सम्बन्ध सुधारको प्रयास

उत्तर कोरियाले समय परिवर्तन गर्‍यो

उत्तर कोरियाले आफ्नो देशको समय परिवर्तन गरेको छ । गएको हप्ता दक्षिण कोरियासँग भएको वार्तापछि उत्तर कोरियाले आफ्नो समय क्षेत्र (टाइम जोन) परिवर्तन गरेको हो ।

उत्तर कोरियाले दक्षिण कोरियाको समयसँग मिल्ने गरी आफ्नो समय परिवर्तन गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

उत्तर कोरियाले स्थानीय समय अनुसार शुक्रबार मध्ये रात (राति साढे ११ बजे, नेपाल समय ः राति पौने ९ बजे) आफ्नो समय ३० मिनेट परिवर्तन गरेको हो । अर्थात उसले दक्षिण कोरियासँग मिल्ने गरी ३० मिनेट समय बढाएर आफ्नो समय क्षेत्र परिवर्तन गरेको हो ।

समय परिवर्तन कोरिया एकीकरणको पहिलो व्यवहारिक कदम रहेको समाचार संस्था केसिएनएले उल्लेख गरेको छ ।

उत्तर कोरियाका नेता किम जोङ–उन र दक्षिण कोरिया राष्ट्रपति मुन जे इनबिच वैशाख १४ गते भेटवार्ता भएको थियो । अब उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वार्ता हुने तयारी छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफू वार्ताका लागि तयार रहेको र वार्ताको मिति पनि तय रहेको बताएका छन् ।

ट्रम्पले भनेका छन् ‘अब हामीसँग किमसँगको भेटका लागि समय तथा स्थान तय भएको छ । यसको घोषणा चाँडै नै हुनेछ । वार्ताबाट निकै राम्रा कुरा बाहिर आउने अपेक्षा रहेको छ ।’

किमसँगको वार्ताअघि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग भेटवार्ता गर्ने छन् । मे २२ मा हुने भेटमा उत्तर कोरियासँगको आउँदो वार्ताका बारेमा छलफल हुनेछ ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्