तीन साताको उपचारपछि घर फर्किए निवासाचार्य

निवासाचार्यको उपचार खर्च सरकारले बेहोर्ने

मोरङ- गोली लागि घाइते भएका हिन्दु धर्मगुरु श्री निवासाचार्यको उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ।

तीन साताको उपचारपछि गुरु श्रीनिवासाचार्यलाई डिस्चार्ज दिने क्रममा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा गुरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्ने बताइएको हो।

२१ दिन अस्पतालमा उपचार गर्दा कुल खर्च १ लाख ५५ हजार रुपैया खर्च भएको अस्पतालले जनाएको छ।अस्पतालले उपचारका क्रममा १ लाख ३० हजार रुपैया र औषधीमा २५ हजार रुपैयाको खर्च नेपाल सरकार गृहमन्त्रालयले ब्यहोर्ने भएको जानकारी दिएको छ।

यसैगरि, अस्पतालले गुरुको अवस्थामा धेरै सुधार आएको कारण डिस्चार्ज गरेको जनाएको छ।स्वास्थ्य अनुकुल बातावरणका लागि गुरु काठमाडौं प्रस्थान गरेका छन्। पत्रकार सम्मेलनमा धेरै बोल्न नरुचाएका गुरुले सम्पूर्ण भक्तजन तथा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए।

२१ दिन अस्पतालमा उपचारका लागि खटिएका डा. सुदिप खनिया तथा उनको टोलीलाई गुरु निवासाचार्यले सम्मान पनि गरेका थिए। गत चैत्र २५ गते आइतबार अज्ञात ब्यक्तिले गोली प्रहार गरि घाइते भएका गुरु श्रीनिवासाचार्यलाई डा. सुदिप खनियाको टोली उपचार गरेको थियो।

डा. खनियाको टोलीले अस्पतालमा भर्ना गरिएको एकदिन आइसियुमा करिब ४५ मिनेटको शल्यक्रिया गरेका थिए। त्यसपछि उनलाई पोष्ट अप वार्डमा स्थानान्तरण गरिएको थियो।

गोली प्रहार भएपछि घटनामा संलग्न भएको आशंकामा पाच जनालाई प्रहरीले पक्राउ गरेको थियो। यद्यपी हाल तीनलाई सोधपुछ पछि छाडिएको मोरङ प्रहरी प्रमुख एसपी अरुण बीसीले जानकारी दिए।

यसै घटनाका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ४ जनाको टोली र मोरङ प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ।

बैशाख १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्