जुट मिल सञ्‍चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने

विराटनगर- अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ।

जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो।

प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व राजनेताहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए। विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो।

नेपालको मजदुर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको सुरुवात भएको जेठो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सरकारले सञ्चालक समितिसमेत नियुक्ति गरेको छ। समिति निर्माण भए पनि जुटमिल पाँचदेखि छ महिनामात्र चल्ने र त्यसपछि बन्द हुने गरेको छ।

जुट मिलको करिब रु पाँच अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको छ।

बैशाख १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्