचडी’

सात वटा हिमाल आरोहण गरेकी, कमेडियन शैली बस्‍नेत। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौँ–‘एक पेग मात्र लाए पनि, कफ सिरप नै खाए पनि, निष्ठूरीले बाटो लाग्दा चेकिङ गर्न तानेपछि, सासले गन्ध छर्ने नै भयो, मापसेमा पर्ने नै भयो ।’ स्वर्गीय गायक अरुण थापाको ‘जति माया लाए पनि गीतको लयमा प्यारोडी सुनाइन् उनले। प्रहरीले मद्यपान सेवन गर्ने सवारी चालकलाई जाँच्‍ने तरिकाको प्यारोडी सुनाएर शैली बस्‍नेत मज्जाले हासिन्, ‘हा हा हा..’

विद्यालयमा पढ्ने समयको कुरा हो, बसमा यात्रा गर्दै गर्दा अनि धेरैजसो कक्षामा पढ्दै गर्दा हुँदा भएको कुराकानीको जवाफ अर्कै रुपमा उनको दिमागले अर्कै किसिमले बुन्थ्यो। ‘म आफूलाई नै कस्तो फन्टुस कुरा सोचेको होला जस्तो लाग्थ्यो, मुखबाट फुस्कनै लागेको बोलीलाई फेरि दबाउँथेँ।’ उनलाई आफूभित्र उब्जिएको यो बोली उट्पट्याङ लाग्थ्यो, अरुले आफूलाई के भन्लान् भन्दै शैलीले यो आवाजलाई दबाइन्।

ठूलो हुँदै जाँदा यूटुबमा देखेको भिडियोले उनलाई आफ्नो क्षमताको पहिचान गरायो । ‘अन्तराष्ट्रिय कलाकारले स्टेजमा प्रस्तुति दिएर नाम दाम कमाएको देखेपछि ए… यो त कला पो रैछ भन्‍ने लाग्यो।’ उनले अरुलाई हसाउँने कलाको यात्रा कसरी सुरु भयो, बेलि-बिस्तार लगाइन्। जब थाहा भयो यसले पनि राष्ट्रिय अन्तराष्ट्रिय बजारमा स्थान पाउँछ, स्क्रिप्ट लेख्‍न थालिन् । समय सन् २००९ तिरको थियो, सन् २०११ मा त प्रस्तुति नै गर्न पाइन् । ‘सुरुमा ४५ मिनेटको समय पाए, अनि विस्तारै यात्रा सुरु हुँदै गयो ।’

शैलीसँग अरु पनि शैली छ, केही अठोट, आफ्नो उद्देश्यमा जिद्दी रहने, आत्मविश्वासी अनि कामप्रतिको लगनशीलता । केही समय अगाडि उनले विश्व किर्तिमान राख्‍ने काम गरिसकेकी छिन् । ‘सन् २००८ मा हामी ७ जनासँगै अरु ३ महिलाले सगरमाथाको चुचुरोमा पाइला टेक्यौ ।’ शैलीले आफ्नो अनुभवलाई सुनाउँदा उनको अनुहारमा खुसी छचल्किएको प्रस्टै देखिन्थ्यो।

उनी त्यतिबेला पत्रकारिता गर्दै थिइन्। युवा अवस्थामा एक किसिमको जोश हुन्छ, जसले कुनै काममा इच्छा लाग्यो भने सोच्दै सोच्दैन, फाल हालिहाल्छ । उनीहरुलाई पनि त्यो समयमा त्यस्तै जोश आयो र उनीहरुले पुरा गरे । ‘युवासँग धेरै शक्ति हुन्छ, उसले अप्सन खोज्दैन, पैसा, शारीरिक क्षमताले अप्ठेरो होला भनेर पनि कहिले पनि सोच्दैन र जसरी पनि काम पूरा गरि छाड्छ।’

यही जोस आएको बेलामा उनीलगायत अरु सात महिलाले सगरमाथाको चुुचुरोमा पाइला राख्‍ने मौका मिल्‍यो त्‍यतिबेला । तर उनको यात्रा यत्तिमै सीमित रहेन। विश्वको ७ महादीपका ७ अग्ला हिमाल चढ्ने निर्णय गरिन् उनी  र उनका सहकर्मीहरुले। त्‍यसपछि लक्ष्य चुम्‍नतर्फ अग्रसर भइन्।  समय र परिस्थिति त्‍यतिबेला निक्‍कै कठिन भएपनि समस्यालाई पार गर्दै लक्ष्‍यलाई पूरा  गरेरै छाडिन् ।

‘आँटेको पुग्नलाई राम्रो प्ल्याटफर्म भएमा काम सफल हुन्छ, हामीले फलामको चिउरा चपाउकी उडेको चरा समाउ भन्‍ने जोश आएको बेलामा सगरमाथाको यात्राको अवसर आयो र सँगै अरु काम पनि गर्‍यौ।’ शैलीले भनिन्,  ‘भनेको जस्तो सजिलो भएन । सगरमाथाको चुचुरो उक्लेपछि सजिलो हुन्छ भन्ने लागेको थियो तर धेरै गारो गरि आँटेको काम पुरा भयो । त्यो बेलाको शैलीको शक्ति उनको सँगै हिड्ने साथीको समूह नै थियो।’

सगरमाथाको चुचुरोमा पुगेपछि उनले आफैलाई पागल भनिन् । चुचुरोमा पुग्दा देखेको सुन्दरतालाई वर्णन गर्न थालिन्, हिमालमा देवताको बास हुन्छ, हिमाल भगवान हुन् भन्‍ने कुरा हो रैछ जस्तो लाग्यो रे उनलाई । बाक्ला बाक्ला बादल तल छपक्कै  बिछ्याएका जसता छन् । बीचबीचमा हिमालका  चुचुराहरु एकपछि अर्को गरेर देखिएको छ, आँखाले भ्याएको ठाउँजति सबै हिमालै-हिमाल । ‘हजारौ वर्ष अगाडि हिमालमा देवता छन् भनेको साच्चै हो जस्तो लाग्यो, मलाई उनीहरुले कसरी थाहा पाए जस्तो लाग्छ।’ उनले भनिन्, ‘सुन्दर, विशाल, शान्त, स्थिर र शक्तिशाली’ उनलाई हिमालले धेरै कुरा सिकाइदियो, ‘आत्मविश्वास, पहिचान, शिक्षा। सात हिमाल उनका लागि सात पीएचडी हुन् । उनलाई हिमालले नै चिनायो ।

हिमाल चढ्दै गर्दा उनले आफ्नो जीवनको साथी पनि भेटिन्, माउन्टेन बाइक चलाउने शोख भएका टाइलर अमेरीकाको कोलोराडोबाट नेपाल आएका थिए । उनीहरु सन् २००७ मा सगरमाथा चढेर आएपछि भेटघाट गरेका थिए । उनीहरु राम्रो साथीबाट जीवनसाथी नै बने । दुवैतिरको घरमा पनि राम्ररी नै स्विकार भयो। अहिले उनी र उनको श्रीमान धेरै नेपाल र वर्षमा दुई पल्ट अमेरीकामा हुन्छन् । शैलीले सन् २०११ मा विवाह गरेकी हुन् ।

‘पहिला अमेरिका जाने-आउने मात्र हुन्थ्यो,अहिले चाहि ‘शो’ को प्‍याकेज    हुन्छ।’ उनी भन्छिन्, ‘सन् २०१३ मा पहिलो पल्ट गरेको थिए, त्यो चान्स आउँछ भन्‍ने सोचेको पनि थिइन ।’ उनले केही समय गौतम कमेडी क्लबमा सिक्न गइन् र त्यहीबाट उनलाई प्रस्तुतिको लागि अवसर मिल्यो ।  उनी आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘स्टेजमा उक्लिपछि मलाई ठूलो भारी बोकेको जस्तो लाग्छ,  साथीलाई अब यो काम गर्न नलगाऊ है भन्‍न मन पनि लाग्छ घरी-घरी। तर जब शो भइरहेको समयमा दर्शकबाट तालीको गडगडाहट आउँछ त्‍यसपछि  अझै केही गरौ जस्तो  लाग्छ।’

‘कमेडी इज भेरी कल्चरल’ हसाउँने विषय ठाउँ, देश अनुसार फरक भएको अनुभव सुनाउँदै शैलीको भनाई छ । उनी भन्छिन्, ‘हाम्रो देशमा भष्ट्राचारलाई व्यंग्य गर्दा सबैले बुझ्छन् र हाँस्छन्, अमेरिकामा पहिला भष्ट्राचारको परिवेश बुझाएर मात्र व्यंग्य गर्न सकिन्छ।’ सतह सबैको एउटै हो मात्र भित्र छिर्न जान्‍नुपर्छ ।

अमेरिकामा खुल्ला रुपमा आफ्नो जोकहरु भन्‍न पाइन्छ। जुन सफल हुन्छ, त्यसैलाई प्रयोग गर्ने। उनी भन्छिन्, ‘एक हिसाबले नेपालमा भन्दा अमेरिकामा मासमा प्रस्तुत गर्न अलि सजिलो हुन्छ।’ मानिसलाई हसाउँने विषयहरु चाहि कहिले बाटोमा नै हिड्दा हिड्दै आउँछ, कहिले वर्षौ वर्ष मेहनत गर्नुपर्छ ।

भारतका हास्यकलाकार जागिर खानसँग, नेपालकी सीमा गोल्छासँग शनिबार प्रस्तुति दिँदै छिन्। वास्तविक जिवनमा हसाउने हुनु र मञ्‍चमा गएर हसाउनु फरक कुरा हो । शैली आफ्नो साथीभाई, आमाबुबाको वरपर पनि हसाँउने खालको वातावरण भएकोले सँधै हाँसिरहने बताउँछिन्। काममा आफू इमानदार र लगनशील छिन् उनी, सुरु सुरुमा काम सिक्दै गर्दा उनले धेरै रोएको अनुभव पनि सुनाइन् । उनले भनिन्, ‘आँसु र रुनु फरक कुरा हो, खुसीले आँशु आएका पनि छन् र कुनै समय एकदमै नराम्ररी रोएकी पनि छु।  तीनै  अनुभवले मलाई अहिले परिपक्क बनाएको छ।’

खासमा उनी आइटीकी विद्यार्थी हुन्, पढाई सक्दा नसक्दै, उनलाई पत्रकारीता गर्न मन लाग्यो । हिमाल खबरमा उनी काम गर्थिन् । पछि सगरमाथा चढ्ने मोहले तान्यो, एक पछि अर्को हुँदै उनी खुड्किला उक्लदैँ गइन् ।

लाजिम्पाटको ग्याङजोङग होटल भन्दा चार घर पर दोस्रो तलामा छ एभरेस्ट ओमन ट्रेक्स, अहिले उनीहरु भूकम्प प्रभावित र महिलाको विषयमा विभिन्‍न कामहरु गरिरहेका छन् । सातामा एक पल्ट नजिकका टहरा चढ्न पनि समय मिलाउछिन् उनी । हिमाल चढ्न पुगेको हो ? भन्‍ने प्रश्‍नमा शैलीले उतर थियो, ‘भन्‍ने बेला त भएको छैन तर चाँडै खबर पाउनुहुन्छ होला तपाइहरुले ।’

बैशाख १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्