खेल सकिएको घोषणापछि रेडकार्ड, पहिलो रोजाईका खेलाडीबिनै जित्यो रियल म्याड्रिडले

लेगानेस विरुद्ध गोल गर्दै बेल ।

एजेन्सी–स्पेनिश ला लिगामा उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले लेगानेसलाई २–१ ले पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा आफ्ना प्रमुख खेलाडिबिनै रियल मैदानमा उत्रिएको थियो । रियलले मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल लेगका लागि क्रिस्टियानो रोननाल्टो, सर्जियो रामोस र मार्सेलोलाई विश्राम दियो ।

लेगानेसलाई पहिलो हाफमा २–० ले पछिपारेको रियलले दोश्रो हापमा एक गोल खायो । रियलका लागि खेलको आठौं मिनेटमा ग्यारेथ बेलले अग्रता दिलाए । पहिलो आफको अन्तिम मिनेटमा बोर्जा मायोरल मोयाले अग्रता दोब्बर पारे ।

दोश्रो हाफको ६६ औं मिनेटमा लेगानेसका डार्को ब्रासानाकले गोल गर्दै खेलमा फर्काउने संकेत देखाएपनि त्यसपछि लेगानेसले गोल थप्न सकेन ।

बरु खेल सकिएपछि लेगानेसका खेलाडीले रेडकार्ड पाए । अतिरिक्त समयको तेश्रो मिनेटमा रियलको क्षेत्रमा लेगानेसले दवाव कायम राखेको थियो । तर त्यतिबेलै रेफ्रिले खेल सकिएको सिठी बजाए । त्यसैको विरोधमा उत्रिएका लेगानेसका कप्तान ग्याब्रिएलले फ्रिलाई दुरव्यवहार गरेको आरोपमा रेड कार्ड पाए ।

जितसँगै रियल म्याड्रिड दोश्रो स्थानको एथ्लेटिको म्याड्रिडभन्दा मात्र एक अंकले पछि छ ।

रियलको ३४ खेलमा ७१ अंक भएको छ भने सम्मान खेलमा दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको ७२ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ८३ अंक छ र उ उपाधिका लागि मात्र एक अंक पर्खिरहेको छ । लिगमा बार्सिलोनाले आइतबार राति डिपोर्टिभोसँग खेल्दैछ ।

बैशाख १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्