मनोमानी ढंगले सरुवाबढुवा नगर्न कामु प्रधानन्यायाधीशलाई ध्यानाकर्षण

 

काठमाडौँ- सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराईसहितको टोलीले बुधबार कामु प्रधानन्यायाधीश जोशीलाई बुझाएको ध्यानाकर्षणपत्रमा पदपूर्ति, सरुवा, पदस्थापन, स्वदेश/विदेश अध्ययन, अवलोकन भ्रमण, तालीम जस्ता काम कारवाही क्यालेन्डर तथा निश्चित मापदण्ड बनाएर गर्नुपर्ने उल्लेख छ।

कुनै मापदण्डबिना मनोमानी ढंगले यस्ता क्रियाकलाप गर्ने परम्पराको अन्त्य गर्दै अबका दिनमा पारदर्शी एवं कानुनसम्मत बनाउन ट्रेड युनियनले माग गरेको छ।

कामु प्रधानन्यायाधीश जोशीले मागलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै आगामी दिन निश्चित मापदण्ड बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्