बारपाकका भूकम्पपीडितलाई दुःखमाथि दुःख

२७ दलित परिवारको पुनःनिर्माण अनिश्‍चित

विसं २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बनेको गोरखाको बारपाकस्थित टहरामा बस्न बाध्य गैरीगाउँ र डाँडागाउँका २७ दलित परिवार।सारिएको स्थानको जग्गा साट्न शुरु गरिएको प्रक्रिया विवादका कारण पुरा नहुँदा २७ परिवार यो वर्षामा पनि जस्तामुनि नै रहने छन् । तस्बिर-रासस

बारपाक- एकसाथ गर्ल्यामगुर्लुम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्‍न बाध्य छन्।

भूकम्पको केन्द्रबिन्दुमा असह्य पीडा व्यहोरेका साविकको बारपाक गाविस–५, गैरीगाउँ र डाँडागाउँका ३२ दलित परिवारमध्ये २७ परिवार अहिलेसम्म हिउँदमा तपतप शीत र वर्षामा पानी चुहिने छाप्रामा दैनिक जीवन गुजार्न विवश छन्।

भूकम्पले चिराचिरा परेको यस बस्तीमा सरकारले खुला जीवित भूकम्प संग्रहालय बनाउन भन्दै बस्ती सारेपछि दलित समुदाय बिचल्लीमा परेका हुन्। “आजसम्म हामीलाई जग्गा दिने प्रक्रिया सरकारले शुरु गरेको छैन। छाप्रामा बस्न बाध्य छौँ। पानी पर्दा तपतप चुहिन्छ। कहिले जग्गा आउने हो थाहा छैन”, गैरीगाउँकी ठूलीमाया विकले गुनासो पोखे।

सरकारले ती सारिएका परिवारका नाममा जग्गाधनी प्रमाणपत्र हालसम्म दिएको छैन। प्रमाणपत्र नहुँदा उनीहरुले पुनःनिर्माणका लागि हालसम्म पहिलो किस्तापछिको अनुदान पाएका छैनन्।

“पुनःनिर्माण शुरु नहुँदा छाप्राभित्र दुःख र पीडामा दैनिकी चलाउनु परेको छ।कहिले जग्गाधनीको प्रमाणपत्र पाउने हो टुंगो छैन”, अविनाश विकले भने।

बारपाकका एक हजार ४५७ घरमध्ये अधिकांश घर पक्कीरुपमा ठडिसकेका छन्। भूकम्प गएकै वर्ष दलीय सहमतिमा गैरीगाउँमा खुला जीवित भूकम्प संग्रहालय बनाउने भन्दै दलित बस्ती हटाइ वारपारको तल्लो गाउँमा सारिएको थियो।

संग्रहालय बनाउँदा विस्थापित हुनेलाई बारपाकको तल्लो भेगको कृषि, पशु सेवा र जलाधार कार्यालयको नाममा रहेको १४ रोपनी जग्गा दिने सम्झौता गरिएको थियो। त्यही सम्झौताका आधारमा २७ दलित परिवारलाई सारिएको हो।

स्थानीयवासीले छोडेको स्थानको जग्गा धनी प्रमाण पूर्जा भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा बुझाइसकेका छन्।

दुःखमाथि दुःख


विसं २०५६ को पहिरोमा पनि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय विस्थापित भएका थिए। ‘त्यसबेला पनि अहिलेकै स्थानमा ओत लाग्यौँ, पहिरोले बस्ती लगेको थियो, जीवन भने जोगाएर यहाँ आउन सफल भएका थियौँ”, त्यसबेलाको घटना सम्झँदै स्थानीय लक्ष्मी सुनारले भने।

पहिरोको जोखिम भएको बस्ती भएकाले संग्रहालय निर्माणका लागि छोडिएको हो। भूकम्पपछि यो ठाउँ भासिएको थियो। चिरा परेका स्थान पुरिन पनि महिनौँ लागेको स्थानीयवासीको स्मृतिमा अझै ताजा छ।

छिमेकको धार्चे गाउँपालिकाको केराउँला बस्ती स्थानान्तरण भइसकेको छ। बारपाकको यो बस्ती सार्न स्थानीय तहले चासो नदेखाएको लीलाबहादुर सुनारले बताए। गाउँपालिका र वडा कार्यालयले रिस ईबीका आधारमा सुरु भइसकेको प्रक्रिया रोकेको बस्तीवासीको गुनासो छ।

वडा अध्यक्ष दलित समुदायबाटै निर्वाचित भए पनि स्थानीयवासीको समस्या समाधान गर्न सहयोगी नबनेको उनको गुनासो छ। विपन्न वर्गका यहाँका बासिन्दा घले र गुरुङका घरमा बाली घरे प्रथाका आधारमा हँसिया, कोदालोलगायत सामग्री निर्माण गरेर जीवनयापन गर्छन्।

स्थानीय शुकबहादुर विक सरकारी जग्गामा सित्तैमा बस्न नखोजी साट्न लाग्दा पनि निर्वाचित स्थानीय तहले जिम्मेवारीका साथ काम नगरेको दुःखेसो पोख्छन्। विपन्‍न वर्गका पीडितलाई लामो समस्यामा राखेको अधिकांश पीडितको भनाइ छ।

“वडा अध्यक्ष रोशन विक चार परिवारका पक्षमा लागेर २७ घरलाई बिचल्ली बनाउँदै , वडा कार्यालय र गाउँपालिकाले प्राधिकरणमा हाम्राविरुद्ध भ्रामक सूचना दिएको छ, प्राधिकरण कार्यकारी समितिका एक सदस्य पनि हाम्रोविरुद्धमा लागेर निर्णय हुन सकेको छैन”, उनले भने।

तेस्रो भूकम्प स्मृति दिवसको कार्यक्रमका लागि बारपाक आएका प्राधिकरण कार्यकारी समिति सदस्य हरिराम पराजुलीले पनि यस बस्तीको अवलोकन गरे। अवलोकनपछि रासससँग कुरा गर्नुहुँदै उनले दलित समुदायबीचको आन्तरिक द्वन्द्वले दलित बस्ती पुनःनिर्माण हुन नसकेको सुनाए।

“यहाँको समस्या समाधानका लागि वैकल्पिक सोच ल्याउने तयारीमा प्राधिकरण छ, माथि बस्न चाहनेलाई माथि नै र तल बस्नेलाई तलै पुनःनिर्माण शुरु गर्ने गरी निर्णय गर्ने तयारी भएको छ, यो निर्णय छिटो हुन्छ”, उनले भने।

वडा अध्यक्ष विक भने बस्तीका आठ परिवारले डाँडागाउँ फर्किएर पुनःनिर्माण शुरु गरिसकेकाले अरुले पनि फर्किएर घर बनाउन सुरु गर्नुपर्ने बताए।

“भूकम्पलगत्तै गैरीगाउँ र डाँडागाउँवासी तल झरे पनि अहिले माथि आएर पुनःनिर्माण शुरु गरेका छन्, २२ घर मात्र तल बसेका छन्, भू–गर्भविद्ले यो स्थानमा जोखिम छ भन्ने प्रतिवेदन दिएका छैनन्, गैरीगाउँ र डाँडागाउँमा बस्न कुनै समस्या छैन”, उनले भने।

भूकम्पपछि स्थानीय तहमा क्रियाशील दलीय संयन्त्रले गैरीगाउँमा जीवित संग्रहालय बनाउन प्रस्ताव गरेको थियो। प्रस्तावमा सहमत हुने स्थानीयवासीले प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा पूर्जा बुझाएको वडा कार्यालयले जनाएको छ।

घर बनाउने स्थान निश्चित नभएकैले पहिलो किस्ता लिएका २७ परिवारले पुनःनिर्माण शुरु गर्न सकेका छैनन्। पहिलो किस्ता लिनेले असार मसान्तसम्म पुनःनिर्माण पूरा गरी सबै किस्ता लिइसक्नुपर्ने खबरले बस्तीका बासिन्दाको निद्रा हराएको छ। पुनःनिर्माण नै नगरी लिएको पहिलो किस्ता पनि फिर्ता गर्नुपरे गाउँबाटै विस्थापित हुनुपर्ने दलित परिवारको गुनासो छ।

सरकारले जग्गाको सट्टाभर्ना दिए अक्सफामले घर बनाइदिने प्रतिबद्धता जनाएको स्थानीय अविनाश विकले सुनाए। जग्गाकै निश्चित नहुँदा पुनःनिर्माण भने अनिश्‍चित बनेको छ।

हरायो बारपाकको मौलिकता


भूकम्पले बारपाकका ७२ मानिस घरले किचेर मरे। ढुंगाले छाएको लाम्चो आकारको यो बस्ती आकर्षक देखिन्थ्यो। भूकम्पपछि भने यो ठाउँको मौलिकता हराएको छ । ढुंगाले छाएको घर भत्किएर मानिस मरेपछि यहाँका मानिसमा यस्तो घर असुरक्षित हुने छाप पर्‍यो।

पिलर उठाएर बनाइएका केही घर नभत्किएकाले त्यस्तो घरमात्र भूकम्प प्रतिरोधी हुने विश्‍वास पीडितमा बन्यो। यसैले बारपाकको ढुंगाले छाएको घरको मौलिकता इतिहासमै सीमित बनेको छ। यो इतिहास बारपाकका घर घरमा टासिएका तस्वीरमा मात्र देख्‍न सकिन्छ।

बारपाक बेलायत, भारतलगायत देशको सेनामा भर्ती हुनेको मानिसको संख्या अधिक हुने स्थानका रुपमा समेत परिचित छ। प्रत्येक घरका कोही न कोही मानिस गोर्खाली सेनाका रुपमा विभिन्न देशका सेनामा भर्ती भएका छन्। तीनले पठाउने विप्रेषणले यहाँका अधिकांश मानिसको जीवनशैली गुणस्तरीय छ।

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने गजे घलेको जन्मभूमि पनि बारपाक नै हो। बारपाक गजे घलेको गाउँका रुपमा विश्वमा परिचित छ। यहाँका मानिस जहाँ पुगे पनि चाडबाड मनाउन र कूल पूजा गर्न भने बारपाक नै आउँछन्। यसैले काठमाडौँ, बेलायतलगायत स्थानमा घर हुनेले पनि बारपाक नछोडेको स्थानीयवासी एवं साना जलविद्युत् व्यवसायी वीरबहादुर घले बताए।

बारपाकमा एक हजार ३०१ लाभग्राही रहेकामा एक हजार २८५ ले पहिलो किस्ता लिएका छन्। ९५२ ले दोस्रो र ५५८ ले तेस्रो किस्ता बुझिसकेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए। ६० जनाको गुनासो स्थानीय सरकारसमक्ष दर्ता भएको छ। पूर्णप्रसाद मिश्र

बैशाख १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्