गोलाप्रथाबाट न्यायधीश छानेर सुनकाण्डका अभियुक्तमाथि बयान लिइने

मोरङ – साढे तेत्तिस किलो सुन र सनम हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तमाथि बयान लिने कार्य सुरु हुँदैछ ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले साढे एघार वा बाह्र बजेबाट बयान सुरु हुनेछ । अहिले अदातलले मिसिल रुजु तथा अध्ययन गर्ने काम भइरहेकोछ ।

अदालतका अनुसार बुधबारसम्म दर्ता भएका सबै मुद्धामा पहिलो चरणमा गोलाप्रथाबाट न्यायाधीशको चयन हुनेछ । त्यसपछि, बयान कार्य अघि बढ्नेछ । सो क्रममा एउटै घटनामा पक्राउ परेका धेरै भएकाले अदालत दुई स्थानमा बयान लिन सक्ने बताइएको छ।

अदालतका श्रेस्तेदार दुलालका अनुसार २९ जनाको बयान लिनुपर्ने भएको र आइतबारसम्म बयान सक्ने लक्ष्य लिएको हुनाले बयान धेरै स्थानमा लिन सकिने बताइएको छ ।

सबै आरोपीहरुको बयान कार्य सकेर उनीहरुलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश अदालतले लिने उनले बताए ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएका आरोपीहरुलाई अदालत पुर्‍याइन्छ ।

उक्त घटनामा पक्राउ परेका २९ जनाविरुद्ध संगठित अपराध अन्तर्गतको अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको मुद्धा दर्ता भएको छ।

सुन तस्करीमा संलग्न रहेकाहरुलाई र सनम हत्याका अभियुक्त भगाउन सहयोग गरेको भन्दै अवकाश प्राप्त पूर्व डिआईजी गोविन्द निरौला, महानरीय प्रहरी अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु संजय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का पक्राउ परेका छन् ।

त्यसैगरि प्रहरी सेवासँग जोडिएका बाहेक २२ जनालाई पक्राउ गरेर मुद्धा दर्ता गरिएको हो । मुद्धा दर्ता गरिएका अन्य अभियुक्तमा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, राजन गुरुङ, भुजुङ गुरुङ, आर के भनिने राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने माहावीरप्रसाद गोल्यान अग्रवाल, एमबी मगर भनिने लालबहादुर मगर, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, हेमन्त पौडेल, राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु छन् ।

घटनाका मुख्य नाइके उर्लाबारी ७ का चुडामणी उप्रेती गोरे, एसएसपी श्यामबहादुर खत्रीसहित ३४ जना भने अझैपनि फरार रहेकाछन् ।

 

बैशाख २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्