म्यानचेस्टर युनाइटेड हार्‍यो, ब्राइटन रेलिगेशनमा नपर्ने पक्का

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग १–० ले पराजित भएको हो । यो जितले ब्राइटन आउँदो सिजन पनि प्रिमियर लिग खेल्ने पक्का भएको छ ।

पराजित भएको म्यानचेस्टर युनाइटेडले उपाधि विजेता म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रोसले गोल गरे ।

खेलको ५७ औँ मिनेटमा पास्कलले जोसे इज्कियार्डोको पासमा हेड मार्फत गोल गरेका हुन् । पास्कलको हेड बललाई मार्कस रोजोले क्लियर गर्ने प्रयास गरेका थिए तर बलले गोललाइन पार गरिसकेको थियो । गोललाइन प्रविधिका आधारमा ब्राइटनले गोल पायो ।

ब्राइटनले सन् १९८३ पछि यो सिजन पहिलो पटक प्रिमियर लिग फुटबल खेलिरहेको छ र आउँदो सिजन पनि खेल्ने भएको छ । लिगमा अब उसले म्यानचेस्टर सिटी र लिभरपुलसँग खेल्न बाँकी छ ।

जितपछि ११ औँ स्थानमा उक्लिएको ब्राइटनको ४० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७७ अंक छ ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्