सुनकाण्डका पाँच जनाको बयान सकियो, बाँकीको बयान आइतबारदेखि

मोरङ जिल्ला अदालतमा जारी साढे ३३ किलो सुन र सनम हत्या प्रकरणका क्रममा पाँच जनाको बयान लिने कार्य शुक्रबार सकिएको छ।

बिहीबार सुरु भएको ६ जना आरोपीमध्ये एकजनाको बयान कार्य जारी नै रहेको अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए।

श्रेष्तेदार दुलालले भने, ‘६ जना मध्ये टेकराज मल्ल ठकुरीको बयान लिने काम शुक्रबारपनि सकिएको छैन। सनमको शव भेटिँदा ठकुरी सवारी साधन स्कर्पियो गाडी चालकको रुपमा सहयोगी थिए भन्ने खुलेको छ। त्यसैले पनि अझै कुरा खुल्न सक्ने भएकाले बयानको काम बाँकी रहेको हो।’

ठकुरीसहित बाँकी अन्य अभियुक्तको बयान आइतबार पुनः हुने अदालतले जनाएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा उनीहरुसँग बयान लिने काम भइरहेको छ।

प्रहरी अधिकारीसहित अन्य २३ अभियुक्तसँग क्रमश बयान लिइने श्रेष्तेदार दुलालको भनाइ छ। सुन र शाक्य हत्या प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा दर्ता गरिएको छ।

यसअघि अदालतमा उपस्थित गराइएका आरोपी राजन कुमार माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले र लाक्पा शेर्पा र कृष्ण भनिने नरेन्द्र कार्कीको बयान लिने काम सकिएको हो। आरोपी ६ जनाविरुद्ध संगठित अपराध अन्तर्गतको अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा अदालतमा मुद्दा दर्ता भएको थियो।

पहिलो चरणमा बयानका लागि लगिएका ६ जना नै सुन तस्करी एवं सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेतीका सहयोगी हुन्।

मोरङ उर्लाबारी ७ का सनम शाक्यलाई करेन्ट लगाउँदै यातना दिएर हत्या गरिएको घटनामा सबैले संलग्नता स्वीकार गरेको अदालतका एक कर्मचारीले बताएका छन्। ‘करेन्ट लगाउने र विभिन्न यातना दिने क्रममा सनमको मृत्यु भएको कुरा अभियुक्तहरुले स्वीकार गरेका छन्,’ ती कर्मचारीले भने, ‘चूडामणि उप्रेतीकै निर्देशनमा शाक्यलाई यातना दिएको उनीहरुले बताएका छन्।’

बयानका क्रममा ६ जनाले नै घटनाको मुख्य योजनाकारका रुपमा चूडामणि उप्रेती भएको बयान दिएका छन्। त्यसैगरी मृतक शाक्य चूडामणिको सुनतस्कर गिरोहलाई सहयोग गर्ने भरियाको रुपमा काम गर्दै आएको खुलेको छ।

शाक्यलाई गत फागुन १८ गते उर्लाबारी १ स्थित सोल्टी खोलाको किनार जंगलमा करेन्ट लगाएर यातना दिने काम भएको थियो। यातनाबाट बेहोस भएपछि गाडीमा राखेर धरानतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अभियुक्तहरुकै बयानबाट खुलेको छ। शाक्यकै हत्या भएपछि पछिल्लो पटक भएको सुन तस्करीको घटना बाहिर आएको थियो।

शुक्रबारको बयानमा ६ जनाले सुरुदेखि शाक्यलाई करेन्ट लगाउँदै आएको बताएका छन्। उनीहरुले शाक्यलाई रुखमा बाँधेर र मुखमा कपडा कोचेर यातना दिने गरेको स्वीकार गरेका छन्।

अदालतका कर्मचारीका अनुसार, शाक्यसँगै चूडामणिले सुन लुकाएको आशंकामा काफ्ले, कार्की र शेर्पालाई पनि करेन्ट लगाएर यातना दिएको खुलेको छ। अविश्वासले भरिएको घटनामा एकअर्कामा पालैपालो यातना दिने काम भएको उनीहरुको बयान छ।

यस घटनामा अभियुक्तलाई फरार हुन सहयोग पुराएको भन्दै पूर्व डीआईजी गोविन्द निरौला, अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु संजय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का पक्राउ परेका छन्। मुद्धा दर्ता गरिएका अन्य अभियुक्तमा भुजुङ गुरुङ, एमबी मगर भनिने लालबहादुर मगर, चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, आर के भनिने राजेन्द्रकुमार शाक्य, सम्बिरप्रसाद तोलाङगे, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ, हेमन्त पौडेल, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु र राजु महर्जन छन्।

पक्राउ परेका मध्ये सई बालकृष्ण सञ्जेलसहित २३ जनालाई एकै किसिमको संगठित अपराध अन्तर्गतको अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरिएको छ । त्यसैगरि, पूर्व र बहालवाला ६ जना प्रहरी कर्मचारीविरुद्ध भने संगठित अपराधमा मुद्धा दर्ता गरिएको छ।

बैशाख २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्