मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २)

अत्यन्त प्रिय छ मलाई यो देशको माटो

पाँच महिनाअघि निको भएर फर्किने आसका साथ लन्डन गएँ। तर फर्केर त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेपछि महसुस गरें- पाँच महिनाअघि जाँदाको उद्देश्य रोगमुक्त भई स्वस्थ भएर फर्किने थियो भने फर्केर आउँदाको उद्देश्य नितान्त फरक थियो। मुलुकमै प्राण बिसाउँ, यही निर्णायक चाहना बन्यो। मातृभूमिको हावा, पानी, माटो र आफन्तहरुको अनुहार मात्र अगाडि थियो।

अप्रिल २८ प्लेनबाट उत्रँदा (वैशाख १५)  एयरपोर्टमा एम्बुलेन्स गएको थियो मलाई लिन। हल्का पानी परिरहेको थियो। एयरपोर्टको भूमिमै माटोको चन्दन लगाएँ। यो देशको माटो मलाई अत्यन्तै प्रिय छ। र, त्यसैले प्रेरित भएर फर्किन पाएकोमा म अत्यन्त खुशी पनि छु। एम्बुलेन्सबाट बाँसबारीस्थित आफ्नै न्यूरो अस्पताल ल्याइयो, साथीहरुको आत्मीयता माझ। उहाँहरु मप्रति अत्यन्त समर्पित हुनुहुन्छ, सबै सुविधा दिइरहनु भएको छ। कमिटी मिटिङहरु, अनि मेरो ट्रिटमेन्टमा उहाँहरु जुट्नुभएको छ। म अत्यन्त सन्तुष्ट छु। ममा अहिले केही शक्ति सञ्चय भएको लागिरहेको छ। हेरौं कति रहन्छ।

फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो। कतिलाई भेट्न सकें, कतिलाई सकिनँ। उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु। उहाँहरुको माया पाएकोमा म खुशी छु। आखिर म फर्किएको पनि त त्यसैका लागि हो। परिवारबाट अपेक्षित व्यवहार पाइरहेको छु। विभिन्न क्षेत्र र आफ्नै प्रोफेसनका मित्रहरुको माया पाउँदा जिन्दगीमा केही गर्न सकेछुजस्तो लागेको छ। अझ बिरामीहरुको सद्भाव र उहाँहरुबाट आएको टेलिफोनका लागि म कृतज्ञ छु।

म गाउँबाट आएको सामान्य व्यक्ति हुँ। तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ। अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु।

फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो। कतिलाई भेट्न सकें, कतिलाई सकिनँ। उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु।

म पहाड गोर्खाको पण्डित गाउँमा जन्मेँ, हुर्केँ। मेरा पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो, कविराज। कमै मान्छे सरकारी सेवामा हुने गर्थे त्यसबेला। म उहाँको तेस्रो छोरा। पिताजीको जगजगी थियो। दुई दाजुहरु मभन्दा ८ र १० वर्ष जेठो हुनुहुन्थ्यो। पिताजीले आफ्ना भानिज भाइलाई गुरु बनाएर राख्नु भएको थियो। वास्तवमा हाम्रो घर नै पाठशाला बनेको थियो। त्यही पाठशालामा गाउँ वरिपरिका आउने गर्थे। अनौठो, आफ्नै खालको गुरुकुल जस्तो थियो त्यो। घरबाट विद्यार्थीहरु चामलघीउ लिएर आउँथे। अनि बिहानै डेराबाट खाना खाएर हाम्रो घर आउँथे। एउटै गुरुले सबै विषय पढाउनुपर्थ्यो। पूर्वमध्यमासम्म पढेर विद्यार्थीहरु जाँच दिन काठमाडौँ जान्थे। त्यहाँ पढेका धेरैमध्ये डा. वासुदेव त्रिपाठी एक जना हुनुहुन्छ। अरु पनि थुप्रै छन् त्यस्ता। त्यो परिस्थिति र माहोलमा जन्मेको थिएँ म।

मेरो पढ्ने उमेर भएपछि अंग्रेजी पढ्ने कि संस्कृत, विवाद देखा पर्‍यो। फर्केर हेर्दा लाग्छ, मेरो पिताजी संस्कृत नै पढाउनेमा हुनुहुन्थ्यो। २०१५ तिर म पढ्ने उमेरको हुँदा अंग्रेजी स्कुल पनि खुल्यो गाउँमा। अब गाउँका समकालीन साथीहरु ‘मिसन स्कुल’ गएर अंग्रेजी पढ्न थाले। म गाउँमै अमरकोष घोक्न थालेँ। पिताजी मलाई शास्त्री, आचार्य बनाउन चाहनुहुन्थ्यो। दाइहरुले पनि संस्कृत नै पढ्नुभयो।

म पनि थाहै नपाई त्यत्तै जाँदै थिए। दुई वर्षपछि मेरो आमाले अंग्रेजी स्कुलमा  लैजानुभयो भर्ना गर्न मलाई। नपढेकी आमाले। एकैपल्ट कक्षा दुईमा। २०१७ तिरको कुरा  हो यो।

६ महिनामै दुईबाट तीनमा गएँ र अर्को ६ महिनामा ४ मा। फर्स्ट हुनेलाई डबल प्रमोसन दिइन्थ्यो। चारमा पनि फर्स्ट भएपछि पाँच कक्षाका लागि ‘लुँइटेल’ जानुपर्ने हुन्थ्यो। जंगलको बाटो, टाढा, म गाउँमै चार कक्षामै रहेँ। तीन महिना रोकिँदा एक वर्षको फरक पर्थ्यो। अहिले सोच्छु, त्यसैबेला माथिल्लो क्लासमा ‘लुँइटेल’ पुगेको भए?

युनाइटेड मिसन टु नेपालको हेडक्वार्टर आँपपिपलमा थियो। मिसनले २२ प्राइमरी, दुई मिडल र एउटा हाइस्कुल खोल्यो। यसरी सुरु र विस्तार भयो अंग्रेजी पढाइ। हाइस्कुल भवन बनाउने अभियान पनि सुरु भयो। त्यो स्कुलले शिक्षामा पुर्‍याएको योगदान हामी स्वयमले देख्यौँ, महसुस गर्‍यौँ। सात कक्षापछि स्कुल भवन बन्यो। त्यसमा हामी पनि लाग्यौँ। हामी हुर्केको बेला शिक्षा र चेतनाको विस्तारको बेला पनि थियो त्यो। गोर्खाको माहोल अलिक फरक थियो।

२०१० मा नै हाम्रा दाजुहरुले पुस्तकालय खोल्नुभएको थियो, आफ्नै किताबहरु दिएर। राजधानी उपत्यका बाहिरका २/४ पुस्तकालयभित्रै पर्थ्यो त्यो। चेतनाको चौतर्फी विस्तार भइरहेको थियो। कक्षा ६ देखि १० सम्म पढ्दा नै विविध सामाजिक क्रियाकलापमा लाग्यौँ हामी। पुस्तकालय सञ्चालनका लागि समितिको चुनाव र पालैपालो नेतृत्व एउटा पक्ष थियो। आर्थिक संकलनबाट ‘द राइजिङ नेपाल’ र ‘गोरखापत्र’सहित तीनवटा पत्रिका मगाउने गर्थ्यौँ हामी। गोरखापत्र संस्थानमा ४८ रुपियाँ बुझाएपछि एक वर्षका लागि एउटा पत्रिका आउँथ्यो। ५ दिन लाग्थ्यो हुलाकबाट गोर्खा पुग्न। हुलाकबाट बटुलेर पालैपालो गाउँ लाने गर्थ्यौ ती पत्रिका हामी।

त्यही पढेर लेखरचना, भाषा शुद्धाशुद्धि सिक्यौँ। पाठ्यक्रममा सीमित रहेनौँ। म एकपल्ट महासचिव बनेँ पुस्तकालयको। नेपालस्थित सबै दूतावासलाई चिठ्ठी लेख्यौँ किताब सहयोगका लागि। गोरखा पत्र, साझालगायतका प्रकाशन, कवि, लेखक सबैलाई लेख्यौँ। अन्तमा दुई ठाउँबाट सहयोग पायौं। अमेरिकी दूतावासबाट नियमित रुपमा आउन थाले उनीहरुका केही प्रकाशनहरु। तर ब्रिटिश दूतावास बढी नै उदार देखियो। उसले ब्रिटेनिका इन्साइक्लोपेडिया लगायतका थुप्रै पुस्तक पठायो। पुस्तकालय समितिको महासचिव भएकाले भरिया लिएर पालुङटार पुगेको याद छ मलाई।

त्यो पुस्तकालयको योगदान साँच्चै अतुलनीय छ, हामी र हाम्रा पुस्ताहरुमा। ज्ञानलाई दिमागमा हैन, समाजसँग जोड्न सिक्यौँ हामीले। चेतनासँगै दायित्व बोधभयो हामीमा।

हामी ५ देखि १० कक्षाका विद्यार्थीहरुले गाउँ सुधार समिति पनि बनायौं,  त्यसको विधान  बनायौ। जसले ६ कक्षामा पढ्दा गाउँ सुधार समितिको विधान लेख्न सक्छ,  त्यसले ६० वर्षको हुँदा देशको संविधान अवश्य लेख्न सक्छ। ठूलो एक्सपोजर दियो, आत्मविश्वास दियो र दायित्वबोध गरायो त्यो अनुभवले।

म गाउँबाट आएको सामान्य व्यक्ति हुँ। तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ। अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु।

गाउँमा हुने नराम्रा क्रियाकलाप रोक्न हरेक शनिबार गाउँका गल्ली र पानीपँधेरोको सरसफाइ र आइतबार आफ्नै नुहाइधुवाइको लागि छुट्याएका थियौँ। रक्सी र जुवा बन्द गर्ने अभियानमा पनि लाग्यौँ। म सम्झन्छु, एकपल्ट पुलिस स्टेसन पनि गयौं र पुलिसलाई लिएर जुवा खेल्ने ठाउँमा पनि पुग्यौं। कानुनले जुवा रोक्न भनेको ज्ञान थियो हामीलाई।

गाउँ सुधार समितिले नाटक मञ्चन पनि गर्ने गर्थ्यो। वर्षको २/३ ओटा नाटक लगाउँथ्यो। केटीहरु नाटक खेल्ने अवस्था या बेला थिएन। महिलाको अभिनय पनि केटाहरुले नै गर्थ्यौँ। हाम्रा दाइहरुले काठमाडौँमा गोर्खा नाटक समिति खोल्नुभएको थियो। उहाँहरुले एक सेट नाटक सामग्री, ‘विग,’ भेषभुषा आदि पठाइदिनु भएको थियो। एकपल्ट त हामीलाई सदरमुकाममा पनि बोलाइयो। पैसा उठ्यो हाम्रो नाटकबाट। भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर गोठाले आदि सबैका नाटक खेल्यौं। बालकृष्ण समको सकेनौं। अनि हामी आफैँ पनि नाटक लेख्न थाल्यौं। रंगमन्चको त्यो अभ्यासदेखि जिन्दगीको यो पाटोसम्मको यात्रा कहिल्यै अवरुद्ध रहेन।

यो सांस्कृतिक पक्षसँगै, हामीले खेलकुदलाई पनि अगाडि बढायौं। हाम्रो गाउँको भलिबल टिम स्कुललाई चुनौती दिनसक्ने अवस्थामा थियो। भाइबहिनीहरुलाई दौडाउँथ्यौं। यी सब कारणले गर्दा पढ्ने समय कम रहन्थ्यो हामीसँग।

 

(क्रमश:)

(प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ भर्ती हुनुहुन्छ। अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको।

चिकित्सा पेशामा लागे पनि मुलुकको राजनीति,  संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उहाँका चिन्ता र मान्यतामा स्वास्थ्य अवस्थाले कुनै प्रतिकूल असर पारेको छैन। आफूलाई स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई ‘नेपालभन्दा सुन्दर मुलुक दुनियाँमा अर्को छैन’ भन्न बिर्सनुहुन्न।

अस्पतालमा एउटा भेटमा डा. देवकोटाले भन्नुभयो, ‘मर्न लागेको मान्छेले असत्य बोल्दैन। म केही बोल्न चाहन्छु।’

डा. देवकोटाका विविध अनुभव र मान्यताको श्रृंखला देशसञ्चारमार्फत प्रस्तुत गर्ने अनुमति पाउँदा हामी उहाँप्रति अनुगृहित छौँ।

रोग र त्यसको असरबारे निश्चय पनि एउटा चिकित्सकसँग धेरै ज्ञान हुन्छ। तर,  यो अन्तिम अभिव्यक्तिको श्रृंखला नबनोस् डा. देवकोटाको, हामी उहाँको स्वास्थ्यलाभका लागि प्रार्थना र शुभेच्छा पनि व्यक्त गर्न चाहन्छौँ। -सम्पादक)

बैशाख २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्