३३ किलो सुन तस्करी प्रकरण

कुन-कुन प्रहरी अधिकारीलाई कस्तो-कस्तो मुद्दा?

पूर्वडिआइजी गोविन्द निरौलासहित अन्य अभियुक्तहरु। तस्बिरहरु: अभयकुमार राई

काठमाडौं- ३३ केजी अवैध सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले पहिलो चरणको अनुसन्धान सकेको छ।

पहिलो चरणमा कर्तब्यज्यान, संगठित अपराध, अपहरण लगायत विभिन्न कसुरमा ६३ जनाविरुद्ध बुधबार मुद्धा दायर भएको छ।

प्रतिवादीमा नेपाल प्रहरीका पूर्व तथा बहालवाला ९ जना पनि छन्। पूर्वडीआइजी गोविन्द निरौला तथा बहालवाला एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपीद्य प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल, हवल्दार अम्मरबहादुर थापा मगर  र  जवान विष्णु खड्काविरुद्ध मुद्दा दर्ता भएको छ। सबैलाई संगठित अपराधका विभिन्न दफा लगाएर मुद्दा दायर गरिएको छ। त्यसबाहेक सई सन्जेललाई कर्तब्य ज्यानको पनि मुद्दा लगाइएको छ।

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ले त्रिभुवन विमानस्थलबाट भित्रिएको आफ्नो ३३ केजी सुन बेपत्ता बनाएको आरोपमा सनमको हत्या गरेका थिए। त्यसअघि सनमले गोरेको सुन तस्करीमा सहयोगीको भूमिका निर्वाह गर्दै अाएका थिए। ३३ केजी सुन कहाँ छ, अझै फेला पर्न सकेको छैन। गिरोहका प्रमुख नाइके गोरे पनि फरार छन्।

कुनै समय विमानस्थल सुरक्षामा काम गरेका  निरौला, खनाल , राउत र खत्रीविरुद्ध  संगठित अपराधअन्तर्गत गोरेलाई सुन तस्करीमा सघाएको अभियोग छ। यसैगरी सन्जेलविरुद्ध गोरेको संगठित अपराधको सदस्य भई सनम हत्यामा समेत प्रत्यक्ष-परोक्ष संलग्न भएको आरोप छ।

महानगरीय अपराध महाशाखाको टोलीले गत फागुन १९ गते विराटनगरबाट एक गाडीको डिकीमा राखेर लैजाँदै गरेको अवस्थामा सनमको लास बरामद गरेको थियो। उक्त लास ब्यवस्थापन गरिदिने र गोरेलाई बचाउने योजना बनाएको आरोप महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलविरुद्ध लागेको थियो।

एसएसपी दिवेश लोहनी।

स्रोतका अनुसार आरोपित प्रहरी अधिकारीमध्ये सबैभन्दा कमजाेर दफा लोहनी र केसीविरुद्ध लगाइएको छ। छानबिन समितिका एक सदस्य भन्छन्, ‘सुन तस्करीमा यी दुवैको संलग्नता देखिदैन। सनमको लास बरामद गर्ने सवालमा दुवैले राम्रोसँग जिम्मेवारी निर्वाह नगरेको देखिन्छ।’

प्रहरीलाई पटकपटक सुन तस्करीबारे सूचना दिने गरेका गोरेले सन्जेललाई फोन गरी सनमको लास ब्यवस्थापन गरिदिन आग्रह गर्दै त्यसबापत मोटो रकम समेत दिने प्रलोभन देखाएको उनले बयानमा उल्लेख गरेका थिए। एसएसपी लोहनीले गोरेलाई नियन्त्रणमा लिन दुई करोड रुपैयाँ दिए ब्यवस्थापन गरिदिने नाटक गरेको र यसबारे सम्पूर्ण जानकारी प्रहरी प्रधान कार्यालयलाई भएकाे बयानमा बताएको बताइन्छ। छानबिन समितिका अनुसार गोरे र सन्जेलबीच पटकपटक सम्पर्क भएको थियो। स्रोतका अनुसार प्रतिवादी बनाइएकाहरुविरुद्ध संगठित अपराध निवारण एेनका विभिन्न दफा तथा उपदफाहरु लगाइएको छ।

समितिका एक सदस्य भन्छन्, ‘सम्पर्क रहेकै आधारमा मात्र हामीले मुद्धा चलाएका छैनौ। अरु बलिया प्रमाणहरु पनि छन्।’ छानबिन समितिले सुन तस्करीको छानबिन निरन्तर रहने बताउँदै केही दिनभित्रै राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ। छानबिन समितीमा प्रहरीका एक निरीक्षक,  एक नायब निरीक्षक र एक वरिष्ठ उपरीक्षक पनि सदस्य छन्।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्