भारतीय सुरक्षा निकायले गरे जनकपुरमा मोदीको स्वागतस्थल निरीक्षण

भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित भारतीय अधिकारीहरु बुधबार जनकपुरस्थित बाह्र बिघा मैदानको निरीक्षण गर्दै। तस्बिर: प्रतिभा झा

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी तथा सुरक्षाबारे बुझ्न भारतीय सुरक्षा निकायले जनकपुरको निरीक्षण गरेका छन्।

वैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीका लागि भारतीय सुरक्षा निकायले बुधबार जनकपुरको एेतिहासिक रंगभूमि मैदान बाह्रविघामा मैदानको निरीक्षण गरेका छन्।

हेलिकप्टर अवतरणका लागि हेलिप्याड, अभिनन्दन एवं सम्बोधनको लागि मञ्च र जानकी मन्दिरको दर्शनका लागि व्यवस्थापन लगायतका विषयमा भारतीय उच्च सुरक्षा अधिकारी, भारतीय परराष्ट्र मन्त्रालयका अधिकारी र भारतीय राजदूतावासका अधिकारीहरुले निरीक्षण गरेका हुन्।

यस्तै, उनीहरुले प्रदेश नं. २ सरकार र सुरक्षा अधिकारीसँग छलफल समेत गरेका छन्।

पटनाबाट भारतीय सेनाको हेलिकप्टरबाट जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीको सहित तीन वटा हेलिकप्टर अवतरणका लागि बाह्रविघामा तीन वटा हेलीप्याड बनाउन, प्रधानमन्त्री मोदी प्रवेश गर्ने द्वारको ठीक विपरीत सर्वसाधारण प्रवेश गर्ने गेट निर्माण गर्न, आठ फिट उचाइको मञ्च निर्माण गर्न उनीहरुले उपस्थित प्रदेश सरकार, जनकपुर उपमहानगरपालिका र स्थानीय प्रशासनका प्रतिनिधिलाई सुझाव दिएका छन्।

त्यसक्रममा भारतीय हवाई सेनाका हेलिकप्टर समेत बाह्रविघामा अवतरण गरेर परीक्षण गरिएको छ ।

निरीक्षणको समयमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरु, भारतीय सुरक्षा निकायका आईजी, भारतीय राजदुत मञ्जिव सिंह पुरी लगायत स्थानीय प्रहरी प्रशासनको उपस्थिति थियो ।

बैशाख १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्