बलिउडमा अवसरकाे नाममा यौन शोषण

एजेन्सी–भारतको सानो सानो गाउँ र शहरबाट हरेक वर्ष हजारौँ युवायुवती चलचित्रको स्टार बन्ने सपना बुनेर मुम्बई पुग्छन्। तर धेरैलाई मुम्बई पुगेर बडिउडमा आफ्नो भाग्य प्रयोग गर्ने अनुभव एउटा नराम्रो वास्तविकता बन्छ।

भारतका केही अभिनेत्रीहरुले यो समय पार गरिसकेका छन्। कति आफ्नो जोडि कलाकार र कति आफ्नो निर्देशकको यौन शोषणको सामना गरेको बताउँछन्।

६ वर्ष अगाडि नाम परिवर्तित सुजाताले आफ्नो रुढीवादी मान्यता राख्‍ने घर परिवारलाई मुम्बई गएर कलाकार बन्ने अनुमति लिइन्, धेरै मेहेनत गरेर मनाइन्। त्यतिबेला उनको उमेर मात्र १९ वर्षको थियो, कलाकारीताको सीप कम थियो, जनसम्पर्क शून्य। त्यसपछि उनको भेट त्यस्ता व्यक्तिसँग भयो, जसले उनलाई फिल्मी क्षेत्रमा लाग्ने तरिका सिकाइरहेका थिए।

यीनै मध्येका एक कास्टिङ एजेन्टले सुजातालाई आफ्नो अपार्टमेन्टमा भेट्न बोलाए। सुजातालाई यसमा केही गलत लागेन, किनभने यस्ता महत्वपूर्ण मिटिङहरु यस्तै अपार्टमेन्टमा हुने गर्दथ्यो। तर उसँग जे भयो त्यो एकदमै दर्दनाक थियो।

उनी बताउछिन्, ‘उ मेरो नजिक आयो, मेरा शरिरलाई छुन थाल्यो । बिस्तारै मेरो कपडा खेल्न थालेपछि म स्तब्ध भए ।’ जब सुजाताले उसलाई रोक्न खोजिन्, उसले भन्यो, ‘यस्तो व्यवहार इन्डस्ट्रीको लागि राम्रो हुँदैन।’

उनले काम प्राप्त गर्नको लागि धेरै पटक यौन शोषणको सामना गर्नुपरेको छ। उनी एक पल्ट प्रहरीकोको पनि पुगेकी थिइन् तर उनको गुनासोको सुनवाई भएन, त्यसको सट्टा प्रहरीले बताए फिल्मी संसारका मानिसहरु जे चाँहे त्यहि गर्न सक्छन्।

यो बारेमा कुरा गर्दा आत्तिएकी र डराएकी सुजाताले आफ्नो पहिचान लुकाउनको लागि अनुरोध गरेकी थिइन्। उनलाई लाग्छ, यदि कोही महिला कलाकारले खुलेर कुरा गरेमा उसलाई प्रचार प्राप्त गर्नको लागि यस्तो गरेको भन्ने आरोप लाग्छ र उसको छवि बिग्रन्छ।

भारतीय फिल्मी क्षेत्रमा धेरै मानिसले यो मान्छन्, जहाँ चलचित्रमा दिइएको रोलका बदलामा सेक्सुअल फेभर माग्नु सामान्य कुरा हो।

बदलाको डर

बिबिसीले झण्डै एक दर्जन युवा अभिनेत्रीसँग कुरा गरेको थियो। उनीहरुले चलचित्रको पात्रको अभिनय गर्नको लागि भद्दा टिप्पणी र यौन शोषणको सामना गर्नुपरेको थियो। धेरै अभिनेत्रीले आफ्नो पहिचान लुकाउन अनुरोध गरे किनकी उनीहरुलाई झूठी भनिने र पछि बदला लिन्छन्की भन्ने डर पनि छ।

Sujata of Ballyword Actress

केही अभिनेत्री यस्ता पनि छन् जसले आफूमाथि भएको यौन शोषणको बारेमा खुलेर कुरा गरेका छन्। राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित नायिका उषा जाधव पनि आफूमाथि भएको यौन शोषणको बारेमा खुलेर कुरा गर्नेमध्येकी एक हुन्।

वीरप्पन, भूतनाथ जस्तो चलचित्रमा काम गरीसकेकी उनी आशा गर्छिन् की उनको आनुभव थाहा पाएपछि अरु अभिनेत्री पनि अगाडि आउने छन्।

उषालाई पहिलोपटक मुम्बई आउँदा चलचित्रमा काम गर्नको लागि निर्माता वा निर्देशकसँग रात बिताउन पर्छ भनिएको थियो। आफूमाथि भएको एक घटनालाई सम्झँदै उनले भनिन्, ‘हामी तिमीलाई केहि दिँदै छौ, यसको बदलामा तिमीले पनि हामीलाई केहि दिनुपर्छ।’

उषा भन्छिन् ‘केहि युवा अभिनेत्रीलाई लाग्छ यस्तो सम्झौतामा सहमति नजनाउनुको विकल्प नै छैन।’ उषाले यस्तो सम्झौतामा सहमति नजनाएकोले उनलाई धेरै धम्कि आएको सुनाइन्।

धम्काउने व्यक्तिले उनलाई प्रस्ताव अस्वीकार गरेकोमा आफ्नो चलचित्रमा काम गर्न नदिने बताएका थिए। ‘उसले मलाई गालि गर्दै भन्यो अब तलाई एउटा पनि राम्रो रोलमा काम गर्ने अवसर आउँदैन, अब अगाडि केहि राम्रो हुने छैन र मैले भने त सँग यति धेरै शक्ति नै छैन।’

अर्की अभिनेत्री राधिका आप्टेले भनिन् ‘यो शक्ति नै यस्तो हतियार हो जसले यस्तो चिजलाई जन्माउँछ। आप्टेले भर्खरै प्याडम्यान चलचित्रमा काम गरेकी हुन्।

उनले भनिन् ‘मैले यो विषयमा खुलेर कुरा गरे, फिल्मी क्षेत्रमा मैले यस्ता महिलाको अवस्था बुझेको छुँ, उनीहरुमाथि मलाई दया लाग्छ जो अझै यो विषयमा बोल्न डराउँछन्।’

भारतमा अभिनय क्षेत्रमा आउनको लागि सरल अथवा निर्धारित तरिका छैन, यहि कारणले अभिनेत्रीहरु यस्तो समस्या झेलिरहेका छन्। उनी बताउँछिन्, ‘भारतीय फिल्ममा राम्रो मौका धेरै मुस्किलले भेटिन्छ। निजी सम्पर्क, सोसाइटिमा हाम्रो पहुँच, हामी कस्तो देखिन्छौ भन्ने कुराले निर्धारण गर्छ।’

तर हलिउडमा एउटा औपचारिक प्रक्रिया छ, जसमा एक्टिङ स्कूलमा प्रवेश लिन र स्टेज शोको माध्यमबाट चलचित्रमा आफ्नो रोल प्राप्त गर्न सकिन्छ। राधिका चाहन्छिन्, ‘हलिउडको जस्तै बलिउडमा पनि ‘मि टू’ क्याम्पियन चलोस् तर यो तबसम्म सम्भव छैन, जबसम्म प्रतिष्ठित व्यक्तिहरु पीडितको समर्थन गर्दैनन्।’

युवा खुलेर कुरा गर्दैनन्

बलिउडमा अर्को नाम चलेकी अभिनेत्री कल्कि केकलांले आफू सानो हुँदा आफूमाथि भएको शोषणको बारेमा बताइसकेकी छिन्। युवा अभिनेता र अभिनेत्रीले आफूमाथि भएको शोषणको, गलत व्यवहारको बारेमा खुलेर कुरा नगर्नेलाई उनी बिचरा भन्छिन्।

कल्की भन्छिन्, ‘यदि तपाइको पहिचान छैन भने तपाईको कुरा कसैले पनि सुन्दैन तर तपाई सेलिबे्रटी हो भने तपाइले बोलेको कुरा हेडलाइन हुन्छ।’

भारतको चलचित्रको बजार ठूलो छ। विभिन्न भाषामा बन्ने क्षेत्रीय सिनेमामा घट्ने यस्ता घटनाको कुरा बाहिर पनि पुगेको हुन्छ। अहिले अभिनेत्रीहरु यस विषयमा बोल्ने भएका छन्।

केही समय अगाडिमात्र दक्षिण भारतको तेलुगु फिल्म इन्डस्ट्रिकी अभिनेत्री श्रीरेड्डीले दुर्व्यवहारको बिरोध गर्दै एक फिल्म एसोसियसनको परिसरमा सार्वजनिक रुपमा कपडा खोलेकी थिइन्।

सुरुमा यो कुरालाई सस्तो लोकप्रियता भएको टिप्पणी गरियो र स्थानीय कलाकार यशोसियसनले उनलाई प्रतिबन्ध लगायो। तर मानव अधिकार आयोगले यो प्रतिबन्ध फुकुवा गरायो र यो विषयको अनुसन्धानको लागि यौन उत्पीडित कमिटी बनायो।

श्रीरेड्डीले एक अन्तवार्तामा भनेकी थिइन, ‘यदि चलचित्रकर्मी मेरो नग्न तस्वीर माग्छन् भने म सार्वजनिक रुपमा नै कपडा खोलिदिन्छु।’

केहि समय अगाडि एक अभिनेत्रीलाई कथित अपहरण गरियो र उनीमाथि यौन दुर्व्यवहार गरियो। यो घटना पछि दक्षिण भारतको करेलमा महिलाको कल्याणको लागि एक समूह गठन गरियो तर यौन उत्पीडन यो सम्प्रदायमा मात्र सीमित छैन।

पुरुष अभिनेताको आवाज

यो विषयको कुराकानीमा बलिउडका अभिनेता रनवीर सिंहले सन् २०१५ मा एक इन्टरभ्यू दिँदा कास्टिङ काउचको सामना गर्नुपरेको बताए। उनी यसको विरुद्धमा छन्। यस्तै फराहन अख्तर पनि यस्तो दुर्व्यवहारको विरोध गर्छन्।

उनी दुर्व्यवहारमा परेका महिलालाई प्रेरित गर्नुपर्ने बताउछन् ताकी उनीहरु यस बारेमा खुलेर कुरा गर्न सकून। फरहान पनि हलिउडमा जस्तै मि टू क्याम्पियन आवश्यक भएको बताउँछन्।

तर पनि धेरै महिलाले कुराकानीको क्रममा बताएका छन्, यो विषयमा प्रमुख व्यक्तिहरु चुपचाप बसेसम्म केहि परिवर्तन हुँदैन। अनि जब सम्म त्यो समय आउँदैन बलिउडमा यौन उत्पीडन र दुर्व्यवहार अरु कहानीजस्तै एक कहानी रहि नै रहनेछ।

स्रोत : बिबिसी

बैशाख २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्