लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल

भक्तपुर-‘ख्याट ख्याट ख्याट ख्याट………..’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरेकी छिन्, रश्मिला अवाल।

भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि मच्छेनारायण मन्दिरसँगै रहेको घरको एउटा कोठाको कुनामा लुगा सिउने मेशिन चलाउन व्यस्त छिन उनी। त्यही कोठाको अर्को कुनामा खाना पकाउने ग्यास र चुलो। दायाँबायाँ दुई वटा साना खाट, सँगै जोडेर राखिएको दराज, नजिकै पानीको ड्रम। एउटै कोठामा चारजनाको सिंगो परिवार अटाएका छन् खाँदिएर।

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा’ भूकम्पले मूलढोकामा रहेको आफ्नै घर भत्काएर पुरिएको पाँच महिनाको बालक सोनिसलाई २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेका थिए। दोस्रो जीवन पाएर चर्चामा आएका त्यहाी बालक अहिले चार वर्ष पुगे।

भाडामा लिएको त्यही एउटा कोठा सिंगो संसार बनेको रश्मिलाको परिवारलाई भूकम्पले सुकुम्बासी नै बनाइदियो। भूकम्पले घर भत्किएर पुरिएकी नौ वर्षीया छोरी सोनियाको स्थानीयवासीले दुई घण्टापछि र पाँच महिनाको छोरा सोनिस पुरिएको २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेपछि सिंगो परिवारले दोस्रो जीवन पाएको महसुस गरेका थिए।

लुगा सिलाउने मेशिन चलाउँदै रश्मिला भन्छिन्, “तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहेका छौँ तर, यता सिलायो, उता प्वाल, उता सिलायो यता प्वाल भने जस्तै भएको छ हाम्रो जीवन।”

दोस्रो जीवन पाएको सोनिस यस वर्षदेखि विद्यालय जान थालेको छ। छोरालाई विद्यालय पुर्‍याएर फर्केपछि लुगा सिलाउने काममा व्यस्त रहने रश्मिला विद्यालय विदा भएको बेलामा लुगा सिलाउने कल रोकिने गरेको बतायन्।

घर भएको जग्गाको आफ्नै नाममा लालपूर्जा नहुँदा न त उनीहरुले भूकम्पपीडितको परिचयपत्र नै पाए, न त कुनै अनुदान नै। रश्मिला भन्छिन्, ‘भूकम्पले ढालेको जीवन म लुगा सिलाएर उठाउने प्रयास गरिरहेछु। मेरा श्रीमान् गाडी कुदाएर परिवार धान्ने प्रयास गरिरहनु भएको छ तर, जीवन अब उड्ला भन्ने आशा मारिसकेको छु।’

मूलढोकाको घरमा लुगा सिलाएर गुजारा चलाउँदै आएका यो परिवारलाई भूकम्पले सुकुम्बासी बनाइदिएको छ। भाइसल्लाह नमिल्दा सवारी चालकको काम गर्दै आउनुभएका उहाँको श्रीमान् श्याम अवालले घर बनाउन पाउनु भएन।

भूकम्पले सँगैको घरमा पुरिएका जेठाजूका दुई छोरीको ज्यान गयो तर उहाँका दुवै छोराछोरीको जीवितै उद्धार भयो। नयाँ जीवन पाएका छोराछोरीलाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्ता पनि उहाँलाई उत्तिकै छ।

रश्मिला भन्छिन्,’छोरी डाक्टर पढ्छु है आमा भन्छे। चार वर्षको छोरा दिदीसँगै म पनि डाक्टर बन्ने भन्छ। गतिलो बास बनाउन नसक्ने हामीले कसरी छोराछोरीको इच्छा पूरा गर्नु र खै ? हाम्रा लागि सबै सपना हुन्।”

छोरी सोनिया आफू राम्ररी पढेर डाक्टर बन्ने इच्छा भएको बताउँछिन्। जिल्ला प्रशासन कार्यालयदेखि वडा कार्यालयसम्म भूकम्पपीडितको परिचयपत्र लिन जाँदा लालपूर्जा नहुनेले पाउँदैनन् भन्दै फर्काएपछि निराश हुनुभएका रश्मिलालाई अब सरकारले दिने अनुदानको कुनै आशा छैन।

रश्मिला र श्यामलाई छोराछोरीको पढाइ खर्च कसरी जुटाउने र स्थायी बासको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको छ। अन्यत्र पनि सम्पत्तिको नाममा कुनै जग्गा जमिन नभएपछि उनीहरु सुकुम्बासी नै बनेका छन्।

बैशाख १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्