च्याम्पियन्स लिग

रियल मड्रिडको कीर्तिमानी फाइनल यात्रा : बेन्जिमाको गोल, बार्यन फेरि निराश

साबिक युरोपियन च्याम्पियन रियल मड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान बर्नाबेउमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग २-२ को बराबरी भए पनि समग्रमा ४-३ को जितसहित रियल मड्रिडले फाइनलमा स्थान बनाएको हो । अवे मैदानमा भएको पहिलो लेगमा जिनेदिन जिदानको टिम रियल मड्रिड २-१ ले विजयी भएको थियो ।

बुण्डेस लिगा क्लब बार्यनलाई फाइनलमा स्थान बनाउनका लागि जित चाहिएको थियो तर उसले बराबरी मात्रै गर्न सक्यो । अवे मैदानमा भएको दोस्रो लेगमा बार्यनले सुरुको तेस्रो मिनेटमा नै गोल गर्दै खेलमा फर्किने संकेत गरेको थियो ।

तेस्रो मिनेटमा नै जोशुआ किमिचले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए । त्यसको सात मिनेटपछि करिम बेन्जिमाले घरेलु टोली रियल मड्रिडका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा पनि दुवै तर्फबाट १/१ गोल भयो । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए । ६३ औँ मिनेतमा जेम्स रोड्रिग्वेजले बार्यनका लागि बराबरी गोल फर्काए पनि त्यो रियललाई रोक्न पर्याप्त भने भएन ।

बार्यनले खेलमा गोल गर्ने राम्रा मौका बनाएको थियो र खेलमा जितको वातावरण बनाउन सकेन । कोरिन्टिन टोलिसो र थोमस मुलरको प्रहार रियलका गोलरक्षक केइलोर नावासले रोके । यस्तै माट्स ह्युमेल्सको हेड प्रहार पर गयो ।

यो खेलमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । च्याम्पियन्स लिगमा उनले गोल गर्न नसकेको यो लगातार दोस्रो खेल हो ।

रियल मड्रिडले अब फाइनलमा लिभरपुल वा रोमासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।

पहिलो लेगमा रोमालाई ५-२ ले हराएको इंग्लिस क्लब लिभरपुल फाइनल पुग्ने सम्भावना बढी छ । रोमा र रिभरपुलबिचको सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुनेछ ।

दबाबमा रहेका जिदानको फाइनल यात्रा


रियल मड्रिडको प्रशिक्षकका रुपमा साढे दुई वर्षे यात्रामा जिनेदिन जिदानले क्लबलाई धेरै दिलाएका छन् । सुरुमा उनी आउँदा ला लिगामा समस्यामा रहेको टिमलाई दोस्रो बनाए । च्याम्पियन्स लिगको उपाधि दिलाए ।

अर्को सिजनमा ला लिगासँगै फेरि च्याम्पियन्स लिगको उपाधि दिलाए । तर यो सिजन रियल मड्रिड घरेलु प्रतिस्पर्धामा कमजोर देखियो । ला लिगामा उ अहिले उपाधि विजेता बनिसकेको बार्सिलोना भन्दा १५ अंकले पछि छ ।

घरेलु लिगमा कमजोर देखिएका कारण जिदानको भविष्यमाथि शंका उब्जिएको थियो । तर उनले क्लबलाई लगातार तेस्रो सिजन युरोपियन प्रतिस्पर्धाको फाइनलमा लगेर त्यो चुनौती कम गरेका छन् ।

ला लिगामा चार खेल बाँकी हुँदा तेस्रो स्थानमा मात्रै रहेको रियलका लागि च्याम्पियन्स लिग भने उसकै हो कि जस्तो भएको छ ।

गएको नोभेम्बरमा समूह चरणमा टोटनह्यामसँग पराजित भएर दोस्रो स्थानमा रहँदै नकआउट चरणमा आएको रियलले त्यसपछिका खेलमा जित निकाल्यो । उसले पेरिस सेन्ट जर्मेन, युभेन्टस र बार्यन म्युनिखलाई हराउँदै फाइनल यात्रा तय गरेको छ ।

यसमा जिदानको भूमिका महत्वपूर्ण छ । यसले रियललाई लगातार तेस्रो तथा समग्रमा १३ औँ पटक युरोपियन च्याम्पियन बन्ने सम्भावनाको नजिक लगेको छ ।

जिदानले यसअघिका १२ खेलमा एक गोल मात्रै गरेका बेन्जिमालाई सुरुदेखि नै मैदानमा पठाए, जसले पहिलो लेगमा थप खेलाडीका रुपमा आएर एक गोल गरेका थिए ।

यो खेलमा ग्यारेथ बेल सुरुमा बेन्चमा रहे । तर जिदानको यो निर्णय बेन्जिमाको गोलले सही बनायो । बेन्जिमाको दुई गोलको सहयोगमा रियल पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जिदान च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन फाइनलमा पुग्ने दोस्रो प्रशिक्षक बनेका छन् । यसअघि सन् १९९६ देखि १९९८ सम्म गरी मार्सेलो लिप्पीले आफ्नो क्लबलाई लगातार फाइनलमा लगेका थिए ।

रियलको फेरि अर्को कीर्तिमान


रियल मड्रिडले युरोपियन प्रतियोगितामा लगातार तीन सिजन फाइनलमा पुगेर कीर्तिमान बनाएको छ, त्यो पनि दुई पटक । यसपटकको फाइनल यात्रा रियलको पछिल्लो तीन सिजनमा तेस्रो पटक हो ।

रियल यसअघि पनि प्रतियोगितामा लगातार तीन वा त्यो भन्दा बढी पटक फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा यो करामत गर्ने रियल मड्रिड पहिलो क्लब हो ।

रियल मड्रिड यसअघि सन् १९५६ देखि १९६० सम्ममा पाँच सिजन युरोपियन कपको फाइनलमा पुगेको थियो र जितेको थियो ।

रियल बाहेक अरु पाँच क्लब युरोपियन कप वा च्याम्पियन्स लिगको फाइनलमा लगातार तीन सिजन फाइनलमा पुग्ने करामत गर्न सकेका छन् । यसमा बेन्फिका, अजाक्स, बार्यन म्युनिख, एसी मिलान र युभेन्टस रहेका छन् ।

तर रियल मड्रिडले एक पटक होइन दुई पटक यस्तो गर्न सफल भएको हो । रियल मड्रिडको किएभमा हुने फाइनल यात्रा युरोपियन कपमा १६ औँ हुनेछ र यो अरु कुनै पनि क्लबको भन्दा धेरै हो ।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्