बजारका मानिसलाई चर्पीमा दिसा गराउनै धौ-धौ

बसुदेवपुर खुल्ला दिसामुक्त घोषणा हुँदाको क्षण। तस्बिर- कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्ज- नेपालगञ्ज बजारका मान्छेलाई चर्पीमा दिसा गराउन धौ-धौ परेको छ। सरसफाईमा ध्यान दिदै आफैले जानेर, बुझेर चर्पीमा दिसा गर्नु पर्नेमा प्रहरी लगाएर चर्पी बनाउन लगाई दिसा गराउनु परेको हो।

खेतमा दिसा गर्‍यो की प्रहरीले पक्राउ गरिहाल्ने परिपाटी मिलाइएपछि नेपालगञ्ज-१९, बसुदेवपुरका बासिन्दाले घरमा चर्पी बनाएका छन्।

एक हजार ३ सय १७ घरधुरी रहेको वडामा सबैले करकाप, डर धम्कीका बीचमा चर्पी बनाएपछि शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बसुदेवपुरलाई खुल्ला दिसामुक्त घोषणा गरेको छ।

खुल्ला दिसामुक्त घोषणा हुने बसुदेवपुर नगरको २२ औं वडा हो। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडा रहेका छन्। अब एउटा वडा अर्थात २२ नम्बर पुरैनी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ।

बसुदेवपुरमा ५३ जना विपन्नलाई एडीबीले चर्पी बनाइदिएको छ। जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारी रणनीति अनुरुप खुल्ला दिसामुक्त घोषणा नभएका वडामा सम्बन्धित निकायले प्रहरी लगाएर अभियान चलाइरहेको छ।

नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापा, वडाध्यक्ष पर्शुराम कुर्मीले चर्पीमा दिसा गरेर घरआँगन सफा राख्न आग्रह गरे।

बाँकेमा अब नगरको एउटा वडामात्रै खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ। पुरैनी खुल्ला दिसामुक्त घोषणासँगै जिल्लालाई घोषणा गर्ने सम्बद्ध निकायले जनाएका छन्। ‘हामीले बैशाख मसान्तभित्र पुरैनीलाई खुल्ला दिसामुक्त घोषणा गर्छौ, नेपालगञ्ज उपमहानगरपालिकाका खुल्ला दिसामुक्त अभियानका फोकलपर्सन ओविराज आचार्यले भने।

बाँकेलाई खुल्ला दिसामुक्त गराउन झण्डै एक दशकदेखि अभियान चलिरहेको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले शुरुमा उचाल्ने र छोड्ने तथा सरकारी निकायले खासै चासो नदेखाउदा अभियान लम्बिदै गएको हो।

२०६७ सालमा शुरुमा तामझामसहित खुल्ला दिसामुक्त घोषणा भएको साविकको बागेश्वरी गाविसमै पूर्णरुपमा चर्पी नहुनु र पेडारी नाला छेउमा थालिएको सार्वजनिक शौचालय पूर्ण नहुनुले अभियानलाई जिस्क्याइरहेको छ।

चर्पी बनाएर पनि दिसा नगर्ने र बनाएका चर्पीहरु बाढीले भत्काएर पुरानै अवस्थामा फर्किएका गाउँहरु रहदारहदै सरोकारवालाले कसरी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्छन्, त्यो भने हेर्न बाँकी रहेको छ।

बैशाख २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्