एनआइसी एशियाको कीर्तिपुरमा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ– एनआइसी एशिया बैंकले छैठो शाखारहित बैंकिङ्ग सेवा कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा संचालनमा ल्याएको छ ।
गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका, मेयर रमेश महर्जनले गरे । शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीय बासिन्दाले बैंकका प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने सेवा लिन सकिनेछ ।

यस्तै स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकका देशभर १९६ शाखा कार्यालय, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ ।

बैंकको वासलातको आकार रु १५७ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३४ अर्ब पुगिसकेको छ ।

 

बैशाख १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्