लुकीछीपी यार्सागुम्बा संकलन गर्ने ४९ जना तस्कर पक्राउ

त्रिपुराकोट- बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन्।

डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ परेका हुन् । तीमध्ये ११ जना महिला छन्।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त गस्ती टोलीले सोमबार राति ११ बजेतिर उनीहरूलाई पक्राउ गरेका हुन्। पक्राउ परेका सबैलाई निकुञ्ज कार्यालय सुलिगाडमा ल्याइरहेको निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए।

यार्सागुम्बा पाटन खुल्नुअगावै यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न विभिन्न नाका र यार्सापाटनको सुरक्षा व्यवस्था कडाई पारिएको निकुञ्जले जनाएको छ।

प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिना अवधिमा चल्ने यार्सागुम्बा सिजनलाई व्यवस्थित बनाउन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीको संयुक्त गस्ती टोली पनि परिचालन गरिएको निकुञ्जले जनाएको छ।

अघिल्ला वर्षहरूमा जेठ १० गते मात्रै संकलनका लागि खुला गरिने यार्सापाटन यस वर्ष भने जेठ १ गते खुला गरिने बताइएको छ।

डोल्पाका कागमारा, जगदुल्ला, माझवन, कुनासा, डोप्के, भान्का, ठांगे, टाङ्टुङ्गे, लुमला, छोयला, सागर, वासुदा, फूलवारी, नावरपानी, चाहारा, साइकुमारी, माटे, लगायतका दर्जनौ पाटनहरूमा यार्सागुम्बा पाइने गर्दछ।

पाटन खोल्नुअघि पाटनबाट यार्सागुम्बा चोरेर संकलन नहोस् भनेर विभिन्‍न पाटनका सम्बन्धित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, चोरीशिकार नियन्त्रण समिति, स्थानीय तहका पदाधिकारी, स्थानीय समुदाय, निुकञ्ज र नेपाली सेनाले पाटनपाटनमा संयुक्त गस्ती गर्ने गरिएको निकुञ्ज संरक्षण अधिकृत चौधरीले बताए।

यसअघि यही वैशाख १० गते अवैधरुपमा यार्चागुम्बा टिप्‍न कागमारा पाटन पुगेका सातजनालाई पक्राउ गरिएको पनि निकुञ्जले जनाएको छ।

बैशाख १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्