कथा

हो, तिम्रो योनीमा मात्रै छैन इज्जत…

‘तेरो कथा पढ्दै छु, पानी पानी भएर, तीनपटक बाथरुम गएँ’ यही कथाको अघिल्लो भाग पढ्दै गरेको एकजना साथीले फोनमा भन्दै थियो ‘मलाई थाहा छ, तैँले त्यसलाई केही गर्न सकिनस्, अब के हुन्छ कैले लेख्छस् ?’

मैले हाँस्दै भनेँ ‘अब के होला, खर्भर त आधा कपडा खोलिएको छ…।’

विज्ञापन

…..

उसले किस्ताबन्दी उज्यालो फालिरहेको त्यो, ट्यूबलाइट निभाइसकेकी थिइ ।

जिरो वाटको पिङ्क उज्यालो किरणले उसको चेहरा मधुर भएको थियो, अझै सुन्दर । कलिलो जुनजस्तो ।

मधुर उज्यालोमा उसको शरीर अझै सुनौलो भएर टल्किरहेको थियो, जहाँ मेरा नजर टक्क अडिएका थिए ।
‘नगर्ने…?’ झम्टिएर उ मेरो शरीरमा लपक्कै भएकी थिई ।

उसका हातहरु मेरो शरीरमाथि चलमलाउन थाले । विस्तारै उसका औँलाहरु मेरो लुगाभित्र खेल्न थालेका थिए ।

मलाई भने काउकुती लागिरहेको थियो ।

‘कस्तो गे…जस्तो के…?’ उसका औँलाहरु मुठी बनेर मेरो कम्मरमुनि घुसेको थियो ।

‘म तिमीलाई केही गर्न आएको हैन…’ उसका हातहरु पन्छाउँदै भनेँ ‘गर्नैपर्छ भन्ने के छ र ?’

उ मौन भई । एकाएक मलाई अंगालोबाट हुत्याइ अनि उसका नजरहरु पनि मेरो अनुहारमा ठप्प भए । एकोहोरो उसको हेराइमा मेरो परेलाहरु चलमलाइसकेका थिए ।

उसको आँखाको डिलमा अडिएको एक सानो ढिक्का आँसु त्यो जिरो वाटको मधुर प्रकाशमा सुनौलो देखिएको थियो । दाहिने हातको बुढी औँलो खुम्च्याएर उसले त्यो ढिक्का फोडिसकेकी थिई ।

छातीमा टाँसिएको एक सरो सफेद ब्रा अनि कम्मरमुनि चप्किएको रातो कट्टुबाहेक उसको शरीरमा केही थिएनन् । शिवाय, त्यही मधुर प्रकाशका सुनौला किरणहरु बाहेक ।

कस्तो स्निग्ध, कञ्चन अनि सुनौलो शरीर ।

म कुनै पौराणिक दन्त्य कथाभित्र नदी किनारमा रासलिला गरिरहेका जलपरीहरुका बीचमा आफूलाई खोजिरहेको थिएँ सायद । ती कथा स्कूल पढ्दा लाइब्रेरीबाट चोरेका किताबहरुमा थुप्रै पढिभ्याइसकेको थिएँ ।

‘मलाई किन पाप बोकाउनुहुन्छ ?’ उसको टाउको मेरो काँधमा अडिएको थियो ।

‘मैले कसरी पाप गरेँ र तिमीलाई ?’ हल्का मुस्काउँदै मैले भनेँ ‘तिमीलाई त मैले छोएको पनि छैन…।’

फेरि ढोका ढक्ढक् गर्‍यो ।

ऊ पलंगको सिरकमुनि घुस्रिइसकेकी थिई ।

‘हामी दुईजना, लोग्ने स्वास्नी भन है…।’ उसलाई पुलुक्क हरेर मैले ढोका खोलेँ ।

त्यही फुच्चे थियो । जो सास फेर्नकै लागि ढोका ढकढक गरिरहेको जस्तो लाग्यो ।

‘सर, पुलिस आथे, मैले यो तलामा कोही छैन भनेर पठाइदिएँ…।’ बल्ल उसले राम्रोसँग सास फेर्न थाल्यो ।

‘ल…ल… जाउ अब’ फेरि उसलाई ५० रुपैयाँ भेटी चढाएँ ।

‘सर छिटो सक्नुस् है, अब त म क्यै भन्दैन…’ दुई सिँढी झर्दै उसले भन्यो ‘रुम खाली गर्नुपर्छ अब, एकघण्टा हुन लाग्यो के, साउजी कराइरा छन् ।’

‘तिम्ले मलाई के गर्न किनेको ?’

‘मैले तिमीलाई किनेँ…?’ मेरा नजर प्रश्न बनेर उसको अधरमा अड्किइरहे ।

‘एकै घण्टा भए पनि किनेकै त हौ नि…।’

‘अनि के भो त…?’

‘यस्तो व्यापारमा पहिलोपटक तिमीजस्तो ग्राहक भेटेँ ?’

‘किन म कस्तो छु र…?’ सिरकबाट अलिकति निस्किएको उसको शिरानछेउमा बस्दै भनेँ, ‘अरु कस्ता हुन्छन् र…?’

‘कस्ता भनम् त ? तिमी त केही गरेनौँ, मैले नै सबै गरिदिएर पनि केही भएन तिमीलाई तिम्रो त्यो… छैन हो ?’

‘छ नि किन नहुनु, देखाइदिनु पर्‍यो ?’ हाँस्दै भनेँ ‘नभए छोरो कसरी जन्मिथ्यो र ?’

‘अनि किन गरेनौँ ?’

‘के गर्ने भनेको ?’ उसका प्रश्नका जवाफहरु मेरो पनि प्रश्न बनिरहेका थिए ।

‘के गर्न आको हौ त ?’

‘मैले के गरिनँ र तिमीलाई ?’

‘ममाथि किन चढेनौ…?’

‘तिमी पनि त चढ्नसक्थ्यौ त…?’

‘तिमी तयार नभइ कसरी चढूँ…?’

‘किन तयार पार्न सकिनौ त…?’

‘तिमीलाई डर लाग्यो हो…?’

‘किन, के डराउनु छ तिमीसँग ?’

‘म जस्तो बेश्यासँग सुत्दा तिम्रो इज्जत जान्छ भनेर नि…।’

‘तिमी बेश्या हौ र…?’

‘तिमीहरु नै भन्छौ नि, यो समाज भन्छ, सबैले भन्छन् ।’

‘म त भन्दैन नि, तिमी बेश्या होइनौ ।’

‘तिम्ले नभने के भो ?’ सबैले भन्छन् त ।

‘तिम्रो श्रीमानले पनि…?’

फेरि ऊ मौन भइ । उसका ओठहरु त्यही पोजिशनमा रोकिए, जहाँ ऊ बोल्दै थिई ।

त्यही मधुर प्रकाश कोठाभरि छरिएको थियो । त्यसैमा सुनौलो भएर धप्प भएको उसको अनुहार अहिले अँध्यारिन थालेको थियो ।
‘सरी…’ मैले भनेँ ‘सायद सोध्नु नहुने थियो कि…।’

‘हैन केही भएन…’ एकछिनको मौनतालाई धकेल्दै उसले भनी ‘ऊ अब छैन…।’

‘कहाँ जानुभयो त…?’

‘एउटी छोरी दिएर, गयो, अब नफर्किने गरी म बिधवा हुँ ।’ त्यसपछि पनि मलाई लागेको थियो, उसका श्रीमान कतै गएका होलान्, सायद कमाउन ।

अब मौन हुने पालो मेरो थियो । एकाएक बोली नै रोकियो । उसलाई हेरेँ, सिरकको पातलो खोलभित्र टाउको लुकाएर ऊ सुक्सुकाइरहेकी थिई । उसका आँसु रसाएर खोल भिजिसकेको थियो ।

‘सरी…।’ थाहै नपाइ, मेरा औँलाहरु उसका केशभित्र चल्न थालेका थिए ।

ओठमा केही नुनिलो भएपछि बल्ल थाहा भो, मेरा पनि आँसु बगिरहेका थिए ।

जीवनमा कैयौँ चोटहरु सहेको छु । कैयौँ दुःख, कष्ट र भोक अनि निदहरुलाई सजिलै हराइदिएको छु । तर, किन किन म कसैको आँसु देख्न सक्दिनँ, आँखा आफै रसाइदिन्छन् ।

ऊ २२ वर्षकी भइ । १६ वर्षको उमेरमा उसले भागेर बिहे गरी, पढ्दापढ्दै । ऊ तल्लो भनिने जातकी छोरी । न त्यो विवाह, केटा पक्षले स्वीकार ग¥यो न उसको समाजले । उनीहरु भागेर नेपालगञ्ज बजार छिरे । केही आफन्तको सहयोगमा डेरा बस्यो ।

बिहे भएको एक वर्ष पुग्दै थियो, उसको कोख भरिँदै थियो । सन्तानको व्यथाले ऊ थिचिँदै गर्दा उसको श्रीमानको भिसा लाग्यो ।

ऊ सुत्केरी भई । उसको श्रीमान मलेशिया पुगिसकेका थिए । केही महिनाहरु त्यसै गरी बिते । बजारमा बसेर उसले छोरी हुर्काउँदै थिई, उसको श्रीमान पैसा पठाउँदै थिए । साढ दुई वर्षपछि हुने मिलनको कल्पनामा उसले छोरीलाई माया पोखेर दिनहरु काटिरहेकी थिई ।

करिब ६/७ महिनाहरु त्यसैगरी बितिरहेका थिए । एक दिन ऊ पल्टिएर छोरीलाई दूध चुसाउँदै थिई । कसैको फोन आयो ।

उसले ‘हेल्लो’ मात्रै भन्न सकी । त्यसपछि ऊ त्यहीँ बेहोस भइ । अर्काे दिन ब्यूँझिदा ऊ अस्पतालमा थिइ । छिमेकी डेरावालहरु उसको बेडमा थिए । सबै मौन थिए । कोही केही बोलेनन् ।

१५ दिन पछि एउटा बाकस आइपुग्यो, त्यसमा उसको श्रीमानको मौन शरीरमात्रै थियो ।

‘त्यसपछि यस्तो भयो…।’ उसले आँसु पुछ्न थाली ।

अनि फेरि भनी ‘हामी त इज्जत बेच्ने मान्छे हो, तिमीलाई खुशी पार्न सकिन आज, पैसा लिएर पनि खुशी दिन नसक्ने हाम्रो व्यापारको धर्म होइन ।’

ऊ अझै बोल्दै थिई, ‘अब त्यो पैसा त साहुले लैजान्छ, एक दुई दिनमा त म पनि कमाइहाल्छु, अनि तिमीलाई फिर्ता गर्दिन्छु हुन्छ ?’ रुन्चे हाँसोमा ऊ जिस्किन थाली ‘तिमी त कस्तो अचम्मको मान्छे, पैसा तिरेर पनि मेरो यो दुःखको कहानी सुन्न आको ?’

‘के भो त सुनायौ नि…’ मैले भने ‘भैगो फिर्ता गर्न पर्दैन, त्यही पैसाले छोरीलाई गिफ्ट किनिदेऊ…।’

‘कतिले त जबरजस्ती गर्छन्, त्यो पीडाले धेरै रोएको छु तर, जिन्दगीको पीडामा तिमीसँग रुँदा धेरै हल्का भो’ उसले भनी ‘साँच्ची तिम्लाई मैले बुझ्नै सकेन, तिमी ग्राहक हौ कि के हौ मेरो ?’

‘तिमीलाई के लाग्छ….?’

‘……………’

ऊ केही बोलिन अनि मैले नै भनेँ ‘तिमीलाई जे लागे पनि केही छैन तर, तिमी इज्जत बेचिरहेकी छैनौ त्यत्ति सम्झेउ ।’

‘यही बेचेर त बाँचिराछु, छोरीको भविष्यका लागि पैसा संगालीराछु’ उसले कुर्ता लगाउँदै भनी ‘छोरीलाई धेरै पढाउने मन छ, केही वर्षपछि अर्कै सहरमा गएर अरु नै ब्यापार गरेर, बस्छु ।’

उसले अब त्यो शरीर ढाकिसकेकी थिई ।

‘हाम्लाई किन बेश्या भन्छन् ?’ अघि निकालेको कण्डम डस्टबिनमा राख्दै उसले भनी ‘इज्जत योनीमा मात्रै हुन्छ र ?’

‘न तिमी बेश्या हौ, न इज्जत तिम्रो योनीमा हुन्छ’ मोबाइलमा घडी हेर्दै मैले भनेँ ‘त्यो मान्छेको बुझाइ हो, हेर्ने नजर हो…।’

त्यत्ति नै बेला मेरो फोन भाइब्रेट भयो । रिसिभ गरेँ । होस्टेलबाट छोरोले भन्दै थियो ‘बाबा, म सेकेन्ड टर्ममा सेकेन्ड भएँ…।’

म केही बोल्न सकिँन, एकाएक आँशु बर्रर भए । तीन महिनाअघि मात्रै नाम लेख्न जान्ने भएर छोरो मसँग कत्ति खुशीले उफ्रिएको थियो ।
अनि सुस्त भनेँ ‘लभ यू छोरा…, अर्का एक्जाममा फस्ट हुने है…।’

‘फस्ट भएँ भने साइकल किन्दिने है…।’

‘हस्…’

फोन राखेर ढोका खोल्दै गर्दा, उसले मलाई बेस्सरी अंगालो हाली ।

अनि सुस्त भनी ‘बाहिरको तिम्रो साथीलाई पठाइदेऊ चाँडै, छोरी आत्तिसकी होला…।’

यही शैक्षिक शत्रदेखि उसकी छोरीलाई आफ्नै खर्चमा स्कूल पठाइसकेको छु ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्