श्रीदेवीको साडी लगाएर जाह्नवी पुगिन् अवार्ड लिन

भारतीय चलचित्र उद्योगमा सम्झिरहने नाम हो, श्रीदेवी । गएको फेब्रुअरीमा श्रीदेवीको अप्रत्यासित निधनले विश्वभर रहेका उनका शुभचिन्तक शोकमा डुबे ।

पारिवारिक कार्यक्रमका लागि दुबई गएका बेला श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको हो । सुरुमा हृदयघातका कारण निधन भएको बताइए पनि पछि उनको निधन अचानक बेहोस हुँदा बाथटपमा डुबेर भएको भन्ने खबर आयो ।

भारतीय चलचित्र उद्योगमा श्रीदेवीलाई अभिनेता भन्दा बलियो भूमिका मिल्ने गरेको थियो । उनको पछिल्लो चलचित्र थियो, मम । श्रीदेवीले मम चलचित्रमा निर्वाह गरेको भूमिकाका लागि राष्ट्रिय अवार्ड जितेकी छन् ।

बिहीबार भएको ६५ औँ राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा श्रीदेवीका श्रीमान बोनी कपूर तथा छोरीहरु जाह्नवी र खुशीले अवार्ड लिए । श्रीदेवीले मम चलचित्रमा खेलेको भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेत्री अवार्ड जितेकी हुन् ।

पुरस्कार वितरण समारोहमा जाह्नवी श्रीदेवीको साडी लगाएर गएकी थिइन् । यस्तै निधन भएका अभिनेता विनोद खन्नालाई दादा साहेब फाल्के पुरस्कार प्रदान गरियो । उनको छोरा अक्षय खन्ना र विनोद खन्नाकी श्रीमती कविताले पुरस्कार ग्रहण गरे ।

पुरस्कार लिएपछि श्रीदेवीका श्रीमान बोनीले अहिले श्रीदेवी निकै खुशी रहेको हुनु पर्ने बताए । आफूहरुले श्रीदेवीलाई सम्झिरहेको उनले बताएका छन् ।

बैशाख २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्