युरोपियन देशमा बुद्धको मूर्ति राख्‍दाको त्‍यो स्मरणीय क्षण

यतिबेला शान्तिका अग्रदूत गौतम बुद्धको २५६२ औँ जन्‍मजयन्ती विविध कार्यक्रम गरी मनाइरहेका छौँ। नेपालको तराई लुम्बिनीमा जन्मिएका मानवता, करुणा र दयाका खानी बुद्धलाई नचिन्‍ने संसारमा सायदै कम होलान्। विश्‍वले बुद्धको जन्‍मजयन्ती मनाइरहँदा मेरो मानस पटलमा बुद्धको मानव जागरण, शील, समाधि र प्रज्ञालाई अनुसरण गर्दै २०६८ सालदेखि राजदूत भएर जाँदा गरेको कामबारे झल्झली सम्झना आइरहेको छ।

खासगरी युरोपियन मुलुकहरु ( बेल्जियम, लग्जम्बर्ग र नेदरल्‍याण्डस्) मा बुद्धको बारेमा त्‍यहाँको शासक र प्रशासकहरुलाई कुनै चासो र चिन्‍ता छैन। उनीहरु भौतिक विकास र विस्तारले मस्तसँग आफ्‍नै संस्कार र संस्कृतिमा रमाइरहेका छन्।

तिनीहरुको देशमा नेपालबाट राजदूतको रुपमा त्‍यहाँ  रहन पाउँदा खालि जागिर खाने काम मात्र गरिन। कट्टर क्रिस्चियनको मुलुकमा शान्तिको अग्रदूत गौतम बुद्धलाई चिनाउन आफ्‍नो बलबुत्ताले भ्‍याएसम्‍म चिनाउन अभियानमा लागे। करीब पाँच वर्ष राजदूत भएर काम गर्दा त्‍यहाँका चर्चित ६ स्थानमा बुद्धको प्रतिमा राख्‍न सफल भए।

पहिलो पटक त मैले राजदूताबासकै कम्पाउण्डमा बुद्धको मूर्ति राख्‍न लगाए। किनकी त्‍यहाँ आउने जोकोहीले पनि पहिलो नजर बुद्धको मूर्तिमा लगाउने गर्दथ्‍यो। थाहा नपाए सोध्‍ने गर्दथे, ‘यो कस्को मूर्ति किन ?’ थाहा पाएपछि खुशी भएर जान्‍थे।

दोस्रो पटक मेरो दिमागमा हेग शहरको इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसीजे)को पिस प्‍यालेसमा २.४ इन्चको सुनको जलप लगाइएको बुद्ध मूर्ति राख्‍ने कुरा आयो। त्‍यहाँ मूर्ति राख्‍नको लागि बडो संघर्ष गर्नुपर्‍यो। न्‍यायको क्षेत्रमा सबैभन्दा ठूलो निकाय त्‍यो पनि अन्तर्राष्ट्रिय न्‍यायालयको पिस प्‍यालेस।

त्‍यसको लागि पहिला त्‍यहाँको रजिस्टारलाई राजदूताबासबाट चिट्ठी पठाए। उक्त चिट्ठीको कुनै उत्तर आएन। तर महिना दिनपछि फेरि मलाई बोलावट भयो। किन के कामको लागि ? मैले आफ्‍नो सबै बेलिविस्तार सनाएपछि रजिस्टारले ‘हुन्छ’ शैलीमा कुराकानी गर्‍यो।

त्‍यसपछि त्‍यहाँको मुख्‍य न्‍यायाशीधसँग कुरा गरेर २.४ इन्चको सुनको जलप लगाइएको बुद्ध मूर्ति राख्‍ने काम भयो। तेस्रो साउथ हेमन्टनमा ३ फिटको सुनको जलप लगाइएको बुद्ध मूर्ति राख्‍न पनि पटक पटक मेयरसँग कुरा गर्नुपर्‍यो। त्‍यतिले नपत्याएर उनलाई आफैँले गएर भेटेर साथी बनाए। साथी बनाएपछि बुद्धको मूर्ति राख्‍न सहमति दियो।

 

यस्तै नेदरल्‍याण्ड्सको ल्‍याडेन सिटीमा ३ फिटको सुनको जलप लगाइएको बुद्ध मूर्ति राख्‍न लगाए। यस्तै पहलमा डेल्फ सिटी ओपेन म्‍यूजियममा तीन फिटकै तामाको मूर्ति, एन्ट्रोपिन पार्क र इपरमा (जहाँ गोर्खालीहरुले पहिलो विश्‍वयुद्ध सुरुवातमा लड्दा बितेको सम्झनामा) गोर्खा सैनिकको मूर्ति राखिएको छ।

सुरुमा इपरमा राखिएको मूर्तिमा गोर्खालीहरुलाई भारतीय भनेर उल्‍लेख गरिएको रहेछ। पछि मैले नै त्‍यो नाम सच्याउन त्‍यहाँको मेयरलाई औपचारिक रुपमा भनेपछि राष्ट्रियता नेपाली नै बनाइदियो। यसअघि युनेस्कोको केन्द्रीय कार्यालयमा बुद्धको मूर्ति राख्‍ने पहल मेरै नेतृत्वमा भएको थियो।

मैले राजदूत रहँदा पहल गरे पनि संसारकै चर्चित ठाउँ नोबेल पिस प्राइजमा, कमन वेल्थमा, कोकेन हेब र ब्रुज सिटीमा अझै बुद्धको मूर्ति राख्‍ने सपना भने अधुरै रह्‍यो। जे भएपनि नेपालको प्रतिबिम्मलाई युरोपियन मुलुकमा राखेको आएको चिनोको झल्झली सम्झना आउँछ।

किनकी संसारमा बुद्धलाई धेरैले चिनेर अनुसरण गरे पनि नेपालको प्रशासनिक र राजनैतिक खिचातानीले कूटनीतिक मर्यादा,  पहिचान नुहँदा अन्तराष्ट्रिय जगतमा कमजोर बनिरहेको छ।

(बेल्जियम ,नेदरल्‍याण्ड, लक्जेम्बर्ग र युरोपियन युनियनका लागि पूर्व राजदूत राममणि पोखरेलसँग देश सञ्‍चारका सहदेव चौधरीले गरेको कुराकानीमा आधारित।)

बैशाख १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्