एसएसबीले रोकेको विद्युतीय तार जडान मिलाउने जिम्मा सर्वे टोलीलाई

भीमदत्तनगर– विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको छ ।
जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद भएको थियो ।

उक्त विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । सर्वे टोली विगत केही मिहनायता कञ्चनपुर\कैलालीकै सीमा क्षेत्रमा खटिएको छ ।

“अहिले संयुक्त सर्वे टिम कैलालीको सीमा क्षेत्रमा काम गरिरहेको छ ।” प्रजिअ खड्काले भने– “पुनर्वासको विवादको विषय टुंग्याउन सर्वे टोलीलाई निर्देशन भइसकेको छ ।”

भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब दुई हजार ९०० मिटर तार जडान गरिसकिएको छ ।

“यसअघि दुवै देशबीच भएको मौखिक सहमतिअनुसार तारबार लगाएको रहेछ ।” इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले भने, “अब ३०० मिटर मात्रै बाँकी रहेका बेला एसएसबीले तारबार गर्ने ठाउँ नेपाल–भारत दशगजामा पर्ने दाबीसहित रोकेको छ ।” तर बिचफाँटाका स्थानीयले यसअघि पनि पटक÷पटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको दाबी गर्दै भारतको दाबी गलत भएको बताउँदै आएका छन् ।

स्थानीयका अनुसार नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका थिए । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पु¥याउँदै आएका छन् ।

एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेपछि केहीबेर समस्या भएको थियो ।

उक्त बटालियनको टोली भर्खरै त्यहाँ नयाँ आएको समेत बुझिएको छ । वडा कार्यालयबाट समेत रु छ लाख रकम तारबारका लागि विनियोजन गरिएको छ । गत वर्ष पुनर्वास नगरपालिकामै सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए ।

बैशाख १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्