प्रदेश ७ को पहिलो संसद अधिवेशन अन्त्य, ३ महिनामा २१ बैठक

धनगढी – प्रदेश नम्बर ७ को पहिलो संसद अधिवेशन बिहीबार अन्त्य भएको छ । प्रदेश नम्बर ७ मा गएको माघ २१ गते पहिलो बैठक बसेको थियो । बिहीबार प्रदेश संसदको २१ औँ बैठक बसेपछि अधिवेशन अन्त्य भएको हो ।
बुधबार मन्त्री परिषद बैठकले प्रदेश प्रमुख मोहनराज मल्ललाई संसद अधिवेशन अन्त्यका लागि पत्राचार गरेको थियो ।
बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले पहिलो संसद अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सभामुख अर्जुनबहादुर थापाले संसद अधिवेश अन्त्य गरिएको घोषणा गरे ।
३ महिनामा २० दिन, २१ बैठक
प्रदेश ७ मा पहिलो प्रदेशसभा बैठक २०७३ माघ २१ गते बसेको थियो । पहिलो बैठक बसेको ठिक ३ महिनामा पहिलो संसद अधिवेशन अन्त्य गरिएको हो ।
सभामुख अर्जुनबहादुर थापाका अनुसार ३ महिनामा २१ पटक बैठक बसेको छ । कुल २२ घण्टा ५० मिनेट बसेको संसद सचिवालयले जनाएको छ ।
तिन महिनामा ससदले के–के गर्यो काम ?
- प्रदेशसभा नियमावली पारित
- प्रदेशसभा नियमावली अन्तर्गतका विषयगत समिति गठन
- प्रदेशको लागो निर्धारण
- प्रदेशके आर्थिक कार्यविधि पारित
- सरकारको तर्फबाट नीति तथा कार्यक्रम ससदमा प्रस्तुत गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्ललाई धन्यवाद प्रस्ताव पारित
- चालु आर्थिक वर्ष २०७४/७५ को वाकी अवधिका लागि अल्पकालीन बजेट र बिनियोजन विधेयक पारित
- प्रदेशसभा सदस्यको मर्यादाक्रम १४ बाट ९ औँ नम्बरमा कायम राख्नका लागि दर्ता गरिएको सकल्प प्रस्ताव पारित
हुन्न भन्ने आवाज सुनिएन
ससदमा सभामुख अर्जुनबहादुर थापा विधेयक, प्रस्ताव निर्णयार्थ पेश गर्दा जहिले नि भन्थे, ‘हुन्न भन्ने आवाज सुनिएन त्यसैले यस विधेयक वा प्रस्तावलाई सर्वसम्मत पारित भएको घोषणा गर्दछु ।’
७ नम्बर प्रदेशको पहिलो संसद अधिवेशनमा हुन्न भन्ने आवाज सुनिएन । धेरै विषयमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका १४ सांसदले हुन्छ भने, केहीमा मौन समर्थन गरे ।