अस्थायी भवनमै सकियो पहिलो अधिवेशन

कर्णाली प्रदेश संसदले एक महिनाभित्र स्थायी भवन पाउने

सुर्खेत-करिब तीन महिनासम्म चलेको कर्णाली प्रदेशको पहिलो संसद अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ। प्रदेशको नाम र राजधानीको टुंगो लगाउनेदेखि सरकारको नीति तथा कार्यक्रमसहित बजेट पारित गर्दै सकिएको पहिलो अधिवेशनका २२ वटा वैठक भने अस्थायी संसद भवनमा नै सम्पन्‍न भएका छन्।

यी भवन मर्मतमा भएको ढिलाईका कारण पहिलो संसद अधिवेशन अस्थायी भवनमा सकिएको हो। भौतिक संरचना र कर्मचारी अभाव झेलेको कर्णाली प्रदेशसभा सचिवालयले पहिलो हिउँदे अधिवेशन अस्थायी संसद भवनमा नै सम्पन्‍न गरेको हो।

प्रदेश सरकार सञ्चालनका लागि भौतिक व्यवस्थापनको जिम्मेवारी पाएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले स्थायी संसद भवनका लागि क्षेत्रीय शैक्षिक तालिम केन्द्रलाई उपयुक्त भएको प्रतिवेदन केन्द्र सरकारलाई बुझाएको थियो।

प्रतिवेदनमा उक्त भवन ‘इको साउण्ड’ का कारण संसद वैठकहरु बस्न नमिल्ने उल्लेख भएसँगै यो अधिवेशनका २२ वटा बैठक नै अस्थायी संसद भवनको रुपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयमा सकिएका हुन्।

पर्याप्त भौतिक संरचना र सुरक्षाको दृष्टिकोणले उपयुक्त मानिएको तालिम केन्द्रको भवन प्रतिवेदन पेश गरेको करिव सात महिना वितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन। उक्त भवनको स्तरोन्नतीको काम भने अझै अधुरै छ। मर्मत र सुधार लगायतका काममा ढिलाइ हुँदा स्थायी संसद भवन वैठक सञ्चालनमा आउन नसकेको हो।

प्रदेशसभा सदस्यहरुले पनि पटक पटक संसद भवनको व्यवस्थापन गर्न आवाज उठाउँदै आएका छन्। अधिवेशन समापनका क्रममा बोल्ने अधिकाशं सांसदहरुले पनि आगामी संसद वैठक स्थायी भवनमा बसाल्ने गरि कर्णाली प्रदेश सरकारले काम गर्न ध्यानाकर्षण गराएका थिए। अस्थायी संसदमा व्यवस्थित नहुँदा समस्या भएको भन्दै उनीहरुले तत्काल स्थायी संसद भवनको निमार्ण तर्फ सरकार गम्भिर हुन आग्रह गरे।

भवनको व्यवस्थापनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण डिभिजन क्षेत्रीय कार्यालय सुर्खेतले सरकारी प्रक्रिया पुरा गर्दा भवन मर्मतमा ढिलाई भएको बताएको छ। कार्यालयका अनुसार गुणस्तरिय र उत्कृष्ट भवनका निर्माणका लागि टेन्डर आह्वान गर्दा ढिलाई भएको हो।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख थम्वराज श्रेष्ठले भवन मर्मत सुधारका लागि टेण्डर आह्वान सँगै काम तीव्र पारिएको बताए। जतिसक्दो छिटो संसद बैठक सञ्चालन गर्न सकिने गरि काम अघि बढाइएको उनले बताए। ‘भवन मर्मत कार्यलाई पाँच भागमा विभाजन गरिएको छ’ उनले भने, ‘एक महिना भित्रै बैठक बस्न सक्ने गरि निर्माण थालिएको हो।’

प्रदेशसभा हल भित्रको दर्शक दिर्घाको लेभल राईज गर्ने तथा अन्य सिभिल काम, स्तरोन्नती कार्य अन्तर्गतको व्यवस्थापन सम्बन्धि काम, आवश्यक पर्ने फिनिसिंग सम्वन्धि काम, पर्खाल रंगरोगन, रेलिङ्गसम्वन्धि काम र इलेक्ट्रिकल व्यवस्थापनको काम तीव्र पारिएको उनले जानकारी दिए।

भवनको मर्मत कार्यमा बी एण्ड पी निर्माण सेवाले १९ लाख ५७ हजार एक सय ७० रुपैयाँ लागतमा दर्शक दिर्घाको लेभल गर्ने तथा शिभिलको काम निर्माण थालेको छ। १९ लाख ८३ हजार ४० रुपैयाँमा पीएस कन्स्ट्रक्सनले भवनको स्तरोन्‍नति अन्तरगत साउन्ड ‘इको’ व्यवस्थापन गर्ने काम तीव्र पारेको छ।

प्रविन निर्माण सेवा सुर्खेतले १९ लाख २३ हजार ५ सय ३३ रुपैयाँ लागतमा प्रदेश सभाहलको लागि आवश्यक पर्ने फिनिसिंगको काम थालेको छ। सभाहलको स्तरोन्नती कार्य अन्तरगत वाल प्यान्टिङ्ग तथा रेलिङ्ग व्यवस्थापनका लागि वविता निर्माण सेवाले काम गरेको छ। जसका लागि १८ लाख ९० हजार ८ सय ४३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ।

यस्तै, पीएस कन्स्ट्रक्सन सुर्खेतले सभाहल भित्र विद्य‌ुतत जडानको काम सुरु गरेको छ। १९ लाख ९३ हजार ३ सय ३२ रुपैयाँ लागतमा उक्त काम थालिएको हो। आगामी दोस्रो संसद अधिवेशन उक्त भवनमा बसाल्ने गरि मर्मतको तीव्र तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ। तालिम केन्द्र परिषरमा प्रदेश सभा सचिवालय भने करिव एक महिना पहिल्यै सरिसकेको छ।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्