अस्पतालजन्य संक्रमणका कारण बिरामी जोखिममा

काठमाडौं – रोटरी क्लब दरबारमार्गले चिकित्सक तथा कर्मचारीको हेलचेक्र्याइले अस्पताल लगायत स्वास्थ्य संस्थामा फैलिने संक्रमणका कारण बिरामीको ज्यान जोखिममा परेको भन्दै त्यसको रोकथामका लागि सम्बन्धित संस्था र व्यक्ति सचेत हुनुपर्ने सुझाएको छ।

क्लबले बिहीबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र कर्मचारीलाई सचेत गराउँदै बिरामीको सुरक्षाका लागि अस्पतालजन्य संक्रमण न्यूनीकरणमा ध्यान दिन उनीहरुलाई आग्रह गरेको हो।

क्लबका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले अस्पतालले स—साना कुरामा ध्यान नदिँदा संक्रमण उत्पन्न भई बिरामीसँगै उनीहरुलाई जाँच गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी समेत त्यसबाट प्रभावित बन्न थालेको बताए।

‘चिकित्सकले प्रयोग गर्ने एप्रोनदेखि लिएर स्टेथेस्कोप र उपचारक्रममा प्रयोग हुने उपकरण राम्रोसँग निर्मूलीकरण नगर्दा र बिरामी तथा उनीहरुलाई भेट्न आउने आफन्तहरुमा सरसफाइको कमी हुँदा विभिन्न किसिमका संक्रमण फैलिने गर्छ। अस्पतालमा फैलिने संक्रमणका कारण बिरामीले कडा किसिमका एन्टिबायोटिक खानुपर्ने बाध्यतासमेत आएको छ’, डा. बरालले स्पष्ट पारे।’

कतिपय चिकित्सक, कर्मचारी र बिरामीलाई संक्रमणबारे राम्ररी जानकारी नहुँदा रोग उपचारका लागि अस्पताल पुग्नेहरु झनै प्रभावित बन्ने अवस्था आएको डा. बरालले बताए।

आयोजक संस्थाका अन्य प्रतिनिधिहरुले अस्पतालका कार्यालय सहयोगीहरुले सरसफाइ राम्ररी ध्यान नदिँदा संक्रमणको जोखिम बढेकोमा चिन्ता प्रकट गरे।

‘संक्रमितको नमूना परीक्षण हुने ठाउँ प्रयोगशाला अति नै संवेदनशील भएकाले त्यहाँ काम गर्ने हरेक कर्मचारीले ध्यान पुर्‍याउन आवश्यक छ। पञ्जा लगाएरै नमूना परीक्षण गर्न र परीक्षणमा प्रयोग हुने उपकरणको निर्मूलीकरण गर्न अत्यन्तै आवश्यक छ’, डा. बरालले भने।

कार्यक्रमका सहभागीले अस्पतालमा बिरामी भेट्न आउनेहरु अनुमतिबिना आइसीयु, शल्यक्रिया कक्ष लगायत गम्भीर अवस्थाका बिरामी राखिएका ठाउँमा जाँदा किटाणुरहित हुन अस्पतालको विशेष नियम अपनाउनुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य मन्त्रालयका चिकित्सक सुशील प्याकुरेलले त्यसलाई स्वीकार गर्दै अस्पतालजन्य संक्रमणको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको र त्यसमा निगरानी बढाउने बताए।

बैशाख २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्