के तपाईंको सास गन्हाउँछ? यसरी हटाउनुस्!

काठमाडौँ- मानिसको स्वासको दुर्गन्ध हुनुमा मुखको सरसफाइमा कमी या कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ। यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन।

मुख वा स्वासको दुर्गन्धलाई डाक्टरी भाषामा ‘हयालिटोसिस’ भनिन्छ।यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ। यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्‍न हुन्छ, मुखमा दुर्गन्ध आउनुको मुख्य करण दाँतको उचित सरसफाइ नहुनु नै हो।

राति सुतेर बिहान उठ्नेबित्तिकै अलिअलि मुख गन्हाउनु सामान्य हो। यो गन्ध उपयुक्त प्रकारले ब्रस गर्दा जान्छ। मुखमा दुर्गन्ध उत्पन्‍न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा,थुक र खुन लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो। यी सबैको बीच जब प्रोटिन टुट्छ तब सल्फर तत्व उत्पन्‍न हुन्छ जसको गन्ध धेरै असह्य हुन्छ।

जिब्रोमा बस्ने लेदोले समेत मुख गन्हाउने गरेको छ। जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत गन्हाउने समस्या कम हुन्छ। मुखको सरसफाइबाहेक कहिलेकाहीं गिजाको विभिन्न रोग हुँदा, जिब्रोमा जीवाणु जम्दा, मुखमा घाउ हुनु, गलत रूपले दाँत भर्नु, प्याज र लससुन आदि खाद्य पदार्थको उपयोग, लामो समयसम्म औषधि सेवन गर्नु, जटिल रोगसमेत मुख गनाउने कारक हो।

कसैकसैमा घाँटीको संक्रमणले गर्दासमेत मुख गन्हाउँछ, ८० प्रतिशतसम्म मुख गन्हाउने कारण दाँतको बीच खाना अड्किएर कुहिएर गन्हाउनु हो। तनावका कारण पनि मुख गन्हाउछ। तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउछ यसैले प्रशस्त पानी र फलफूल सेवन गर्नुपर्छ।

मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा यसले बास्नाभन्दा पनि मुखमा र्‍यालको प्रवाह कायम गर्दा मुख गन्हाउने समस्या कम हुने हो। अमेरिकन डेन्टल एसोसिएसन अनुसार अपर्याप्त दाँतको सरसफाइ, मुखको संक्रमण, सास नलीको संक्रमण, लसुन, प्याज, धूमपान, मद्यपानजस्ता बाहय स्रोत, सुक्खा मुख, मधुमेह,मृगौला ,फोक्सो, कलेजो पिनास लगायतका कारण बिरामी हुनु पनि मुख दुर्गन्धको कारण हुन सक्छन्।

दुर्गन्धबाट बच्‍न खाना खाएपछि ब्रस गर्न नसके पानीले राम्ररी कुल्ला गर्नुपर्छ। यस्तै, चिनी रहित चुइँगम चपाउँदा पनि मुखमा पानी आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन। विज्ञहरूका अनुसार दुर्गन्धको कारणलाई जरोदेखि नष्ट गरे मात्र यो समस्याबाट मुक्ति पाउन सकिन्छ।सामान्य रूपमा मुखको राम्ररी सफाइ गर्दा रोग र गन्ध उत्पन्न गर्ने जीवाणु नष्ट हुन्छ। तर यदि समस्या जटिल वा सामान्य सरसफाइले समेत निको नभए दन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

दुर्गन्ध हटाउने उपाय ?


  • बिहान र राति खाना खाइसकेपछि दाँत माझ्‍ने
  • सम्भव भए केही खाए पिच्छे दाँत माझ्‍ने
  • दाँत माझ्दा जिब्रो सफा गर्न नबिर्सने
  • मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्ने
  • बेला बेलामा दाँत र मुखको चिकित्सकलाई देखाउने

(दन्त चिकित्सक जुनु लोहनीसँग देश सञ्‍चारकी विन्दु शर्माले गरेको कुराकानीमा आधारित)

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्