खरको छानो हुनेलाई जस्तापाता

दाङ – खरको छाना भएका गरिव बिपन्नहरुको घरमा अव टिनको छानो टल्किने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले बिपन्न परिवारको घरमा टिनको छानो लगाउन सुरु गरेको हो ।
उपमहानगरपालिकाले नीति तथा कार्यक्रम मार्फत नगरलाई खरको छानो मुक्त बनाउने घोषणा गरेको छ । अहिले त्यहि घोषणा कार्यान्वयन थालेको हो । खरको छानो भएकाहरुलाई टिन वितरण गर्न सुरु गरिएको छ ।
सुरक्षित आवासका लागि जस्तापाता अभियान अन्तर्गत उपमहानगरपालिकाले वडा नम्बर १ बाट जस्तापाता विरतरण थालेको छ । तुलसीपुर उपहानगरपालिका मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्यले खरको छानो भएका परिवारलाई जस्तापाता हस्तान्तरण गरेर अभियानको सुरुवात गरे ।
मेयर पाण्डेले निर्वाचनको समयमा खरको छानो भएकालाई जस्तापाता दिने आफनो चुनावी प्रतिवद्धता र निति कार्यक्रममा घोषणा गरे अनुसार काम गर्न लागेको जानकारी दिए ।
उपमहानगरपालिका भित्रका यस बर्ष पाँच सय खरको छानो भएका घरमा जस्तापाता लगाउने र गरिबको पहिचान देखाउने खरको छानोलाई हटाएर सम्वृद्धिको अभियान सुरुवात गर्ने बताए ।
खरको छानो भएका घरहरु हावाहुरी, पानी, आगोबाट बढि जोखिममा रहेको भन्दै अबको पाँच बर्षमा उपमहानगरपालिका सबैको घरमा टिनको छानो लगाउने बताए । वडाअध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाले शनिशार वडाका २० जनालाई जस्तापाता वितरण गरेको छ ।