मोरङमा यूवा परियोजनाको खेलकुद सुरु

मोरङ- राष्ट्रिय खेलकुद परिषद्को स्पोर्टस साइन्स एकेडेमी अफ नेपाल अन्‍तर्गत यूवा परियोजनाको खेलकुद कार्यक्रम मोरङमा सुरु भएको छ।

शनिबारदेखि सुरु भएको पहिलो चरणको कार्यक्रममा विराटनगर महानगरपालिकामा अवस्थित नीजि तथा सामुदायिक विद्यालयका १ सय ४० जना विद्यार्थीको सहभागिता छ।

५२ सातासम्म चल्ने कार्यक्रमको उद्घाटनका क्रममा स्पोर्टस साइन्स एकेडेमीका निर्देशक नविन उप्रेतीले खेलकुदको विकासका लागि यस प्रकारको कार्यक्रम दीर्घकालका लागि उपयोगी हुने बताए।उनले कार्यक्रमबारे स्पस्ट पार्दै भने, ‘परिषद् अब खेलाडीको संख्या भन्दापनि, योग्य र क्षमतावान खेलाडी तयार गर्न अग्रसर भएको छ।”

तीनमहिनापछि, उत्कृष्ठ खेलाडी चयन हुने स्पोटर्स साइन्स एकेडेमी अफ नेपाल सानले जनाएको छ।उत्कृष्ठ खेलाडीले पोशाक, त्यसपछि बाकी रहेको तालिमको खर्चमा मासिक ४ हजार रुपैया पाउनेछन्। ती खेलाडी विद्यार्थीले स्थानीयस्तरकै विद्यालयमा छात्रवृत्ति समेत पाउनेछन्।

यसैक्रममा विराटनगरका ११ वर्षिय आर्यमान कट्वालले फुटबलमा सहभागि भएको जनाए।शनिबार र विदाको दिनमात्र तालिम दिइने भएकाले आफूलाई पढाइसंगै खेल खेल्न समय मिल्ने बताए। स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत कट्वालका अनुसार, यो कार्यक्रमले विद्यार्थीहरुबीच एक अर्कामा परिचय गराउने तथा अतिरिक्त समय शारिरीक ब्यायाम पनि हुनेछ।

५२ सातापछि यही कार्यक्रममा सहभागिहरुबाट दोश्रो चरणका लागि खेलाडीको चयन हुनेछ।सो क्रममा तालिमप्राप्त विद्यार्थी खेलाडीको सैदान्तिक तथा ब्यवहारिक परिक्षा लिइनेछ। उक्त परिक्षामा उतिर्ण हुने विद्यार्थीले दोश्रो चरणमा सहभागिता जनाउनेछन्।

हाल तालिममा १ सय ४० जना विद्यार्थीको सहभागिता रहेको छ। उक्त तालिममा १२ वर्षमूनिको पहिलो समूह, १२ देखि १४ वर्ष उमेरको दोश्रो समूह र १४ देखि १६ वर्ष उमेरको तेश्रो समूह छ। तालिममा फुटबलमा १ सय २० जना, क्रिकेटमा १५ जना, टेबलटेनिसमा १० जना र ५ जना ब्याडमिन्टनमा रहेकाछन्।

त्यसैगरी मोरङको बेलबारीमा समेत फुटबलका लागि १ सय जनाको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। तलिमका लागि मासिक ५ सय रुपैया शुल्क खर्च विद्यार्थीका अभिभावकले तिर्नुपर्ने हुन्छ। यस कार्यक्रमका लागि यकिन बजेट फर्छौट भइनसकेको अवस्थामा सानले खेलकुद सामग्री उपलब्ध गराउने समितिको भनाइ छ।

यसैप्रकारको खेलकुद कार्यक्रम हाल जुम्लामा म्याराथन, इटहरी र महेन्द्रनगरमा कबड्डी, बार्दियामा स्प्रिन्टर र मिडिल डिसटेन्ट, पोखरा र काठमाडौंमा भलिबलको तालिम सुरु भइसकेको छ। त्यसैगरी बक्सिङ र टेबल टेनिसका लागि धरानमा पनि कार्यक्रम सुरु हुने सानका निर्देशक उप्रेतीको भनाइछ।

बैशाख १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्